निश्चित अपराध गरेका अंगीकृत अमेरिकीहरूको नागरिकता खोस्न ट्रम्प प्रशासनको निर्देशन
प्रकाशित मिति : असार १६, २०८२ सोमबार
ट्रम्प प्रशासनले निश्चित अपराध गरेका अंगीकृत अमेरिकी नागरिकहरुको अमेरिकी नागरिकता खोस्ने प्रयासलाई डिपार्टमेन्ट अफ। जस्टिसको एक मेमोमार्फत औपचारिक रूप दिएको छ । उक्त मेमोमार्फत सरकारी वकिलहरुलाई निश्चित अपराध गर्ने अंगीकृत नागरिकहरूको नागरिकता खारेजीलाई प्राथमिकता दिन निर्देशन दिइएको छ । कुनै व्यक्तिले गैरकानुनी रूपमा नागरिकता प्राप्त गरेको वा महत्त्वपूर्ण तथ्य लुकाएर वा जानाजानी गलत बयान दिएर नागरिकता प्राप्त गरेको अवस्थामा नागरिकता खारेज गर्ने मुद्दा चलाउन ट्रम्प प्रशासनले आन्तरिक निर्देशन दिएको छ ।
मेमोले अंगीकृत नागरिकहरूलाई लक्षित गरी नागरिकता खारेज गर्ने प्रक्रियालाई तीव्र बनाउने ट्रम्प प्रशासनको रणनीतिलाई जोड दिएको छ । यसले आप्रवासन नीतिहरूलाई कडा बनाउने व्यापक प्रयासलाई संकेत गरेको छ । यो कदमले खासगरी युद्ध अपराध, मानवअधिकार उल्लंघन वा गम्भीर फौजदारी गतिविधिहरूमा संलग्न व्यक्तिहरूलाई निशाना बनाउने बताए पनि अधिकारकर्मीहरूले भने यसले अंगीकृत नागरिकहरुलाई कमजोर बनाउनसक्ने र उनीहरूलाई अनुचित रूपमा लक्षित गर्नसक्ने चिन्ता व्यक्त गरेका छन् ।
नागरिकता खारेजको प्रक्रिया अमेरिकामा विगतमा निकै दुर्लभ थियो, तर यो मेमोले नागरिकता खारेजीको प्रक्रियालाई नियमित र व्यापक बनाउने संकेत गरेको छ । विशेष गरी मेमोले नागरिकता प्रक्रियामा झूटा विवरणहरू, आप्रवासन फारममा गलत जानकारी प्रदान वा आपराधिक इतिहास लुकाउने जस्ता मामिलाहरूलाई प्राथमिकता दिएको छ । यसले वित्तीय ठगी, चिकित्सा ठगी वा अमेरिकी एटोर्नी कार्यालयहरूबाट सिफारिस गरिएका मामिलाहरूलाई पनि समेट्छ।
२०२३ को तथ्याङ्क अनुसार अमेरिकामा २५ मिलियन अमेरिकी नागरिकहरू विदेशमा जन्मिएका आप्रवासीहरु हुन् । मेमो अनुशार नागरिकता खारेजीका लागि देवानी मुद्दाको सामना गरिरहेका व्यक्तिहरू फौजदारी मुद्दामा जस्तै वकिलको हकदार हुँदैनन्। र सरकारमाथि फौजदारी मुद्दामा भन्दा देवानी मुद्दामा प्रमाणको बोझ हल्का हुन्छ।
मेमोमा यस्ता प्रयासहरू युद्ध अपराध, गैरन्यायिक हत्या वा अन्य गम्भीर मानवअधिकार उल्लङ्घनमा संलग्न, अपराधीहरु, गिरोह सदस्यहरू, अमेरिकाको लागि निरन्तर खतरा निम्त्याउने अपराधमा दोषी ठहरिएका कुनै पनि व्यक्तिहरूविरुद्ध केन्द्रित हुने दावी गरिएको छ । यो निर्देशनले डिपार्टमेन्ट अफ जस्तिसका वकिलहरूलाई नागरिकता खोस्ने प्रकृया कहिले सुरु गर्ने भन्ने बारेमा व्यापक विवेक प्रयोग गर्ने अधिकार समेत दिएको छ ।
अघिल्लो ट्रम्प प्रशासनले पनि अमेरिकी नागरिकता खोस्ने अभियानलाई तीब्र बनाएको थियो । नागरिकता खोस्नका लागि संचालिन अपरेशन जानुस अभियान अन्तरगत सक्कली पहिचान लुकाएर वा नक्कली पहिचान बनाएर अमेरिकी सरकारलाई झुक्याएर ग्रिनकार्ड हुँदै अमेरिकी नागरिकताप्राप्त गरेकाविरुद्ध लक्षित गरिएको थियो । आपराधिक गतिविधि भएका वा उपयुक्त कागजातविना नै अमेरिका छिरेका तर नागरिकताप्राप्त गर्नेबेलामा युएससीआईएसले त्यो विवरण प्राप्त गर्न नसकेकाहरुमाथि छानविन गरिएको थियो ।
डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको माताहतमा संचालित अपरेशन जानुसले अमेरिकी सरकारको प्रणालीमा ३ लाख १५ हजार व्यक्तिका फिंगरप्रिन्टहरु केन्द्रीय डिजिटल फिंगरप्रिन्ट भण्डारमा नरहेको पत्ता लगाएको थियो । फिंगरप्रिन्ट डाटाको अभावमा कैयनका आपराधिक वा अन्य जालसाजीपूर्ण विगत पत्ता नलागेका कारण युएससीआईएसले उनीहरुलाई अमेरिकी नागरिकता दिएको पत्ता लागेपछि उनीहरुबारे छानविन गरिएको थियो । तर पछि बाइडेन प्रशासन आइसकेपछि यो अभियान रोकिएको थियो ।
केन्द्रीय डिजिटल फिंगरप्रिन्ट भण्डारमा फिंगरप्रिन्टका सबै डाटाहरु नहुनेमा नेपालीहरुको संख्या समेत उल्लेख्य रहेको छ । अरुकै भिसा र पासपोर्टमा आफ्नो फोटो टाँसेर नाम ढाँटेर अमेरिका छिर्नेहरु वा अनुहार उस्तै उस्तै रहेका कारण अरुको पासपोर्ट र भिसामा अमेरिका छिर्नेहरु फन्दामा पर्नसक्ने सम्भावना रहेको छ । त्यस्तै गैरकानुनी रुपमा मेक्सिकोको सिमाक्षेत्रबाट अमेरिका छिरेर आफ्नो पहिचान ढाँटेर अमेरिकी नागरिकता प्राप्त गरेकाहरुसमेत निशानामा पर्नसक्ने सम्भावना रहेको छ ।








