न्युयोर्कमा धोकेवाज अध्यागमन सेवा प्रदायकलाई २० हजार डलरसम्म जरिवाना गर्ने बिल पारित
प्रकाशित मिति : असार १६, २०८२ सोमबार
न्यूयोर्क सिटी काउन्सिलले तोकिएका मापदण्डहरु नमान्ने अध्यागमन सेवा प्रदायकहरुलाई २० हजार डलरसम्म जरिवाना गर्ने बिल पारित गरेको छ । यो बिलले धोखाधडीमा संलग्न हुने आप्रवासी सहायता सेवा प्रदायकहरूलाई लक्षित गरेको छ। सिटी काउन्सिल सदस्य जुली वनले स्पोन्सर गरेको यो बिललाई अरु २० जनाले सह प्रायोजन गरेका थिए ।
यो बिलले न्यूयोर्क सिटीको प्रशासनिक संहितालाई संशोधन गरेर विद्यमान नियमहरूको पालना नगर्ने आप्रवासी सहायता सेवा प्रदायकहरूका लागि जरिवानालाई विगतका तुलनामा उल्लेखनीय रूपमा बढाएको छ । यी नियमहरूमा ग्राहकहरूसँग लिखित सम्झौता गर्नुपर्ने, साइनेज र विज्ञापनमा विशिष्ट भाषा समावेश गर्नुपर्ने, आवश्यक कागजातहरू राख्नुपर्ने लगायतका आवश्यकताहरू समावेश छन्।
नयाँ कानूनअनुसार पहिलो उल्लंघनका लागि ५ हजारदेखि १० हजार डलर जरिवाना लाग्नेछ भने त्यसपछिका प्रत्येक उल्लंघनका लागि १० हजारदेखि १५ हजार डलरसम्मको जरिवाना हुनेछ। विज्ञापनमा सरकारी नतिजाको गलत ग्यारेन्टी गर्ने जस्ता गम्भीर उल्लंघनका लागि पहिलो उल्लंघनका लागि ७ हजार ५ सय डलरदेखि १० हजार डलरसम्म जरिवाना लाग्नेछ। । त्यसपछिको प्रत्येक उल्लंघनका लागि १८ हजारदेखि २० हजार डलरसम्म जरिवाना हुनेछ ।
यो बिलले आप्रवासी सेवा विज्ञापन गर्ने प्रदायकहरूले साइनबोर्ड, पम्फलेट, पत्रिका, तस्वीर वा कुनै अन्य माध्यममार्फत विज्ञापन गर्दा उनीहरूले प्रदान गर्न नसक्ने सेवाहरूकोबारेमा स्पष्ट रुपमा आवश्यक सूचना समावेश गर्नुपर्नेछ। यो बिलले पारदर्शिता बढाउने र प्रदायकहरूलाई ग्राहकहरूलाई उनीहरूको योग्यता वा क्षमताबारे भ्रममा पार्नबाट रोक्ने लक्ष्य राखेको छ ।
बिलकी मुख्य स्पोन्सर सिटी काउन्सिल सदस्य जुली वलले अमेरिकी नागरिकताको कानूनी बाटो खोज्ने निराश समुदायका सदस्यहरूलाई अत्यधिक शुल्क लिनु र भ्रममा पार्नु निन्दनीय भएको बताएकी छिन् । यो बिल पारित भएसँगै नक्कली वकिलहरू र शिकारी सेवा प्रदायकहरूले अब न्यूयोर्क सिटीको आप्रवासी सहायता सेवासम्बन्धी कानूनको गम्भीर उल्लंघनका लागि दोब्बर जरिवानाको सामना गर्नुपर्नेछ।
त्यस्तै आजै पारित अर्को बिलमा उपभोक्ता तथा कामदार संरक्षण विभागले अध्यागमन सहायता सेवा प्रदायकहरूले गर्ने धोखाधडी योजनाहरूको बारेमा आउटरिच र शिक्षा सञ्चालन गर्ने विषय समावेश छ । यस बिल अन्तरगत उपभोक्ता तथा कामदार संरक्षण विभागले आउटरिचमा सामान्य धोखाधडी योजनाहरू र त्यसबाट कसरी बच्ने भन्ने बारे जानकारी समावेश गर्न र इन्टरनेट तथा सबवे विज्ञापनहरू सहित विशिष्ट मिडिया मार्फत सञ्चालन गर्नुपर्नेछ ।
आउटरिच सामग्रीहरू सार्वजनिक स्थानहरूमा पनि वितरण गरिनेछ। बिलले उपभोक्ता तथा कामदार संरक्षण विभागलाई आफ्नो आउटरिच र शिक्षा प्रयासहरू साथै अध्यागमन सहायता सेवा प्रदायकहरूसँग सम्बन्धित गुनासो र निरीक्षणहरूको बारेमा वार्षिक रूपमा रिपोर्ट गर्न पनि आवश्यक पर्नेछ। यो बिल भने १८० दिनपछि लागु हुनेछ ।








