मेक्सिको, क्यानडा र चीनबाट आउने सामानमा २५ प्रतिशतसम्म शुल्क, अमेरिकामा सामानको मूल्य बढ्ने


प्रकाशित मिति : माघ १९, २०८१ शनिबार

राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार फ्लोरिडाको मार ए लागो क्लबमा मेक्सिको, क्यानडा र चीनबाट आउने सामानमा असाधारण नयाँ शुल्क लगाउने नीतिमा हस्ताक्षर गर्दै धेरै अघि प्रतिज्ञा गरिएको आर्थिक नीति लागू गरेका छन्। ट्रम्प प्रशासनले शुल्क लागू गर्ने उद्देश्य लागू औषध तथा अवैध आप्रवासीहरूको अमेरिका प्रवेश रोक्नु भएको दाबी गरेको छ। यद्यपि, यसले अमेरिकी उपभोक्ताहरूलाई दैनिक उपभोग्य वस्तुहरूमा मूल्यवृद्धि हुने जोखिम निम्त्याउने सम्भावना छ।

यो नयाँ नीतिलाई तीन उत्तर अमेरिकी देश बीचको लामो समयदेखि रहेको शुल्कमुक्त व्यापार प्रणालीको अन्त्य तथा चीन र अमेरिका बीचको व्यापार युद्धको थप विस्तारका रुपमा हेरिएको छ । ट्रम्पले पछिल्लो केही महिनादेखि वाचा गरेअनुसार मेक्सिकोबाट आउने सबै आयात तथा क्यानडाबाट आउने अधिकांश वस्तुहरूमा २५ प्रतिशत शुल्क र चीनबाट आउने सामानहरूमा अतिरिक्त १० प्रतिशत शुल्क लागू हुनेछ। यो शुल्क कहिले हटाइने भन्ने कुनै निश्चित मापदण्ड तोकिएको छैन।

यी शुल्कहरुले मेक्सिको, क्यानडा र चीनबाट कडा प्रतिरोध निम्त्याउने सम्भावना छ, जसले ती देशहरूको साथै अमेरिकी अर्थतन्त्रलाई पनि नोक्सान पुर्‍याउन सक्छ। सो कुरालाई ध्यानमा राख्दै ट्रम्पको कार्यकारी आदेशमा कुनै देशले अमेरिकामाथि नयाँ शुल्क लगाएमा ट्रम्प प्रशासनले झन् कडा शुल्क लगाउन सक्ने प्रावधान राखिएको ।

क्यानडाबाट आयात हुने उर्जा स्रोतहरूका लागि भने विशेष छुट दिइएको छ, जसअनुसार तिनीहरूमा १० प्रतिशतमात्र शुल्क लाग्नेछ। अमेरिकीहरू ठूलो मात्रामा क्यानडाबाट तेल, बिजुली र प्राकृतिक ग्यास आयात गर्ने भएकाले यी शुल्कले इन्धन तथा घर तातो बनाउन आवश्यक स्रोतहरूको मूल्यवृद्धि गर्ने सम्भावना छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यी शुल्कहरु लागू गर्न ट्रम्पले अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक अधिकार ऐन अन्तर्गत राष्ट्रिय आर्थिक संकटकाल घोषणा गरेका छन्। यो ऐनअन्तर्गत कुनै पनि राष्ट्रपतिले राष्ट्रिय संकटकालको समयमा आयात नियन्त्रण गर्न सक्ने अधिकार प्राप्त गर्छन्। नयाँ शुल्कहरु मंगलबार बिहान १२ बजेर १ मिनेटपछि लागू हुनेछ।

यी शुल्कले नयाँ वैश्विक व्यापार युद्धको सुरुवात हुन सक्नेछ, जसमा मेक्सिको, क्यानडा र चीनले अमेरिकाबाट आयात हुने सामानमा उच्च शुल्क लगाएर प्रतिरोध गर्न सक्छन्। यस्तो अवस्थामा आपूर्ति श्रृंखलामा समस्या आउन सक्छ, वस्तुहरूको मूल्य अत्यधिक बढ्न सक्छ र रोजगारी गुम्ने जोखिम पनि रहन्छ। शनिबार पत्रकारहरूसँगको कुराकानीमा ट्रम्प प्रशासनका एक अधिकारीले यदि कुनै देशले प्रतिरोध स्वरूप अमेरिकालाई शुल्क लगायो भने त्यो देशका लागि झन् कडा शुल्क लगाइने बताएका छन् । ट्रम्प स्वयंले पनि शुल्कले अमेरिकी उपभोक्ताहरूलाई असर गर्न सक्ने स्वीकार गरेका छन्।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले यदि अमेरिकाले शुल्क लगायो भने क्यानडाले तुरुन्तै प्रतिकार गर्ने पहिले नै चेतावनी दिइसकेका थिए । क्यानडाका व्यापार प्रतिनिधिहरूले गत शुक्रबार ट्रम्प प्रशासनका अधिकारीहरूसँग भेटेर शुल्क टार्ने प्रयास गरेका थिए।

शुल्क नीति ट्रम्पको दशकौंदेखि स्थिर रूपमा समर्थन गरिरहेको केही नीति मध्ये एक हो। सन् २०२३ मा पहिलो पटक चीनलाई उछिन्दै मेक्सिकोले अमेरिकामा सबैभन्दा धेरै निर्यात गर्ने मुलुक बनेको थियो। ट्रम्पको पहिलो प्रशासनमा लागू गरिएको शुल्क नीतिलाई बाइडेन प्रशासनले पनि जस्ताको तस्तै कायम राखेको थियो, त्यसले अमेरिका र चीनबीचको व्यापार घटाएको थियो।

गत वर्ष मेक्सिकोले अमेरिका निर्यात गर्ने शीर्ष मुलुकको स्थान कायम राख्यो, जुन ४६७ बिलियन डलरको व्यापार थियो। चीन र क्यानडाले क्रमशः ४०१ बिलियन र ३७७ बिलियनको वस्तु अमेरिका निर्यात गरेका थिए। यी तीन देशहरू मिलेर अमेरिका विश्वभरबाट आयात गर्ने कुल ३ ट्रिलियनको ४२ प्रतिशत प्रतिनिधित्व गर्छन्।

त्यसैगरी अमेरिकाले सबैभन्दा बढी सामान निर्यात गर्ने शीर्ष मुलुकमा क्यानडा पहिलो थियो, जसले ३२२ बिलियन डलरको अमेरिकी वस्तु खरिद गरेको थियो । मेक्सिको र चीनले क्रमशः ३०९ बिलियन र १३१ बिलियन बराबरको अमेरिकी वस्तु आयात गरे। यी तीन देशहरूमा अमेरिकाले निर्यात गर्ने कुल १ दशमलव ९ ट्रिलियनको ४० प्रतिशत हिस्सा थियो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com