ह्वाइट हाउस ओभल अफिसमा बाझाबाझ, ट्रम्प र भ्यान्सद्वारा जेलेन्स्कीलाई ठूलो स्वरमा गाली


प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार

राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले शुक्रबार युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई ठूलो स्वरमा गाली गरेका छन् जुन आधुनिक समयमा अमेरिकी राष्ट्रपति र विदेशी नेताबीच ओभल अफिसमा देखिएको र टेलिभिजनमा प्रशारण पहिलो विष्फोटक बाझाबाझ थियो ।

ट्रम्प र भान्सले जेलेन्स्कीलाई रुससँगको युद्धमा अमेरिकी समर्थनको लागि पर्याप्त कृतज्ञ नभएकोमा आलोचना गरेका छन् । उनीहरुले अमेरिकाको जुनसुकै शर्तमा शान्ति सम्झौता गर्न जेलेन्स्कीलाई पार्न खोजेका थिए । आवाज चर्को बन्दै गएपछि र आक्रोश बढ्दै गएपछि ट्रम्पले जेलेन्स्कीद्वारा भने अनुशार नगरिए युक्रेनलाई पूर्ण रूपमा त्याग्ने धम्की दिएका थिए ।

जेलेन्स्कीले ओभल अफिसमा आएर अमेरिकी समाचार मिडियाको अगाडि आफ्नो मुद्दा राख्नु तथा अपमानजनक भएको भान्सले बताए । ट्रम्प आवेशमा आएर जेलेन्स्कीलाई वास्तवमै राम्रो स्थितिमा नभएको र तेश्रो विश्व युद्धसँग जुवा खेल्दै गरेको आरोप लगाए ।

टेलिभिजन क्यामेराको अगाडिको यो दृश्य ओभल अफिसमा सार्वजनिक रूपमा सबैभन्दा नाटकीय क्षणहरू मध्ये एक थियो । जसले ट्रम्पले पदभार ग्रहण गरेदेखि अमेरिका र युक्रेन बीचको कट्टरपन्थी विभाजनलाई देखाएको छ । ट्रम्पले युक्रेनलाई युद्ध सुरु गरेकोमा झूटो आरोप लगाउँदै र जेलेन्स्कीलाई तानाशाह भन्दै रूसलाई प्रभावकारी रूपमा साथ दिएका छन्।

जेलेन्स्कीले हतारमा शुक्रबार वाशिंगटनको भ्रमण गर्नुको उद्देश्य ट्रम्पले माग गरेको एक सम्झौतामा दरारलाई सहज बनाउन र टुंगो लगाउनका लागि थियो । जसमा युक्रेनले राष्ट्रपति बाइडेन र संसदले प्रदान गरेको सैन्य सहायता फिर्ता गर्न कैयन बिलियन डलरको खनिज अधिकार हस्तान्तरण गर्ने थियो।

ट्रम्पले बिहीबार पत्रकारहरूलाई तानाशाहको टिप्पणी गरेको कुरा आफूलाई याद नभएको भन्दै र युक्रेनी नेताप्रति सम्मान व्यक्त गर्दै जेलेन्स्कीसँग राम्रो व्यवहार गर्न तयार देखिन्थे। उनले श्री जेलेन्स्कीलाई शुक्रबार बिहान वेस्ट विंगको ढोकामा सम्मान गार्डको साथ स्वागत गरेका थिए । उनीहरूले विनम्रतापूर्वक हात मिलाएपनि न्यानोपन नभएको प्रष्ट देखिन्थ्यो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यद्यपि उनीहरू पत्रकारहरूको उपस्थितिमा ओभल अफिसमा बसेको केही समयपछि मुठभेड तुरुन्तै शत्रुतापूर्ण भयो। जेलेन्स्कीले रुससँगको युद्धको इतिहासलाई व्याख्या गर्न खोजेका थिए । मस्कोले पहिलो पटक २०१४ मा क्रिमिया र पूर्वी युक्रेनको क्षेत्र कब्जा गरेको उनले बताएका थिए ।

तर भान्सले तीव्र रूपमा अवरोध गरेका थिए । जेलेन्स्कीले युक्रेनमा जनशक्ति अभावको बारेमा भान्सको भनाइको जवाफ दिने प्रयास गर्दै अमेरिकाले कुनै दिन रूसबाट खतरा महसुस गर्नसक्ने बताएका थिए । रुस र अमेरिकाको बीचमा अहिले राम्र्रो समुद्र भएकाले त्यो खतरा अहिले महसुस नगरेपनि भविष्यमा महसुस गर्ने जेलेन्स्कीले बताएका थिए । जेलेन्स्कीको यो भनाईबाट ट्रम्प उत्तेजित भए । आफूहरुले के महसुस गर्ने भन्ने कुरा नभन्न भन्दै ट्रम्पले जेलेन्स्कीलाई अवरोध गरेका थिए ।

ओभल अफिसमा बाझाबाझ पछि राष्ट्रपति ट्रम्पले  एक विज्ञप्ति जारी गर्दै उनी र जेलेन्स्कीको धेरै अर्थपूर्ण बैठक भएको बताएका छन् । तर उनले अमेरिका संलग्न भएमा युक्रेनी नेता शान्तिको लागि तयार नभएको निर्धारण गरेका थिए। जेलेन्स्की शान्तिको लागि तयार भएपछि फर्केर आउन सक्ने टम्पले बताएका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com