वृद्धाश्रममा आफन्त बिनाको दशैँ


प्रकाशित मिति : आश्विन १२, २०७४ बिहीबार


– सुशील दर्नाल

यति बेला नेपालीको घर–घरमा बडा दशैँको रौनक छाएको छ । बूढापाका आफन्तजनको हातबाट टीका थाप्न प्रदेशबाट स्वदेश र शहरबाट गाउँ पस्नेको लर्को लागिरहेको छ । तर सामाजिक कल्याण केन्द्र, वृद्धाश्रम (पशुपति वृद्धाश्रम)मा बस्दै आउनुभएकी ७५ वर्षीया जानुका अगस्तीलाई भने दशैँ नआए हुन्थ्यो जस्तो लाग्छ ।

“दुई भाइ छोरा थिए, जेठो १० वर्षको उमेरमा बित्यो, कान्छो दुई वर्षको हुँदा बित्यो, त्यसपछि लगत्तै श्रीमान् पनि बित्नुभयो, अहिले यहाँ वृद्धाश्रममा आएर बस्नुपरेको छ, आफ्नो भन्ने कोही नभएर होला तीज, दशैँ, तिहार यी चाडबाड पनि नआए हुन्थ्यो जस्तो लाग्छ, नरमाइलो लाग्छ”, अगस्तीले भक्कानिँदै भन्नुभयो ।

नुवाकोट त्रिशूली घर बताउने अगस्तीले दुई भाइ छोरा र श्रीमान्को मृत्युपश्चात् सौतेनी ज्वाइँले पाल्छु भनेर भएको सबै सम्पत्ति आफ्नो नाममा गराए, पछि वास्तै नगरेका कारण पाँच वर्षदेखि वृद्धाश्रममा बस्दै आएको दुखेसो उहाँले पोख्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अगस्तीले विगत सम्झँदै भन्नुभयो, “ दशैँमा सबै परिवार घरमै हुन्थ्यौँ, पिङ खेलिन्थ्यो, सबैको बूढो घर भनेसी सबै टीका लाउन आउँथे, रमाइलो लाउँथियो, अहिले ती दिन सम्झँदा पनि भक्कानो छुटेर आउँछ, अहिले यहाँ रल्लटुल्ल भएर बसेकी छु, आफ्नो भन्ने कोही छैन, कतिबेला देलान र खाउला भनेर बस्नुपर्छ ।”

अठार वर्षदेखि सोही वृद्धाश्रममा बस्दै आउनुभएकी ८८ वर्षीया सावित्रा कार्कीलाई पनि आफ्न्त कोही नभएपछि दशैँ आउँदा रमाइलो लाग्दैन । “छोरा÷छोरी, बुहारी, नाति÷नातिना आफन्त सबैसँगै भए पो दशैँ पर्व पनि आएजस्तो हुन्छ, आफ्नो त आफन्त भनेको पनि कोही छैन, कोही मरिसके, कसैको पत्तो छैन, म एक्लै भएर यहाँ वृद्धाश्रममा आएर बसेकी छु, भित्रभित्रै नरमाइलो लाग्छ”, कार्कीले भन्नुभयो ।

जानुका र साबित्रा जस्तै पशुपति वृद्धाश्रममा बस्दै आउनुभएका र कोही पनि आफ्न्त नहुने वृद्धवृद्धालाई दशैँ आउँदै गर्दा पक्कै पनि रमाइलो लाग्दैन । पशुपति वृद्धाश्रम कार्यालय प्रमुख मनोजकुमार बस्नेतका अनुसार वृद्धाश्रममा अहिले १९० जना वृद्धवृद्धा बस्दै आएका छन् । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका अनुसार उपत्यकाभित्र निजी र सरकारी गरी करिब १० वटा वृद्धाश्रम छन् । देशैभरि करिब ७७ वटा वृद्धाश्रम सञ्चालनमा छन ।

विगतका वर्षमा जस्तै यस पटकको दशैँमा पनि पशुपति वृद्धाश्रमका कार्यालय प्रमुखले वृद्धवृद्धालाई र वृद्धवृद्धाले कार्यालय प्रमुखलाई टीका लगाएर दशैँ मनाउने कार्यक्रम छ । दशैँको अवसरमा वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई विभिन्न सङ्घसंस्था र व्यक्तिले लत्ताकपडा, फलफूल लगायतका सामग्री वितरण गरेका छन् । विसं २०६८ को जनगणनाअनुसार ज्येष्ठ नागरिकको जनसङ्ख्या नेपालमा करिब २२ लाख रहेको छ ।

वृद्धाश्रममा बस्ने वृद्धवृद्धामध्ये धेरैजना आफन्त नभएका, छोरा–बुहारीले वृद्धाश्रममा ल्याएर राखेका, छोरा–बुहारी अमेरिका, अस्ट्रेलिया, बेलायत लगायतका मुलुकमा डाक्टर, इन्जिनियर भएर बसेका, आफन्तले घरबाट निकालिदिएका विभिन्न दलका नेता, सरकारी कर्मचारी र राज्यका जिम्मेवार निकायमा रहनुभएका व्यक्तिका आमाबुबालगायत हुनुहुन्छ ।

बुबाआमा जीवित रहुञ्जेल पैतृक सम्पत्ति छोराछोरीको नाममा नामसारी गर्न नपाइने र बुबाआमाका विरुद्धमा सन्तानले कुनै बहानामा उजुरी गर्न नपाइने कानुनी व्यवस्था हुनुपर्ने पशुपति वृद्धाश्रमका वृद्धवृद्धाको माग छ । वृद्धभत्ता बढाउनुपर्ने, ज्येष्ठ नागरिकले सर्वोच्च अदालतले विसं २०६७ चैत २४ गते सरकारको नाममा जारी गरेको परमादेशको आदेश लागू गर्नुपर्ने, सार्वजनिक सवारीसाधनमा ५० प्रतिशत छुट गर्नुपर्ने र निजी तथा सरकारी अस्पतालमा निःशुल्क स्वास्थ्य उपचार गर्नुपर्ने लगायतका विभिन्न माग गर्दै विगत पाँच वर्षदेखि नयाँ वानेश्वरस्थित संविधान सभा भवननजिकै ज्येष्ठ नागरिकले धर्ना दिँदै आएका छन् ।

सरकारले ज्येष्ठ नागरिकले पाउँदै आएको सामाजिक सुरक्षा भत्तालाई वृद्धि गरे पनि पशुपति वृद्धाश्रमका वृद्धवृद्धाले अहिलेसम्म नपाएको गुनासो गर्दै आएका छन । नेपालको संविधानमा ज्येष्ठ नागरिकको हक सम्बन्धमा ‘ज्येष्ठ नागरिकलाई कानूनबमोजिम राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ’, भनी उल्लेख गरिएको छ ।
रासस

तस्विर : नरेन्द्र श्रेष्ठ

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com