अमेरिकाले लगायो तीन मेक्सिकन वित्तीय संस्थामाथि प्रतिबन्ध


प्रकाशित मिति : ११ असार २०८२, बुधबार

a bunch of flags that are in the grass

फोटो : एस्टेबान बोनिल्ला

अमेरिकाले तीन मेक्सिकन वित्तीय संस्थामाथि प्रतिबन्ध लगाएको छ । फेन्टानिल तस्करीमा संलग्न भएको आरोप लगाउदै अमेरिकाले ती वित्तिय संस्थाहरुमाथि प्रतिबन्ध लगाएको हो ।

अमेरिकी अर्थमन्त्रालयले मेक्सिकन माफियाहरू (कार्टेल) को लागि करोडौं डलर सफा (मनि लाउन्डरिङ) गरेको आरोप लगाइएको छ। यी प्रतिबन्धहरूले ती बैंकहरू र अमेरिकी बैंकहरूबीचको निश्चित रकम स्थानान्तरण रोक्ने अधिकारीहरूले बताएका छन्।

प्रतिबन्ध लगाइएका संस्थाहरूमा सीआईब्याङ्को, इन्टरक्याम ब्याङ्को, र भेक्टर कासा दे बोल्सा नामक ब्रोकर फर्म परेका छन् ।

सीआईब्याङ्को मेक्सिकोमा आधारित एक निजी वित्तीय संस्था हो। यो बैंक मुख्यतः विदेशी मुद्रा सटही, बैंकिङ्ग सेवा, लगानी व्यवस्थापन, र हरित सेवामा केन्द्रित छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी अर्थमन्त्रालयका अनुसार, यस बैंकले फेन्टानिल बनाउन प्रयोग हुने रसायनिक तत्वहरूको भुक्तानी प्रक्रिया गरी माफियाहरूलाई सहयोग पुर्याएको छ।

इन्टरक्याम ब्याङ्को मेक्सिकोमा अवस्थित अर्को प्रमुख निजी बैंक हो। विशेषगरी मनी ट्रान्सफर, विनिमय सेवा, लगानी खाता, र वित्तीय सल्लाहकार सेवामा संलग्न छ।

अमेरिकी अधिकारीहरूले यो बैंकले फेन्टानिल उत्पादनमा प्रयोग हुने चीनबाट ल्याइएका रसायनहरूको लागि १.५ मिलियन डलरको लेनदेन गरेको दाबी गरेका छन्।

भेक्टर कासा दे बोल्सा मेक्सिकोको एक अग्रणी ब्रोकरेज (दलाल) कम्पनी हो। शेयर बजार, लगानी पोर्टफोलियो व्यवस्थापन, र वित्तीय परामर्श सेवाहरू दिन्छ ।

अमेरिकी अधिकारीले यो कम्पनी सिनालोआ र गल्फ माफिया समूहहरूको लागि पैसा सफा गर्न प्रयोग गरिएको थियो ।

पूर्व मेक्सिकन सुरक्षा मन्त्रीलाई घूस दिने लेनदेनमा पनि संलग्न रहेको भनिएको छ। यी तीनै संस्थाहरू अहिले अमेरिकी प्रतिबन्धमा परेका छन् । जसले उनीहरूलाई अमेरिकी बैंकहरूसँग कारोबार गर्न असम्भव बनाउनेछ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबमा अमेरिकी र मेक्सिकन अधिकारीहरूले संयुक्त रूपमा मेक्सिकन माफियाहरू, विशेष गरी फेन्टानिल तस्करी गर्नेहरूको विरुद्ध कडा कदम चालिरहेका छन् ।

ट्रम्प प्रशासनले यस वर्ष धेरै मेक्सिकन माफियाहरूलाई विदेशी आतङ्ककारी संगठन घोषणा गरिसकेको छ। कार्यकाल सुरू भएदेखि अहिलेसम्म ३१ व्यक्तिमाथि प्रतिबन्ध लगाइसकेको छ।

यद्यपि फेन्टानिल ओभरडोज र सीमाबाट आपूर्ति घट्दो क्रममा छ । प्रशासनले अझै पनि कार्टेल विरुद्ध अभियानलाई तीव्र बनाएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com