परिवार पाल्न १५ वर्षदेखि एउटा खुट्टाको सहाराले साइकलमा पाउरोटी बेच्दै आएका छन् विकिन्द्र


प्रकाशित मिति : २८ माघ २०८१, सोमबार

एउटा खुट्टाले दैनिक २० किलोमिटरसम्म साइकल चलाएर परिवारको गर्जो टारिरहेको सुन्दा अनौठो लाग्छ तर सर्लाहीका एक व्यक्तिको दैनिकी यसरी नै बितिरहेको छ । त्यो पनि विगत १५ वर्षदेखि । यी व्यक्ति हुन्, चन्द्रनगर गाउँपालिका–५, मोहनपुरका विकिन्द्र सिंह ।

उमेरले ३५ वर्ष लागेका उनी विगत १५ वर्षदेखि एउटा खुट्टाको सहारामा साइकलमा पाउरोटी बेच्छन् । करिब ५०/६० किलोग्राम पाउरोटी राखेर हरेक दिन गाउँका पसल तथा घरघरमा पुर्याउन्छन् ।

उनको दायाँ खुट्टा पोलियोका कारण जन्मजात काम नलाग्ने भएको थियो । त्यो देखेर परिवार र समाजका मान्छेले पनि अब बोझ हुने भयो भनेर कुरा काट्नै हिँड्ने गरेका थिए । तर, उनले हिम्मत हारेनन्, बरु सबैका अगाडि उदाहरणीय बनेर देखाएका छन् । बायाँ खुट्टाको सहाराले पाउरोटी बेचेर छ जना परिवारको पालनपोषणको जिम्मेवारी सम्हालिरहेका छन् ।

सिंहले गाउँकै स्कुलमा कक्षा पाँचसम्म अध्ययन गरेका छन् । तर, आर्थिक अभावका कारण त्योभन्दा बढी पढ्ने अवस्था भएन । विपन्न माझी समुदायका सिंह परिवारलाई दैनिक हातमुख जोर्न पनि धौधौ थियो । पेट पाल्न दैनिक मजदुरी गर्नुबाहेक अर्को उपाय थिएन यो परिवारसँग । बुबाआमाको मजदुरीबाट परिवारको छाक नटरेपछि पढाइलाई निरन्तरता दिन नसकिएको उनको भनाइ छ । “त्यसैले आफ्नो र परिवारका लागि केही गर्नुपर्छ भनेर १३ वर्षकै उमेरमा देश छोडेर भारतको दिल्ली पुग्नुपर्यो । त्यहाँ छ महिनासम्म साडीमा बुट्टा बनाउने काम सिक्न लागेकै बेला सिलाइकटाइ सिक्न भारतकै लुधियाना पुगेँ । त्यो कामसमेत चित्त नबुझेपछि वर्ष दिन घुमेर फेरि घर आइपुगेँ”, सिंहले भने ।

घर त फर्किइयो तर काम थिएन । घरको जेठो दाजु छुट्टिएर अलग्गै बसेपछि परिवारको सबै जिम्मा सिंहको काँधमा आयो । त्यसपछि नै हो सिकेन्द्रलाई एउटै खुट्टा र साइकल चलाउने सीपले हिम्मत दिएको । “सुरूमा के गर्ने भन्ने अन्योल भयो । एउटै खुट्टाले साइकल कुदाउने गरेको थिए । त्यसै सीपलाई प्रयोग गरेर पाउरोटी बेच्ने हिम्मत जुटाएको हुँ । अहिले त यसैमा अभ्यस्त बनिसके”, उनले सुनाए । पाउरोटी बेचेर सिंहले १२ वर्षीया छोरी, १० वर्षीय छोरा, आमा, बुबा, श्रीमती र आफ्नो सबै खर्च धानेको बताए ।

जिल्लाको पूर्वपश्चिम राजमार्गस्थित नवलपुरमा रहेको पाउरोटी उद्योगको गाडीले बिहान ५ बजे उनको घरमा पाउरोटी पु¥याइदिन्छ । त्यसपछि सुरू हुन्छ सिंहको दैनिकी । दैनिक बिहान ५ बजेबाट ११ बजेसम्म २० किलोमिटरसम्म यात्रा गरेर उनी चारदेखि पाँच हजारको पाउरोटी बेच्छन् । त्यसबाट दैनिक आठदेखि नौ सय कमाउने गरेको उनले सुनाए ।

“मेहनतअनुसार महिनाको रु २४ देखि २७ हजारसम्म आम्दानी गरिरहेको छु । घर परिवार राम्रोसँग चलिरहेको छ । पाउरोटी बेच्न थालेपछि दैनिक छाक टार्ने चिन्ता छैन”, सिंहले भने । पछिल्लो समय पाउरोटी बोक्ने बाकसमा प्वाल र साइकसमेत पुरानो भएपछि चिन्तामा परेका सिंहलाई एक जना व्यक्तिले सहयोग गरेपछि थप उत्साहित भएर काम गर्ने जाँगर आएको छ ।

आफूजस्ता विपन्न तथा शारीरिक रूपमा अशक्त व्यक्तिलाई स्थानीय सरकारले भने कुनै सहयोग नगरेको उनको गुनासो छ । सिंह भन्छन्, “मनकारी व्यक्तिले नयाँ साइकल र बाकस दिए तर अब उमेर बढ्दै जाँदा समस्या पनि थपिँदै गएको छ । कसैले तीनपाङ्ग्रे स्कुटर दिए त धेरै सजिलो हुने थियो । सजिलोसँग व्यापार गर्थे । आफूले कमाएको पैसा परिवारको दैनिक आवश्यकतामै खर्च हुन्छ, किन्ने अवस्था छैन ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्थानीय फरक क्षमता भएका युवा शिवनाथ कहर अशक्त भएर पनि केही गर्ने जाँगर भएका युवालाई स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताउँछन् ।

विकिन्द्रजस्ता अन्य व्यक्तिले समस्या देखाएर मागेर खानुपरेका कैयन उदाहरण हाम्रै वरिपरि छन् । उनले भने आफ्नो मात्रै होइन छ जना परिवारको लालनपालनका लागि सङ्घर्ष गरिरहेका छन् । यस्ता व्यक्तिलाई तीनै तहका सरकारले विशेष सहयोग गरी थप प्रोत्साहन गर्नुपर्ने नागरिक समाजका अगुवा शिवचन्द्र चौधरीको भनाइ छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com