अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी – भारतसँग सम्झौता नभए २५ % सम्म महसुल !
प्रकाशित मिति : श्रावण १४, २०८२ बुधबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँगको व्यापार सम्झौता अझै अन्तिम नतिजामा नपुगेको जनाउँदै अगस्ट १ अघि सहमति नभएमा भारतमाथि थप महसुल लगाउने चेतावनी दिएका छन्।
ट्रम्पको चेतावनी रोयटर्सको रिपोर्टपछि आएको हो, जसअनुसार भारतले सम्झौता नभएमा अमेरिकी निर्यातमा २० % देखि २५ % सम्मको उच्च महसुल स्वीकार्न तयार रहेको उल्लेख गरिएको छ।
“भारत हाम्रो राम्रो मित्र हो, तर उसले अरु देशभन्दा बढी महसुल लिएको छ। अब त्यो अन्त्य हुन गइरहेको छ,” ट्रम्पले मंगलबार एयर फोर्स वनमा पत्रकारहरूसँग भने।
भारतीय अधिकारीहरूका अनुसार, अमेरिका र भारतबीचको विस्तृत व्यापार सम्झौता अक्टोबरसम्म टुंग्याउने लक्ष्यका साथ अगस्टको मध्यतिर पुनः वार्ता सुरु गरिनेछ। तर ट्रम्पले सम्झौता नभएमा भारतले अझ उच्च महसुलको सामना गर्न सक्ने चेतावनी दिएका छन् ।
भारतले केही क्षेत्रमा महसुल घटाउने प्रस्ताव दिएको छ भने गैर-राजस्वीय अवरोध हटाउने प्रयास भइरहेको छ। तर, कृषि र दुग्ध उत्पादनजस्ता संवेदनशील क्षेत्रमा भारत अझै पनि अमेरिकी मागहरू स्वीकार गर्न तयार छैन।
अर्कोतर्फ, विश्लेषकहरूले ट्रम्पका भारत–पाकिस्तान सम्बन्धबारे विवादास्पद टिप्पणीहरूले दुई देशबीचको व्यापार वार्तामा असर परेको बताएका छन्। भारतले ट्रम्पको युद्धविराम गराएको दाबी अस्वीकार गर्दै आएको छ।
२०२४ मा अमेरिका–भारतबीचको वस्तु व्यापार करिब १२९ अर्ब डलर पुगेको छ, जसमा भारतको ४६ अर्ब डलर व्यापार घाटा रहेको छ। अमेरिका अहिले ब्रिक्स राष्ट्रहरू विरुद्ध डलरमुक्त कारोबार र रुससँगको व्यापार जस्ता मुद्दालाई लिएर महसुलको दबाब बढाउँदै गएको छ।
भारतीय अधिकारीहरूले भने, “हामी प्रतिस्पर्धी राष्ट्रहरूको तुलनामा भारतीय निर्यातकर्तालाई प्राथमिक पहुँच दिने खालको सम्झौता गर्न आशावादी छौं।”








