पश्चिम भर्जिनिया र साउथ क्यारोलाइनाद्वारा वाशिंगटन डीसीमा नेशनल गार्ड पठाउने घोषणा


प्रकाशित मिति : श्रावण ३१, २०८२ शनिबार

तस्वीर : एएफपी/ रासस

वाशिंगटन डीसीमा संघीय स्तरमा कडाइ बढाउन तीन वटा अमेरिकी राज्यहरूले सयौँ नेशनल गार्ड पठाउने घोषणा गरेका छन् ।

पश्चिम भर्जिनियाले ३०० देखि ४०० जना गार्ड पठाउने घोषणा गरेको छ । साउथ क्यारोलाइनाले २०० र ओहायोले १५० जना पठाउने तयारी गरेको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको अपराध र घरबारविहिन नियन्त्रण गर्ने अभियानलाई सफल बनाउन भन्दै ती राज्यहरुले नेशनल गार्ड पठाउने घोषणा गरेका हुन ।

यसअघि राष्ट्रपति ट्रम्पले कार्यकारी आदेशमार्फत डीसीको प्रहरी प्रशासनलाई संघीय नियन्त्रणमा लिँदै राजधानीमा ८०० जना नेशनल गार्ड पठाइसकेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रिपब्लिकन पश्चिम भर्जिनियाका गभर्नर प्याट्रिक मोरिसीले भने, “हाम्रो राष्ट्रको राजधानीमा गौरव र सौन्दर्य फर्काउने राष्ट्रपति ट्रम्पको प्रयासमा पश्चिम भर्जिनिया गर्वका साथ उभिएको छ।”

साउथ क्यारोलाइनाका गभर्नर हेनरी म्याकमास्टरले २०० जना गार्ड पठाउने निर्णय गरेका छन् । ओहायोका गभर्नर माइक डिवाइनले रक्षा मन्त्रालयको अनुरोधमा १५० जना मिलिटरी प्रहरी पठाइने बताएका छन् ।

यो कदमले ट्रम्प प्रशासनले वाशिंगटनमा थप जनशक्ति आवश्यक देखेको संकेत गर्छ । स्थानीय अधिकारीहरूले भने हालको अपराधदर राष्ट्रपति ट्रम्पको पहिलो कार्यकालभन्दा कम रहेको दाबी गरेका छन् ।

ह्वाइट हाउसका अधिकारीका अनुसार डीसीमा पठाइएका नेशनल गार्डका सदस्यहरू हतियारसहित हुन सक्नेछन् । तर उनीहरूले प्रत्यक्ष पक्राउ गर्ने छैनन्। यसअघि रक्षा मन्त्रालयका अधिकारीहरूले गार्ड सदस्यहरूलाई हतियार नबोक्न भनिएको जानकारी दिएका थिए ।

शनिबार दिउँसो डुपन्ट सर्कलमा ट्रम्पको हस्तक्षेपविरुद्ध प्रदर्शन भएको थियो। “डीसीमा फासिवादी कब्जा अस्वीकार्य” भन्ने ब्यानर बोकेर प्रदर्शनकारीहरूले ह्वाइट हाउसतर्फ ¥याली निकालेका थिए ।

फेडेरल एजेन्टहरू राजधानीका धेरै भीडभाड भएका क्षेत्रमा तैनाथ गरिएका छन् । सहरका अधिकारीहरूलाई संघीय आदेशअनुसार सहयोग गर्न कानुनले बाध्य पारे पनि उनीहरूले यसलाई “शक्ति हडप्ने कदम” भनेर असन्तुष्टि जनाएका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com