उडान कर्मचारीसँग सहमति भएपछि एयर क्यानाडाका उडानहरु सुचारु
प्रकाशित मिति : भाद्र २, २०८२ मंगलबार
उडान कर्मचारीको आन्दोलनका कारण स्थगित भएका एयर क्यानाडाका उडानहरु सुचारु भएका छन । शनिवारदेखि सुरु भएको हडतालका कारण उडानहरु स्थगित हुँदा हजारौँ यात्रुहरू अलपत्र परेका थिए ।
फ्लाइट अटेनडेन्टहरूको तर्फबाट प्रतिनिधित्व गर्ने युनियनले अस्थायी सम्झौता भएको घोषणा गरेको छ । एयरलाइन्सले पनि यसलाई पुष्टि गरेको छ । मंगलबार साँझदेखि उडानहरू क्रमशः पुनः सुरु भएका छन् ।
१० हजारभन्दा बढी कर्मचारीहरूले तलब र तालिकासम्बन्धी असन्तुष्टिका कारण काम बन्द गरेका थिए।
सम्झौताको सबै विवरण सार्वजनिक भएको छैन । तर युनियनले यसलाई ‘कर्मचारी र उद्योगका लागि रूपान्तरणकारी परिवर्तन’ भनेर उल्लेख गरेको छ।
एयर क्यानाडाले फ्लाइट अटेनडेन्टहरूलाई तत्कालै ८ देखि १२ प्रतिशत सम्म तलब वृद्धि गर्ने प्रस्ताव गरेको छ ।
प्रस्तावित सम्झौता फ्लाइट अटेनडेन्टहरूले मतदान गरेर अनुमोदन गर्नुपर्नेछ ।
एयर क्यानाडाले सबै सेवा सामान्य बनाउन केही दिन लाग्ने जनाएको छ । सम्झौताको विवरण सार्वजनिक नगर्ने तर अनुमोदन भएपछि मात्रै जानकारी दिने एयर क्यानाडाको भनाइ छ।
नयाँ सम्झौतामा प्रत्येक उडान अघिको कम्तीमा एक घण्टा ग्राउन्ड पे दिने व्यवस्था हुनेछ । जुन फ्लाइट अटेनडेन्टहरूको प्रति घण्टा दरको ५० प्रतिशत बराबर हुनेछ । यो दर प्रत्येक वर्ष ५ प्रतिशत ले बढ्नेछ।
युनियनले सरकारले दिएको ‘बाइन्डिङ आर्बिट्रेशन’ मा जान र काममा फर्कन गरेको आदेशलाई समेत अस्वीकार गरेको थियो ।
उसले सरकारले ‘कर्पोरेट दबाबमा झुकेको’आरोप लगाएको थियो।
करिब चार दिन लामो हड्तालका कारण ५ लाखभन्दा बढी यात्रु प्रभावित भएको एयर क्यानाडाले जनाएको छ।
एयर क्यानाडा क्यानाडाको सबैभन्दा ठूलो एयरलाइन हो । यसले घरेलु तथा अन्तर्राष्ट्रिय दुवै गरी दैनिक झण्डै ७ सय उडान सञ्चालन गर्ने गरेको छ ।








