कृषि फार्म र होटलमा काम गर्ने कागजातविहीनका लागि ‘अस्थायी पास’को व्यवस्था गर्ने ट्रम्पको योजना


प्रकाशित मिति : १६ असार २०८२, सोमबार

(मोली रिलेद्वारा आधिकारिक ह्वाइट हाउस फोटो)

राष्ट्रपति डोनाल्ड ट्रम्पले कृषि फार्म र होटलमा काम गर्ने कागजातविहीन आप्रवासीहरूका लागि अस्थायी पासको व्यवस्था गर्ने बताएका छन्। फक्स न्यूजसँगको एक अन्तर्वार्तामा ट्रम्पले आफ्नो प्रशासनले निश्चित उद्योगहरूमा काम गर्ने आप्रवासीहरूका लागि अस्थायी पास विकास गर्ने काम गरिरहेको बताएका हुन्। यो कदमले कृषि कामदारहरूको सन्दर्भमा आप्रवासन कानुनको कार्यान्वयनमा ट्रम्प प्रशासनको दृष्टिकोणमा आएको पछिल्लो परिवर्तनलाई संकेत गर्छ।

ट्रम्पले शुक्रबार रेकर्ड गरिएको र आइतबार प्रसारित अन्तर्वार्तामा अहिले यस विषयमा काम भइरहेको र एक प्रकारको अस्थायी पासको व्यवस्था गरिने स्पष्ट पारे। उनले कृषि फार्महरूमा गैरकानुनी रूपमा प्रवेश गरी १५–२० वर्षदेखि काम गरिरहेका राम्रा व्यक्तिहरूलाई अध्यागमनले पक्राउ गरेको उदाहरण दिँदै, त्यस्ता व्यक्तिहरूलाई अमेरिका बस्न र काम गर्न अस्थायी पास दिनुपर्ने बताएका हुन्।

ह्वाइट हाउस हालका हप्ताहरूमा निश्चित कार्यस्थलहरूलाई आइसको छापा कारबाहीबाट छुट दिने कि नदिने भन्ने विषयमा अन्योलमा परेको छ। ट्रम्पले जुन १२ मा सामाजिक सञ्जालमार्फत कृषि फार्म र होटलमा आप्रवासन कारबाहीमा छुट दिने संकेत दिएका थिए। उनले ती क्षेत्रमा काम गर्ने श्रमिकहरू प्रतिस्थापन गर्न लगभग असम्भव रहेको उल्लेख गर्दै, किसानहरूको रक्षाका लागि परिवर्तन आवश्यक रहेको बताएका थिए।

त्यसपछि केही समयका लागि कृषि, रेस्टुरेन्ट, र होटल उद्योगहरूमा कार्यस्थल छापा र पक्राउहरू स्थगित गरिएको थियो। तर केही दिनमै प्रशासनले ती उद्योगहरूमा आप्रवासी श्रमिकहरूको पक्राउ प्रक्रिया पुनः सुरु गरेको थियो। ट्रम्पले अप्रिलमा फार्म र होटलहरूमा काम गर्ने कागजातविहीन व्यक्तिहरूलाई अमेरिका छोडेर कानुनी रूपमा पुनः प्रवेश गर्ने व्यवस्था गरिने विचार पनि अघि सारेका थिए।

इतिहासकै सबैभन्दा ठूलो देशनिकालाको अभियान सञ्चालन गर्ने ट्रम्पको लक्ष्य पूरा गर्न ह्वाइट हाउसका अधिकारीहरूले आइसमाथि गिरफ्तारी बढाउन दबाब दिएका छन्। ट्रम्प प्रशासनले दैनिक कम्तीमा ३ हजार गिरफ्तारी चाहेको बताइएको छ। गत हप्ता एक अन्तर्वार्तामा ट्रम्पका सीमा प्रमुख टम होमनले दैनिक लगभग २ हजार गिरफ्तारी भइरहेको बताएका थिए।

यस मुद्दामा ट्रम्प दुई तर्फबाट दबाबमा परेका थिए। हालै कृषि र होटल उद्योगका कार्यकारीहरूले आप्रवासी कामदारहरूलाई ठूलो क्षति पुर्‍याउने व्यापक निर्वासन नीतिमा केही लचिलोपन ल्याउन दबाब दिएका थिए।

ट्रम्पको आक्रामक आप्रवासन नीतिका योजनाकार मानिने मिलरले कानुनी हैसियत नभएका कामदारहरूमा भर पर्ने केही उद्योगहरूलाई अपवाद दिनुपर्ने प्रस्तावमा निजी रूपमा विरोध जनाएका थिए। यद्यपि कृषिमन्त्री ब्रुक रोलिन्सले ट्रम्पलाई कृषि उद्योगका व्यक्तिहरूले कामदार गुमाउने विषयमा उठाएका चिन्ताहरूलाई जोड दिएकी थिइन्।

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com