गाजामा भएको इजरायली आक्रमणमा ४३ जनाको मृत्यु, शान्ति वार्ता स्थगित


प्रकाशित मिति : ३० असार २०८२, सोमबार

गाजाको पानी वितरण केन्द्रमा भएको इजरायली हवाई आक्रमणमा केही बच्चासहित ४० जनाभन्दा बढी प्यालेस्टिनीको ज्यान गएको गाजाको नागरिक सुरक्षा निकायले जनाएको छ । उक्त निकायका अनुसार इजरायल र हमासबीचको युद्धविरामको लागि वार्ता हाललाई रोकिएको छ ।

इजरायल र प्यालेस्टिनी लडाकु समूहका प्रतिनिधिमण्डलहरूले गाजा पट्टीमा २१ महिनादेखि चलेको युद्ध रोकी युद्धविराममा सहमतिका लागि एक हप्तादेखि वार्ता जारी राखेका थिए ।

नागरिक सुरक्षा निकायका प्रवक्ता महमुद बासलले पानी वितरण केन्द्रमा भएको ड्रोन आक्रमणमा १० जना पीडितमध्ये आठ जना बालबालिका रहेको उल्लेख गर्नुभएको छ ।

इजरायली सेनाले मध्य गाजाको नुसिरात शरणार्थी शिविरमा एक आतङ्ककारीलाई लक्षित गरी आक्रमण गर्दा ‘प्राविधिक त्रुटि’ भएको जनाउँदै ‘हतियार लक्ष्यबाट दर्जनौँ मिटर टाढा खसेको’ बताएको छ ।

वासिङ्टन इजरायलको शीर्ष सहयोगी हो भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामका लागि दबाब दिइरहेको र आफू सम्झौताको लागि आशावादी रहेको बताएका छन् ।

इजरायली नागरिक सुरक्षा निकायका प्रवक्ता बासलले भने युद्ध अन्त्यको तत्काल कुनै सङ्केत नभएको र आइतबार प्यालेस्टिनी क्षेत्रभरि भएको आक्रमणमा गाजा सहरमा ११ जनासहित कम्तीमा ४३ जनाको मृत्यु भएको बताए ।

हाल गाजाभरीसैन्य कारबाही तीव्र पारेको इजरायली सेनाले विगत २४ घण्टामा वायुसेनाले ‘१५० भन्दा बढी आतङ्ककारी लक्ष्यहरूमा आक्रमण गरेको’ बताएको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयले अधिकांश नागरिकसहित कम्तिमा ५८ हजार २६ जना प्यालेस्टिनीहरू इजरायलको जवाबी अभियानमा मारिएको जनाएको छ ।

संयुक्त राष्ट्र सङ्घका निकायहरूले शनिबार इन्धनको अभाव ‘गम्भीर स्तरमा’ पुगेको र गाजाको २० लाखभन्दा बढी मानिसहरूको अवस्था थप बिग्रने खतरा रहेको चेतावनी दिएका छन् ।

इजरायल र हमासले एकअर्कालाई सम्झौता रोक्न खोजेको आरोप लगाएपछि शनिबार कतारको राजधानी दोहामा ६० दिने युद्धविराम र बन्धक मुक्तिका लागि वार्ता स्थगित भएको थियो ।

गतिरोधको बावजुद, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने, “आशा छ, हामी अर्को हप्तामा यसलाई सुधार्ने छौँ ।”

हमासले गाजाबाट इजरायली सेना पूर्ण रूपमा फिर्ता लिन चाहन्छ, तर वार्ताको जानकारी भएको प्यालेस्टिनी स्रोतले इजरायलले ४० प्रतिशतभन्दा बढी क्षेत्रमा सेना राख्ने योजना प्रस्तुत गरेको बताएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com