‘वाह, मलाई थाहा थिएन !’ – नेतन्याहुले नोबेल पुरस्कारको लागि सिफारिस गरेपछि चकित ट्रम्प
प्रकाशित मिति : असार २४, २०८२ मंगलबार
फाइल तस्वीर
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारको लागि सिफारिस गरेका छन्। ट्रम्प र नेतन्याहुबीच सोमबार ह्वाइट हाउसमा भएको भेटका क्रममा नेतन्याहुले यसबारे खुलासा गरेका हुन्।
डिनर बैठकको क्रममा नेतन्याहुले ट्रम्पलाई नोबेल पुरस्कार समिति समक्ष पठाएको सिफारिस पत्रको प्रति प्रदान गरे। उक्त पत्रमा नेतन्याहुले ट्रम्पद्वारा मध्यपूर्वमा भएको ऐतिहासिक अब्राहम सम्झौताको सफलतापूर्वक संयोजनको प्रशंसा गरेका छन्। उनले भने, “उहाँले अब्राहम सम्झौता गर्नुभएको छ । अहिले पनि उहाँ विभिन्न देश र क्षेत्रहरूमा शान्ति निर्माण गरिरहनु भएको छ। त्यसैले मैले उहाँलाई नोबेल शान्ति पुरस्कारको लागि सिफारिस गरेको हुँ।”
यस सन्दर्भमा ट्रम्पले आश्चर्य व्यक्त गर्दै भने, “मलाई यो थाहा थिएन। वाह। धेरै धन्यवाद। विशेष गरेर तपाईंबाट आएको यो कुरा साँच्चिकै अर्थपूर्ण छ।”
यो सिफारिस यतिबेला आएको हो, जब ट्रम्प इजरायल र हमासबीच युद्धविरामको प्रयासमा संलग्न छन्। कतार र इजिप्टको मध्यस्थतामा ट्रम्पले एक नयाँ सम्झौताको प्रस्ताव अघि सारेका छन्, जसमा गाजामा ६० दिनको युद्धविराम, १० जीवित बन्धकको रिहाइ तथा १८ जनाको शव फिर्ता गरिने उल्लेख गरिएको छ।
राष्ट्रपति ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्ने नेताहरू यिनीसँग मात्र सीमित छैनन्। अमेरिकी सांसद बडी कार्टर (रिपब्लिकन–जर्जिया) ले गत महिनामा इजरायल र इरानबीचको युद्धविराम सफल गराउन ट्रम्पले खेलेको भूमिकाको प्रशंसा गर्दै उनी योग्य उम्मेदवार भएको बताएका थिए।
त्यस्तै, पाकिस्तान सरकारले पनि गत महिना भारतसँगको तनाव कम गराउन ट्रम्पले खेलेको भूमिका अत्यन्तै महत्वपूर्ण भएकाले उनी नोबेल शान्ति पुरस्कारका लागि २०२६ मा सिफारिस गर्ने घोषणा गरेको थियो । तर, पछिल्लो घटनाक्रममा अमेरिकाले इरानका आणविक केन्द्रमा हवाई आक्रमण गरेपछि पाकिस्तानले त्यसको विरोध जनाएको छ। सो आक्रमणले इजरायल र इरानबीचको १२ दिन लामो युद्धको अन्त्य गराएको थियो।
युक्रेनी सांसद ओलेक्जान्द्र मरेझ्कोले अघिल्लो वर्ष ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरेका थिए। तर, केही महिनापछि उनले विभिन्न कारण देखाउँदै सो सिफारिस फिर्ता लिएको घोषणा गरेका थिए।






