एयर इन्डियाका सबै बोइङ ड्रीमलाइनर विमानहरूमा थप सुरक्षा निरीक्षणको आदेश


प्रकाशित मिति : जेष्ठ ३१, २०८२ शनिबार

एयर इन्डिया विमान दुर्घटनाको फ्लाइट डाटा रेकर्डर अर्थात् ‘ब्ल्याक बक्स’ फेला परेपछि अनुसन्धानलाई तीव्र पारिएको छ। २४१ जना यात्रुको ज्यान जाने गरी भएको दुर्घटनाको मुख्य कारण पत्ता लगाउने दिशामा यो महत्त्वपूर्ण प्रगति भएको हो।

विमानको डिजिटल फ्लाइट डाटा रेकर्डर दुर्घटनास्थल नजिकैको छानोमा फेला परेको हो। भारतको एयरक्राफ्ट एक्सिडेन्ट इन्भेस्टिगेसन ब्युरोले यो उपकरण प्राप्त गरेको पुष्टि गर्दै अनुसन्धान “पूर्ण बलका साथ” अगाडि बढाइएको बताएको छ।

यसैबीच, भारतको नागरिक उड्डयन नियामक निकायले एयर इन्डियाका सबै बोइङ ७८७-८ र ७८७-९ ड्रीमलाइनर विमानहरूमा थप सुरक्षा निरीक्षण गर्न आदेश दिएको छ।

यसमा इन्जिन, इन्धन प्रणाली, हाइड्रोलिक प्रणाली, ककपिट कन्ट्रोल सिस्टम र टेकअफ सेटिङहरूको जाँच गर्न भनिएको छ। यी सबै विमानमा जनरल इलेक्ट्रिकको इन्जिन प्रयोग गरिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बेलायतको इन्स्टिच्युट अफ मेकानिकल इन्जिनियर्सका एयरोस्पेस प्रमुख पाउल फ्रोमेका अनुसार, ब्ल्याक बक्सबाट प्राप्त सूचना प्रयोग गरेर दुर्घटनाको प्राथमिक कारण चाँडै पत्ता लगाउन सकिनेछ। उनले बताए, “डाटा रेकर्डरले टेकअफको समयमा इन्जिनको शक्ति, विङ्ग फ्ल्यापको सेटिङ र अन्य नियन्त्रण प्रणालीहरूबारे स्पष्ट जानकारी दिनेछ।”

पूर्व अमेरिकी दुर्घटना अनुसन्धानकर्ता जेफ गज्जेटीका अनुसार, यदि ब्ल्याक बक्स सुरक्षित छ भने अनुसन्धानकर्ताहरूले आगामी एक हप्ताभित्र केही मुख्य प्रश्नहरूको उत्तर पत्ता लगाउन सक्छन्।

उनले विङ्ग फ्ल्याप सही सेट थिए या थिएनन्, इन्जिनमा पावर गुम्यो कि छैन, ककपिटमा कुनै चेतावनी बजेको थियो कि थिएन, वा चालकदलले तापक्रम र भारसम्बन्धी विवरण गलत प्रविष्ट गरे कि गरेनन् भन्ने कुरा मुख्य हुने बताए। “यो दुर्घटनाको पूर्ण निष्कर्ष तुरुन्तै आउने छैन, तर केही आधारभूत यथार्थहरू चाँडै थाहा हुनेछ,” उनले भने।

दुर्घटनामा विमानमा सवार २४१ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ। स्थानीय क्षेत्रमा पाँच जनाको ज्यान गएको र ५० जना घाइते भएको जनाइएको छ। चिन्न नसकिने अवस्थामा जलेका शवहरूको डीएनए परीक्षण भइरहेको छ।

विमान गुजरात राज्यको राजधानी अहमदाबादस्थित एक मेडिकल कलेज होस्टलमा ठोक्किएर आगो लागेपछि, धेरै विद्यार्थीको मृत्यु भएको थियो। यो राज्य प्रधानमन्त्री नरेन्द्र मोदीको गृह राज्य हो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com