गाजा भ्रमणमा ट्रम्पका मध्यपूर्व दूत, भन्छन् – ‘हमास होइन, नागरिकलाई खुवाउनुपर्छ खाना’
प्रकाशित मिति : श्रावण १६, २०८२ शुक्रबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व दूत स्टीभ विटकोफ गाजाको भ्रमण गरेका छन् । शुक्रबार उनले अमेरिकी सहयोगमा सञ्चालित गाजा ह्युम्यानिटेरियन फाउन्डेसन (जीएचएफ)को सहायता कार्यक्रमको निरीक्षण गरेका हुन्।
जीएचएफद्वारा सञ्चालित सहायता केन्द्रको निरीक्षणपछि केहि घण्टामै गाजाको दक्षिणी सहर राफाहमा सोही केन्द्र नजिक इजरायली सेनाले गोली हानी तीन प्यालेस्टिनीको हत्या गरेको स्थानीय चिकित्सकहरूले बताएका छन्। घटनाबारे इजरायली सेनाले अनुसन्धान भइरहेको जनाउँदै, “शंकास्पद भीड” मा चेतावनी स्वरूप गोली चलाइएको दाबी गरेको छ। घटनास्थल पुष्टि हुन बाँकी छ।
संयुक्त राष्ट्रसंघले जीएचएफको कार्यप्रणालीप्रति गम्भीर आपत्ति जनाउँदै सहयोग नगर्ने निर्णय गरिसकेको छ। उसले जीएचएफले मानवीय तटस्थता विपरीत जोखिमपूर्ण ढंगमा सहायता वितरण गरिरहेको र सोही कारण सहायता लिँदै आएका १,००० भन्दा बढी मानिस मारिएको आरोप लगाएको छ। अधिकांशको मृत्यु इजरायली सेनाको गोलीबाट भएको बताइएको छ।
तर, जीएचएफले आफ्ना केन्द्रमा कोही पनि मारिएको नभएको दाबी गर्दै आफूले संयुक्त राष्ट्रसंघभन्दा बढी सुरक्षित ढंगमा सहायता वितरण गरिरहेको बताएको छ।
विटकोफसँगै गाजाको भ्रमणमा रहेका अमेरिकाका इस्रायलका लागि राजदूत माइक हक्काबीले सामाजिक सञ्जाल एक्समा भोकमरीका कारण सहायता कुर्दै काँडेतारभित्र उभिएका गाजावासीको तस्वीर सार्वजनिक गरेका छन्। तस्वीरमा जीएचएफको पोस्टरमा “१० करोड भोजन वितरण” लेखिएको छ, जसमा अमेरिकी झन्डा देखाइएको छ।
जीएचएफका प्रवक्ता चैपिन फेले भने, “राष्ट्रपति ट्रम्पलाई थाहा छ । गाजामा प्राथमिकता नागरिकको पेट भर्नु हो, हमासको होइन।” उनले विटकोफको भ्रमणलाई १० करोड भोजन पुर्याउने अभियान देखाउने अवसरका रूपमा व्याख्या गरे।
विटकोफले अमेरिकी राष्ट्रपति ट्रम्पलाई गाजाको मानवीय अवस्थाबारे प्रत्यक्ष जानकारी दिन तथा खाद्य तथा औषधि सहायता योजना बनाउन भ्रमण गरिएको स्पष्ट पारे। उनले भ्रमणको अघिल्लो दिन इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग भेट गरेका थिए।
गत अक्टोबरमा हमासले दक्षिण इजरायलमा आक्रमण गरी १,२०० जनाको हत्या र २५१ जनालाई बन्धक बनाएपछि सुरु भएको युद्धमा हालसम्म ६०,००० भन्दा बढी प्यालेस्टिनी मारिएका छन्। युद्धविरामका लागि कतारमा हालै सम्पन्न वार्ता निष्कर्षविहीन बनेको छ।
यसैबीच, भोकमरीका कारण गाजामा दर्जनौं मानिसको मृत्यु भएको जनाइएको छ। मार्चदेखि मेसम्म इजरायलले गाजामा आपूर्ति पूर्णरूपमा रोकिदिएको थियो भने अहिले पनि निकै कडाइका साथ सीमित आपूर्ति भइरहेको छ।
मानवीय संकट चुलिंदै जाँदा फ्रान्स, बेलायत र क्यानडाले सम्भावित रूपमा प्यालेस्टिनी राज्यलाई मान्यता दिने संकेत दिएका छन्। अधिकांश राष्ट्रले मान्यता दिइसके पनि प्रमुख पश्चिमा शक्तिहरू अझै निर्णयमा पुगिसकेका छैनन्।








