वैदेशिक रोजगारीबाट फर्किएका इन्द्रलाल केराखेतीमा, मासिक एक लाखसम्म आम्दानी


प्रकाशित मिति : फाल्गुन २५, २०८१ आईतबार

सर्लाहीको बागमती नगरपालिका–१० निवासी ४७ वर्षीय इन्द्रलाल बल विगत नौ वर्षदेखि केराखेतीमा सम्लग्न हुनुहुन्छ छ । उहाँले साढे सात बिघा खेतमा केराखेती गर्नुभएको छ । उहाँले भन्नुभयो, “मेहेनतअनुसारको उत्पादन र उत्पादनअनुसारको राम्रो व्यापार भएका कारण केराखेतीबाट मनग्य आम्दानी भइरहेको छ ।”

कृषि उत्पादनमा व्यावसायिक रूपले जोडिनुपर्ने उहाँको तर्क छ । “हामी आफ्नो माटोमा सुन फलाउन छाडेर विदेशमा पित्तल कमाउन पुग्ने गर्छौँ”, उहाँले भन्नुभयो । झण्डै पाँच वर्ष वैदेशिक रोजगारीमा मलेसिया मा विताउनुभएका उहाँ युवाहरूलाई देशमै केही गर्न आग्रह गर्नुहुन्छ ।

विगत एक दशकदेखि बिहान सबेरैदेखि साँझ अबेरसम्म उहाँ केराबारीमा भेटिनुहुन्छ । खेतीबारी राम्रो हुन त्यसलाई पर्याप्त स्याहारसम्भार गर्नुपर्ने उहाँको अनुभव छ । “हाम्रो बानी कस्तो छभने खेतमा बाली लगाउने अनि फर्केर नजाने”, उहाँले भन्नुभयो, “यसरी खेती हुँदैन, हाम्रा पितापुर्खाले भन्ने गर्नुभएको उखानै छ । घोकन्ते विद्या, ध्याउन्ते खेती ।”

बुबाबाजेले खेतीपाती गरेको देखेर हुर्कनुभएका उहाँले राजनीतिशास्त्रमा प्रवीणता प्रमाणपत्र तहसम्मको अध्ययन गर्नुभएको छ । तत्कालीन राज्यसत्ताविरुद्ध माओवादीले गरेको सङ्घर्षमा होमिनुभएका उहाँ २०६५ सालमा वैदेशिक रोजगारीमा जानुभयो । “देशमा माओवादी सङ्घर्ष थियो । म पनि त्यसैमा होमिएको थिएँ । विसं २०६२/६३ मा काठमाडौँ केन्द्रित आन्दोलन भयो । त्यहाँ पनि निकै नाराबाजी गरियो”, उहाँले विगत सम्झनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शान्ति वार्तापछि माओवादी सरकारमा गयो । हामी परिवार पाल्नै नसक्ने भएपछि भारतको बाटो हुँदै मलेसिया पुग्यौँ । माओवादी द्वन्द्वबाट आएका ४२ जना एकैपटक मलेसिया अवतरण भएका थियौँ । विदेशको भूमि, हावापानी, रहनसहन, भाषा, वेशभूषा सबै नयाँ । हामीलाई त्यहाँ महिनौँसम्म मार्बल र ढुङ्गा बोकाइयो । निकै कष्ट भयो । सीपबिनाको वैदेशिक रोजगारी पशुले गर्ने सङ्घर्ष हुने उहाँको भनाइ थियो ।

यसरी पाँच वर्ष काम गरेपछि २०७१ सालमा स्वदेश फर्किएँ । विदेशबाट ल्याएको पैसा एउटा घर बनाउनेबित्तिकै सकियो । फेरि दैनिक छाक टार्नै धौधौको अवस्थामा पुगियो । परिवार बिरामी पर्दा छिमेकमा सापटीसमेत पत्याउन छाडे । काम र दुःख सम्झेर विदेश जाने आँट पनि आएन । त्यसपछि छिमेकीको खेत भाडामा लिएर केराखेती सुरु गरेको उहाँले सुनाउनुभयो । त्यसयता उहाँले दुःखलाई फर्किएर हेर्नुपरेको छैन ।

गाउँमा रु पाँच सय कसैले नपत्याउने अवस्थाबाट केराखेतीले सम्मानजनक जीवन दिएको उहाँको कथन छ । पुख्र्यौली सम्पत्तिका नाममा तीन कठ्ठा जग्गा पाउनुभएका उहाँले १० वर्षमा १५ कठ्ठा खेत, दुई ठाउँमा घडेरी जोडेको बताउनुभयो । तीन सन्तानलाई उनीहरूले चाहेअनुसार आजको युग सुहाउँदो शिक्षादीक्षा यसै खेतीको आम्दानीबाट पूरा गरिरहेको उहाँको भनाइ छ ।

उहाँले एक छोरालाई फार्मेसी पढाउनुभएको छ । दुई सन्तान उच्च शिक्षा अध्ययनरत छन् । छोराछोरीलाई आजको समाजमा बाँच्न सक्ने वातावरण तयार गर्न सक्नु नै ठूलो सम्पत्ति आर्जन भएको बताउनुहुन्छ । आफूहरूजस्तो निम्नवर्गीय परिवारका लागि शिक्षा निकै महँगो बन्दै गएको छ । पैत्रिक सम्पत्तिका नाममा तीन कठ्ठा खेत पाउनुभएका उहाँले छिमेकीको एक बिघा खेत भाडामा लिएर केराखेती सुरु गरेको बताउनुभयो ।

उहाँको केराखेती अहिले साढे आठ बिघा पुगिसकेको छ । उहाँले वर्षको प्रतिकठ्ठा रु चार हजार आठ सयदेखि छ हजार पाँच सयसम्म भाडा तिर्नुहुन्छ । केरा रोपेको १२ देखि १४ महिनाबाट उत्पादन दिन सुरु हुन्छ । नौ हजार दुई सय बोट केरा रहेकामा प्राकृतिक प्रकोपमा परेर वर्षमा सय बोटसम्म केरा क्षति हुने गरेको उहाँको भनाइ छ । सुरुमा खनजोत, मलखाद, मजदुर गरी रु २२ लाख लगानी गरेको खेतीबाट १४ महिनामा रु ३१ लाख बढीको केरा बिक्री गर्ने उहाँको भनाइ छ ।

“प्रतिघरीमा ९० देखि एक सय कोसा केरा फल्छ”, उहाँले भन्नुभयो, “मैले मालभोग र नाइन ग्रेड (घ्यू) केराको बोट लगाएको छु । नाइन ग्रेडको घरीमा दुई सय कोसासम्म फल्छ ।” प्रतिकोसा रु ३।५० पैसाका दरले कम्तीमा तीन सय ५० देखि पाँच सयसम्म प्रतिघरी केरा बिक्री हुन्छ । छठ तथा चाडपर्वमा अझै महँगोमा बिक्री हुने उहाँले जानकारी दिनुभयो । यहाँ उत्पादन भएका केरा स्थानीय हरिवन, बरहथवा, नयारोड, सोल्टीलगायत बजारसम्म लैजाने गरिएको छ ।

“बजारको मागअनुसार केरा दिन नसकेको उहाँले सुनाउनुभयो । हप्तामा दुई सय ५० घरीभन्दा धेरै केरा पसलेले माग्नुहुन्छ”, उहाँले भन्नुभयो, “छ–सात बिघामा गरेको खेतीले पुर्याउन गाह्रो छ । थोरैथोरै गरेर दिने गरेको छु ।” पैसासमेत दैनिक पाइने भएपछि खेती गर्न उत्साह थपिने गरेको उहाँ सुनाउनुहुन्छ । किसान बलले केराखेतीमा पाँच जनालाई नियमितजस्तै काम दिने गर्नुभएको छ । पात काट्ने, गोडमेल गर्ने, मलजल गर्ने, केरा काट्नेलगायत काम हुन्छ ।

उहाँ आफैँ पनि नियमित काम गर्ने भएकाले एक जना मजदुरको काम आफैँले भ्याउने गरेको उहाँको भनाइ छ । भारतीय केराका कारण बेलाबेलामा बजारमा समस्या हुने गरेको उहाँले सुनाउनुभयो । भारत सरकारले किसानलाई खेती, लगानी र ढुवानी गरेर ९० प्रतिशतसम्म अनुदान दिएको केरासँग हाम्रो महँगो लगानीको उत्पादनले प्रतिस्पर्धा गर्नुपर्दा समस्या हुने गरेको उहाँले बताउनुभयो ।

राज्यले थोरै राजस्वको लोभमा देशका किसानलाई पेसाबाट पलायन गर्ने नीति सुधार गर्नुपर्ने उहाँको माग छ । स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर अपुग सामानमात्र भित्र्याउनुपर्ने उहाँ बताउनुहुन्छ । खेतमा बिरुवा लगाएर राजनीति गर्ने र कम्मरमा हात लगाएर बस्नेहरूले खेती हुन्न । बजार छैन, कृषि डुब्नका लागि गर्ने हो भन्ने भाष्य सृजना गरेकामा उहाँले दुःख व्यक्त गर्नुभयो । यस्ता भाष्यले समाजमा कृषि कर्मप्रति नै नकारात्मक सोचको विकास गरेकाले युवाहरू यही कृषि कोरिया, जापान, अष्ट्रेलिया गएर गर्न लालायित हुने तर नेपालमा खेत बाँझै हुने अवस्था आएको किसान बलको बुझाइ छ ।

कृषि गर्छु भन्नुभन्दा पनि किसानले आफूले लगाएको बिरुवाको भाषा बुझ्ने गरी अभ्यस्त हुनुपर्ने उहाँ बताउनुहुन्छ । बोटबिरुवासँग बिहान, दिउँसो र बेलुका भेट गर्ने र उनीहरूको कुरा बुझ्नेले मलजल गरेमात्र उत्पादन वृद्धि हुन्छ । उहाँले भन्नुभयो, “उत्पादन बढेपछि मात्र आम्दानी बढ्ने हो । बलले केराखेतीबाट सबै खर्च कटाएर मासिक रु एक लाखसम्म आम्दानी गरिरहेको भन्दै यस पेसाले आफूलाई सन्तुष्टि दिएको प्रतिक्रिया दिनुभयो । कुनै पनि कृषिलाई उन्नत बनाउन राज्यले प्रविधिको उपयोग तथा खेती प्रणालीको विकासमा भने ध्यान दिनुपर्ने उहाँ बताउनुहुन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com