न्युयोर्क सिटी मेयरका लागि डेमोक्रेटिक प्राइमरीमा अग्रता लिएका मम्दानीबारे जान्नुपर्ने कुरा


प्रकाशित मिति : ११ असार २०८२, बुधबार

फोटो: दिमित्रीशिन/ विकिमिडिया

न्युयोर्क सिटी मेयरका लागि डेमोक्रेटिक प्राइमरीमा चुनावअगाडिका सर्वेक्षणहरूमा अगाडि रहेका एन्ड्रयु कुमोलाई पछाडि पार्दै अग्रता कायम गरेका ३३ वर्षीय जोहरान मम्दानीले चुनावी अभियान घोषणा गर्दा न्यूयोर्कका अधिकांश मानिसहरूका लागि उनी अपरिचित र कम अनुभवी राज्यसांसद थिए। तर अहिले उनले न्यूयोर्क सहरभरि मतदाताहरूसँग गहिरो सम्बन्ध राख्ने, परिचित र अनुभवी उम्मेदवारहरूलाई समेत पछाडि पार्दै मेयर पदका लागि डेमोक्रेटिक पार्टीको मनोनयन प्राप्त गर्ने बाटोमा देखिएका छन्।

मम्दानीको अभियान न्यूयोर्क सिटीको महँगी, आवास र बाल हेरचाहको उच्च लागतबाट प्रभावित श्रमिक वर्गका न्यूयोर्कवासीहरूको समस्यामा केन्द्रित थियो। भारतीय मूलका अमेरिकी नागरिक उनको प्रगतिशील एजेन्डा र सामाजिक न्यायप्रतिको प्रतिबद्धताले युवा मतदाताहरू र प्रगतिशील समुदायमा ठूलो समर्थन प्राप्त गर्नुका साथै उनलाई सिनेटर बर्नी स्यान्डर्स र सांसद एओसी लगायतले समर्थन गरेका थिए, जसले उनको अभियानलाई थप बल प्रदान गर्‍यो।

मम्दानीले सन् २०२० मा राज्य संसदको प्राइमरीमा चार कार्यकाल जितेका सांसदलाई कडा प्रतिस्पर्धामा हराएका थिए। उनी अल्बानीमा डेमोक्रेटिक सोसलिस्ट अफ अमेरिकाको न्यूयोर्क शाखाका साना समूहका सांसदहरूसँग जोडिएका थिए। अल्बानीमा उनको एजेन्डा चुनावी अभियानका प्राथमिकतासँग मेल खाए पनि चार वर्षभन्दा बढी समयमा उनले प्रस्ताव गरेका २० भन्दा बढी बिलहरूमध्ये केवल तीनवटा सानातिना बिलहरू मात्र कानुन बने।

अभियानको क्रममा उनले न्यूयोर्क सिटीका बसहरूलाई निःशुल्क बनाउने कार्यक्रमको बारेमा धेरै कुरा गरे, जुन उनले सुरु गर्न सहयोग गरेका थिए। यो पाइलट कार्यक्रम एक वर्षसम्म चल्यो तर नवीकरण भएन।

उनी न्यूयोर्क राज्य संसदमा सबैभन्दा युवा सदस्यहरूमध्ये एक थिए। यदि न्यूयोर्क सिटीको मेयरमा निर्वाचित भएमा ३४ वर्षको उमेरमा उनी सन् १९१७ पछि न्यूयोर्क सहरको सबैभन्दा कम उमेरको मेयर हुनेछन्। मम्दानीको युवावस्था र नयाँ दृष्टिकोणले प्रगतिशील मतदाताहरूलाई आकर्षित गरे पनि उनको अनुभवको कमीमा विरोधीहरूले आलोचना गरेका थिए।

नेपाली अमेरिकन मतदातामाझ मम्दानी ।

मम्दानी लामो समयदेखि इजरायली सरकार र प्यालेस्टाइनीहरूप्रति यसको व्यवहारको आलोचक रहेका छन्। सन् २०२३ मा उनले अन्तर्राष्ट्रिय मानवअधिकार कानुन उल्लंघन गर्ने इजरायलसँग सम्बन्धित न्यूयोर्कका परोपकारी संस्थाहरूको कर मुक्त स्थिति समाप्त गर्ने बिल प्रस्ताव गरेका थिए। तर यो बिल पारित भने भएन। उनले गाजामा इजरायलको कार्यको कडा आलोचना गरेका छन्। उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई पक्राउ गर्नुपर्ने पनि बताएका थिए।

मम्दानीले न्यूयोर्क सिटीमा यहूदी विरोधी भावनाका लागि कुनै ठाउँ नभएको पनि बताएका थिए। यदि निर्वाचित भएमा उनले घृणा अपराधहरू विरुद्ध लड्न कोष बढाउने बताएका छन्। नोभेम्बरमा हुने चुनावमा निर्वाचित भएमा मम्दानी न्यूयोर्कको पहिलो मुस्लिम मेयर समेत हुनेछन्। उनको अभियानले सहरका लगभग १० लाख मुस्लिमहरूलाई उत्साहित गरेको छ। उनले नियमित रूपमा मस्जिदहरू भ्रमण गरेका थिए भने आफ्नो विश्वासलाई अभियानको केन्द्रबिन्दु बनाएका थिए।

उनले आफ्नो पहिलो अभियान भिडियोमा हलाल फूड कार्टको खानाको बढ्दो लागतलाई तोडेर सिटीको महँगी संकटबारे कुरा गरेका थिए। पछि रमजानको रोजा तोड्दै सबवेमा ठूलो बुरिटो खाँदै गरेको भिडियो सार्वजनिक गरेका थिए। उनले सामाजिक सञ्जालको राम्रैसँग सदुपयोग गरे। न्यूयोर्कका लाखौं मानिसहरूको भाडा स्थिर राख्ने प्रस्तावलाई हाइलाइट गर्न उनले चिसो एट्लान्टिक महासागरमा हाम फालेको भिडियो सार्वजनिक गरेका थिए भने उनले दर्जनौं पोडकास्टहरूमा उपस्थिति जनाएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मम्दानीको सफलताको एक हिस्सा मतदाताहरूको आर्थिक कठिनाइहरूको जटिलतालाई संक्षिप्त नीतिगत समाधानहरूमा प्रस्तुत गर्ने उनको क्षमताबाट आएको हो। उनले ठूला विचारहरूबाट पछि हटेनन् र राष्ट्रिय डेमोक्रेटहरूले विभिन्न मुद्दाहरूमा मध्यम दृष्टिकोण अपनाउन खोज्दा पनि उनले आफूलाई निर्भीक रूपमा डेमोक्रेटिक समाजवादी भनेर परिभाषित गरे।

उनी जटिल नीतिगत अवधारणाहरूमा अल्झिनुको सट्टा जनताले बुझ्न सजिलो हुने गरी अपार्टमेन्टहरूको भाडा स्थिर हुने, बसहरू निःशुल्क हुने, धनीहरूमा कर बढ्ने र बाल हेरचाहको लागत शून्यमा झर्ने जस्ता विचारहरू प्रस्तुत गरे। यद्यपि उनका विरोधीहरूले तिनलाई अव्यावहारिक भनेका थिए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com