गाजामा इजरायली हमलामा परेर इन्डोनेसियन अस्पतालका निर्देशक मारिए


प्रकाशित मिति : असार १८, २०८२ बुधबार

इजरायलले गाजामा गरेको हवाई आक्रमणमा परेर इन्डोनेसियन अस्पतालका निर्देशक मारिएका छन । हवाई आक्रमणले बालबालिकासहित धेरैको मृत्यु भएको हो ।

गाजा सिटीस्थित आफ्नै घरमा इजरायली हवाई आक्रमणमा परेर इन्डोनेसियन अस्पतालका निर्देशक डा मारवान सुल्तानको मृत्यु भएको हो । आक्रमणमा उनका परिवारका केही सदस्यहरूको पनि मृत्यु भएको छ ।

गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले घटनाको पुष्टि गरेको छ । स्वास्थ्य मन्त्रालयले डा सुल्तानको चिकित्सा क्षेत्रमा लामो सेवा यात्रा रहेको बताउदै निन्दनीय अपराधको आलोचना गरेको छ ।

इजरायली सेनाले भने गाजा सिटी क्षेत्रमा हमासका ‘एक प्रमुख आतङ्ककारी’ लाई निशाना बनाइएको बताएको छ । त्यस्तै, इजरायली आक्रमणमा गाजाको अल मावासी ‘सुरक्षित क्षेत्र’ मा कम्तीमा पाँच जनाको ज्यान गएको र अरू घाइते भएको बताइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

इन्डोनेसियन अस्पताललाई पहिले नै अस्थायी रूपमा सेवा नदिने घोषणा गरिएको थियो । जुन क्षेत्रमा बारम्बार इजरायली आक्रमण र संरचनात्मक क्षति भएको संयुक्त राष्ट्रसंघले जनाएको थियो।

इजरायली सेनाले भने त्यस क्षेत्रमा ‘आतङ्ककारी पूर्वाधारू विरुद्ध’ लडाइँ गरिरहेको दाबी गर्दै आएको छ। संयुक्त राष्ट्रसंघका अनुसार, उत्तर गाजामा अहिले कुनै पनि अस्पताल पूर्णरूपमा सञ्चालनमा छैन।

स्वास्थ्य मन्त्रालयले इजरायली सेनाले चिकित्सकीय र मानवतावादी टोलीहरूलाई पनि लक्षित गरिरहेको आरोप लगाएको छ। आइडीएफले हमासले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गर्दै नागरिक संरचना र जनसंख्यालाई ‘मानव ढाल’ को रूपमा प्रयोग गर्ने आरोप लगाएको छ ।

डा सुल्तानकी छोरी लुबना अल सुल्तानले बताएअनुसार, ‘एफ-१६ विमानबाट खसाइएको मिसाइल ठ्याक्कै उहाँ सुतेको कोठामा खसेको थियो । घरका सबै कोठा ठीक थिए, तर उहाँको कोठा मात्र पूर्णरूपमा नष्ट भएको थियो।’

गाजामा २४ घण्टामा मात्र इजरायली आक्रमणबाट कम्तीमा १३९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

इजरायलले गाजामा आक्रमण जारी राखेको छ र मानवीय सहायता नियन्त्रणमा राखेको छ । युद्धविरामका लागि मध्यस्थकर्ताहरू वार्तामा जुटिरहेका छन्।

गाजामा इजरायली कारबाहीमा ५७ हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । जसमा १५ हजार भन्दा बढी बालबालिका रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com