अमेरिका र चीनबीच व्यापार युद्ध समाधान गर्न लण्डनमा नयाँ वार्ता हुने


प्रकाशित मिति : जेष्ठ २५, २०८२ आईतबार

अमेरिका र चीनबीचको व्यापार युद्ध समाधान गर्न बेलायतको लण्डनमा नयाँ वार्ता हुने भएको छ । जारी व्यापार विवाद समाधान गर्नका लागि सोमबार लण्डनमा उच्चस्तरीय वार्ता हुने भएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार वरिष्ठ अमेरिकी प्रतिनिधिमण्डलले चिनियाँ अधिकारीहरूसँग भेट्ने घोषणा गरेका थिए । त्यसको भोलिपल्ट चीनको विदेश मन्त्रालयले उपप्रधानमन्त्री हे लिफेङ वार्तामा सहभागी हुने पुष्टि गरेको हो ।

यी घोषणाहरू राष्ट्रपति ट्रम्प र चिनियाँ नेता सी जिनपिङबीच भएको टेलिफोन वार्तापछि आएका हुन् । ट्रम्पले उक्त संवादलाई ‘एकदम सकारात्मक कुराकानी’ भनेका थिए।

गत महिनामा विश्वका दुई ठूला अर्थतन्त्रहरूले एक अस्थायी युद्धविराम सम्झौता गरेका थिए । जसअनुसार दुवै पक्षले एक अर्काको वस्तुहरूमा लगाइएको आयात कर घटाउने सहमति गरेका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर सम्झौतापछि दुवै पक्षले एकअर्कामाथि सम्झौताको उल्लंघन गरेको आरोप पनि लगाएका छन्। शुक्रबार ट्रम्पले आफ्नै प्लेटफर्ममा लेख्दै अमेरिकी अर्थमन्त्री स्कट बेसन्ट, वाणिज्यमन्त्री हावार्ड लुटनिक र व्यापार प्रतिनिधि जेमिसन ग्रियर चिनियाँ अधिकारीहरूसँग सोमबार लण्डनमा भेट्ने जानकारी दिएका छन्।

शनिबार चीनको विदेश मन्त्रालयले उपप्रधानमन्त्री हे लिफेङ ८ देखि १३ जुनसम्म बेलायतमा रहने जानकारी दिएको छ । चीन अमेरिका आर्थिक तथा व्यापार संयन्त्रको बैठक हुने पनि बताएको छ ।

ट्रम्पका अनुसार सी जिनपिङसँगको वार्ताको मुख्य विषय व्यापार नै हो । दुबै देशका लागि धेरै सकारात्मक नतिजा आएको उनले बताए। चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार सीले ट्रम्पलाई अमेरिकाले चीनविरुद्ध उठाएको नकारात्मक कदम फिर्ता लिनुपर्ने बताएका थिए।

यो फोन संवाद फेब्रुअरीमा व्यापार युद्ध सुरु भएपछि दुबै नेताबीचको पहिलो प्रत्यक्ष संवाद हो । यस वर्षको सुरुवातमा ट्रम्पले विभिन्न देशबाट आयात हुने सामानमा व्यापक शुल्क लगाउने घोषणा गरेपछि चीन सबैभन्दा बढी प्रभावित भएको थियो।

चीनले पनि जवाफी कदमस्वरूप अमेरिकी वस्तुहरूमा कर बढायो । दुवै पक्षबाट बढाइएका शुल्कहरू अन्ततः १४५ प्रतिशत सम्म पुगेका थिए। मे महिनामा स्वीट्जरल्याण्डमा भएको वार्ताले अस्थायी युद्धविराम गराएको थियो । जसलाई ट्रम्पले ‘पूर्ण पुनः सुरुवात’भनेका थिए।

सो सम्झौताअनुसार अमेरिकाले चीनबाट आयात हुने वस्तुमा लगाउदै आएको कर ३०प्रतिशत मा झारेको थियो । चीनले अमेरिकी वस्तुमा कर घटाएर १० प्रतिशत बनाएको थियो । साथै, चीनले महत्वपूर्ण खनिज को निर्यातमा लगाइएको रोक हटाउने प्रतिबद्धता जनाएको थियो । तर सम्झौतापछि पुनः विवाद चुलिएको छ।

अमेरिकाले चीनमाथि महत्वपूर्ण खनिज र दुर्लभ पृथ्वी चुम्बकको आपूर्ति पुनः सुरु नगरेको आरोप लगाएको छ । यी पदार्थहरू कार तथा कम्प्युटर उद्योगका लागि अत्यावश्यक छन् ।

शनिबार चीनको वाणिज्य मन्त्रालयले केही दुर्लभ पृथ्वी खनिज निर्यात अनुमति दिएको जनाएको छ । तर कुन देशका लागि भन्ने खुलाएको भने छैन।
यसअघि ट्रम्पले सी जिनपिङले दुर्लभ खनिज व्यापार पुनः सुरु गर्न सहमति दिएको बताएका थिए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com