युक्रेन युद्ध चाँडै अन्त्य नहुने अमेरिकी उपराष्ट्रपति भ्यान्सको दावी
प्रकाशित मिति : बैशाख १८, २०८२ बिहीबार
अमेरिकी उपराष्ट्रपति जे डी भ्यान्सले युक्रेन युद्ध चाँडै अन्त्य नहुने बताएका छन् । उनले यो द्वन्द्व अझै लामो समयसम्म चल्न सक्ने संभावना रहेको औल्याएका हुन ।
रुस र युक्रेनलाई कसरी ‘मध्य मार्गमा ल्याएर यो युद्ध अन्त्य गराउन सकिन्छ ? ” भनेर अमेरिकी प्रशासन कृयासिल रहेको बताए । उनले “तर यो निर्णय रुस र युक्रेनकै हातमा छ—उनीहरूले सम्झौता गरेर यो क्रूर द्वन्द्व रोक्नुपर्छ ” भनेका छन ।
उनको यो भनाइ अमेरिकी सरकार र युक्रेनबीच भएको ऐतिहासिक खनिज सम्झौता पछि आएको हो । अमेरिकासँग भविष्यमा सुरक्षा सहायता दिने सन्दर्भमा युक्रेनका दुर्लभ खनिज स्रोतको मुनाफा साझेदारी गर्ने सम्झौतामा युक्रेनले हस्ताक्षर गरिसकेको छ ।
भ्यान्सले राष्ट्रपति ट्रम्पको युक्रेन युद्धसम्बन्धी दृष्टिकोणको पनि बचाउ गरे । उनले भने, “हो, पक्कै पनि युक्रेनीहरू रुष्ट छन्, उनीहरूको देशमाथि आक्रमण भयो । तर के हामी केही माइल भूभागका लागि हजारौँ सैनिक गुमाइरहने हो ? ” प्रश्न गरे ।
ट्रम्पले सन २०१४ मा रुसले अधिग्रहण गरेको क्रीमिया रुसलाई सुम्पन युक्रेन तयार हुन सक्ने संकेत गत साता दिएका थिए । तर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संविधानको हवाला दिँदै क्रीमियामाथि रुसी नियन्त्रण स्वीकार गर्न नसकिने बताएका थिए।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि युद्धमा चाँडै ‘ब्रेकथ्रु’ आवश्यक रहेको बताएका थिए । यसैबीच, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ८ मेदेखि तीन दिनको अस्थायी युद्धविरामको घोषणा गरेका छन् । यो दोस्रो विश्वयुद्धको अन्त्यको सम्झनामा गरिएको हो ।
तर युक्रेनी विदेशमन्त्री आन्द्री सिबिहाले ३० दिन लामो युद्धविरामको माग गरेका छन् । यद्यपि, युक्रेन र रुसबीच लडाइँ भने अझै जारी छ । बिहीबार राति, रुसले युक्रेनको दक्षिण पूर्वी सहर जापोरिझियामा ड्रोन आक्रमण गर्दा १४ जना घाइते भएका छन् ।
उता, मस्कोले युक्रेनमाथि रूस नियन्त्रित दक्षिणी युक्रेनको बजारमा ड्रोन आक्रमण गरेको आरोप लगाएको छ । उक्त हमलामा ७ जनाको मृत्यु भएको । २० भन्दा बढी घाइते भएको रुसी अधिकारीहरूको भनाइ छ।
तर कीभले ती आरोप अस्वीकार गर्दै उक्त आक्रमण केवल सैन्य लक्ष्यमाथि मात्र गरिएको दाबी गरेको छ ।






