अमेरिकामा २० वर्षीय प्रसन नेपाल पक्राउपछि एफबीआईद्वारा बालयौन हिंसाका २५० अनुसन्धान सुरु
प्रकाशित मिति : बैशाख २३, २०८२ मंगलबार
विश्वव्यापी बाल यौन शोषण नेटवर्क चलाएको अभियोगमा अमेरिकाको नर्थ क्यारोलिना निवासी २० वर्षीय प्रसन नेपाल पक्राउ परेपछि एफबीआईद्वारा बालयौन हिंसाका २५० अनुसन्धान सुरु गरिएको छ। हिंसात्मक अनलाइन सञ्जाल सञ्चालन गरेको अभियोगमा उनलाई पक्राउ परेपछि अहिलेसम्मकै सबैभन्दा जघन्य अनलाइन बाल शोषण उद्यमहरूमध्ये एक सञ्चालन गरेको अभियोग लगाइएको छ।
टिप्पी उपनामले चिनिने २० वर्षीय नेपालले अनलाइनमा सञ्जाल सञ्चालन गरेर कमजोर बालबालिकाहरूलाई लक्षित गर्दै उनीहरूलाई उक्साएर र धम्क्याएर अश्लील सामग्रीहरू उत्पादन गर्न बाध्य पारेको अभियोग लगाइएको छ। ‘७६४’ भनेर चिनिने यो सञ्जालले कमजोर नाबालिगहरूको शोषणमार्फत सभ्य समाजलाई नष्ट गर्न खोजेको र यसका गतिविधिहरू २०२० को अन्त्यदेखि यस वर्षको सुरुसम्म भएको डिपार्टमेन्ट अफ जस्टिसले जनाएको छ। नेपालले ७६४ भित्र एउटा मुख्य उपसमूहको नेतृत्व गरेको अभियोग छ।
यो सञ्जालका अनलाइन शिकारीहरूले पीडितहरूलाई तस्वीर र भिडियो पठाउन माग गर्ने र त्यसलाई सञ्जालका अन्य अनुयायीहरूसँग साझा गर्ने तथा पीडितहरूलाई थप सामग्रीका लागि ब्ल्याकमेल गर्न प्रयोग गर्ने जनाइएको छ। केही शिकारीहरूले पीडितहरूलाई प्रत्यक्ष अनलाइन यातना दिएको हेर्न ‘वाच पार्टी’ समेत आयोजना गरेको जनाइएको छ।
एफबीआईसँग हाल २५० यस्ता अनुसन्धानहरू चलिरहेको जनाइएको छ। देशभरका ५५ वटा फिल्ड कार्यालयहरूले यससम्बन्धी केसहरू ह्यान्डल गरिरहेका छन्। ९ वर्षका बालबालिकाहरूलाई समेत पीडितको रूपमा देखेको र विश्वभर हजारौं पीडितहरू हुनसक्ने एफबीआईले जनाएको छ।
गत वर्ष कनेक्टिकटको भर्ननमा स्थानीय प्रहरीले एक किशोरीलाई यो सञ्जालका विदेशी अनुयायीसँग मिलेर आफ्नै समुदायमा बम हमलाको धम्की दिने षड्यन्त्र गरेको आरोपमा पक्राउ गरेको थियो। उनको डिभाइसमा अश्लील तस्वीरहरू, आफैँलाई हानि गरेका तस्वीरहरू र यो सञ्जाललाई समर्थन गर्ने तस्वीरहरू फेला परेका थिए। एफबीआईको काउन्टरटेरोरिज्म डिभिजन र न्याय विभागको राष्ट्रिय सुरक्षा डिभिजनले यो सञ्जाल र यसका शाखाहरूलाई सम्भावित घरेलु आतंकवादको रूपमा हेरिरहेका छन्।
यो सञ्जालमा धेरै रक्तपात र धेरै हिंसा गर्न सक्नेहरूको यी समूहहरूभित्र कद बढ्ने भन्दै त्यसका लागि उक्साउने गरेको पाइएको एफबीआईको भनाइ छ। यो केही समूहहरूमा पीडितहरूलाई सबैभन्दा धेरै हानि पुऱ्याउनु एक प्रकारको सम्मानको ब्याज भएको जनाइएको छ। पछिल्ला केही वर्षहरूमा राज्य र संघीय अधिकारीहरूले कम्तीमा १५ जनालाई बाल अश्लीलता वा हतियार सम्बन्धी आरोपमा पक्राउ गरेको तथा उनीहरूलाई यो सञ्जालसँग सम्बद्ध भएको अभियोग अदालतमा लगाइएको छ।
एउटा संघीय मुद्दामा अर्कान्सासका २४ वर्षीय जाइरो टिनाजेरोले आफ्ना मागहरूको प्रतिरोध गर्न थालेकी १४ वर्षीया किशोरीको हत्या गर्ने योजना बनाएका थिए। उनी षड्यन्त्र र बाल अश्लीलता आरोपमा दोषी ठहर भइसकेका छन्।
उनले हत्या गर्नाले यो सञ्जालभित्र उनको कद बढ्ने विश्वास गरेका थिए। अर्को संघीय मुद्दामा टाम्पाका १९ वर्षीय ज्याक रकरले ८ हजारभन्दा बढी भिडियो र तस्वीरहरूको संग्रह बनाएको पाइएको थियो, जसलाई डिपार्टमेन्ट अफ जस्टिसले इन्टरनेटमा उपलब्ध सबैभन्दा भयानक, दुष्ट सामग्री भनेको छ। उनी जनवरीमा बाल यौन शोषण सामग्री राखेकोमा दोषी ठहर भएपछि सात वर्षको जेल सजाय पाएका थिए।
यो सञ्जालका अनुयायीहरूले पीडितहरूसँग सबै प्रकारका हिंसात्मक सामग्री शेयर गर्छन्। केहीले कोलम्बाइन हाई स्कूल गोलीकाण्ड जस्ता विगतका सामूहिक हत्या हमलाहरूको महिमा गर्छन् वा पीडितहरूलाई नवनाजीवाद वा सैतानवाद जस्ता चरम विचारधाराहरूसँग परिचय गराउँछन्। उनीहरू युवाहरूलाई कुनै पनि कुराले विचलित गराउन नसक्ने गरी संवेदनाहीन बनाउन चाहने एफबीआईको भनाइ छ।
दुई हप्ता अघि पक्राउ परेका प्रसन नेपालले चार वर्षअघि टेक्सासस्थित यही सञ्जालका संस्थापकसँग मिलेर यो नेटवर्क सुरु गरेको अदालती कागजातमा उल्लेख छ। यद्यपि आरोपपत्रहरूमा संस्थापकको नाम उल्लेख गरिएको छैन, संघीय कानुन प्रवर्तन स्रोतहरूले उनलाई ब्राडली क्याडनहेडको रूपमा पहिचान गरेका छन्, जो बाल अश्लीलता सम्बन्धी धेरै आरोपमा दोषी ठहर भएर टेक्सासमा ८० वर्षको जेल सजाय काटिरहेका छन्।
एक अनुसन्धानमा कनेक्टिकटकी किशोरी एक विदेशी पुरुषद्वारा यो सञ्जालमा तानिएको पाइएको थियो। किशोरीले उनलाई लोकप्रिय अनलाइन गेमिङ प्लेटफर्म रोब्लक्समा भेटेकी थिइन्। त्यसपछि उनीहरूले नियमित रूपमा अनलाइन कुराकानी गर्न थाले। उनले आफूलाई उनको प्रेमी भएको विश्वास दिलाएपछि किशोरीले उनलाई यौनजन्य तस्वीरहरू पठाइन्। ती तस्वीरहरू ‘७६४’ सञ्जालका अनुयायीहरूमाझ शेयर गरेर मागहरू पूरा नगरेमा व्यापक रूपमा शेयर गर्ने धम्की दिइएको थियो।
त्यसपछि ती किशोरीले बाध्य भएर ‘७६४’ सञ्जाल सम्बन्धी विभिन्न सामग्रीहरू उत्पादन गरेकी थिइन्, जसमा ७६४ लेखिएको नग्न बार्बी डलको तस्वीर, आफूलाई काटेको तस्वीरहरू र उनको रगतमा लेखिएको नोट समावेश थियो, जसमा उनको कथित प्रेमीलाई देवता भनिएको थियो। थप ब्यालकमेलको डरले किशोरीले आफूले भोगेको धम्कीपूर्ण व्यवहारमा सहभागी हुन थालेकी थिइन्।






