अमेरिकाबाट भारतलाई झड्का : ट्रम्पले लगाए २५ % भन्सार शुल्क, रुससँगको व्यापार मुख्य कारण


प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि २५ प्रतिशत भन्सार शुल्क लागु गर्ने घोषणा गरेका छन्। यो शुल्क आगामी शुक्रबारदेखि लागू हुनेछ।

साथै, भारतले रुससँग ऊर्जा र सैन्य उपकरण खरिद गर्दै आएको भन्दै थप सजायस्वरूप अतिरिक्त शुल्क पनि लगाइने ट्रम्पले बुधबार स्पष्ट पारेका छन्।

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भारतसँगको व्यापार सधैं कम हुनुको मुख्य कारण अत्यधिक भन्सार दर र कठोर गैर(आर्थिक व्यापार अवरोध भएको बताएका छन्। उनले भने, ूभारत हाम्रो मित्र हो, तर उनीहरूले विश्वमै उच्चतम भन्सार दर लागू गर्दै आएका छन् । व्यापारका लागि अप्ठ्यारो बनाउने अवरोधहरू पनि धेरै छन्।ू

उनका अनुसार भारतले आफ्नो अधिकांश सैन्य उपकरण रुसबाट खरिद गर्दै आएको छ र ऊ चीनसँगै रुसको सबैभन्दा ठूलो ऊर्जा ग्राहक पनि हो। ट्रम्पले भने, ूजब सारा संसारले रुसलाई युक्रेनमा हत्या रोक्न आग्रह गरिरहेको छ, त्यस्तो बेला भारतको यो व्यवहार राम्रो होइन। त्यसैले भारतले अगस्ट १ देखि २५ प्रतिशत भन्सार शुल्कका साथै अतिरिक्त सजाय तिर्नुपर्नेछ।ू

यस घोषणासँगै ट्रम्पले रुसलाई युक्रेन युद्ध अन्त्य गर्न १० दिनको अल्टिमेटम दिने चेतावनीसमेत दिएका छन्। साथै, जो देशहरूले रुसबाट तेल खरिद गरिरहेका छन्, तिनीहरूलाई दोस्रो चरणको प्रतिबन्ध लागु गर्ने पनि ट्रम्पले चेतावनी दिएका छन्।

भारत र अमेरिका बीचको व्यापार सम्झौतामा यस्ता कदमहरूले बाधा पुर्याउन सक्ने अनुमान विश्लेषकहरूले गरेका छन्। यसले चीनको प्रभाव कम गर्न भारतसँग रणनीतिक साझेदारी विस्तार गर्न खोजिरहेको अमेरिकाको योजनामा पनि असर पार्न सक्छ।

भारतीय पक्षले यसबारे तत्काल प्रतिक्रिया दिएको छैन।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com