अमेरिकालाई विश्व स्वास्थ्य संगठनबाट हटाउने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर


प्रकाशित मिति : माघ ७, २०८१ सोमबार

राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार अमेरिकालाई विश्व स्वास्थ्य संगठनबाट हटाउने निर्णय गरेका छन्। यस कदमले अमेरिकाको अन्तर्राष्ट्रिय स्वास्थ्य नेतृत्वलाई कमजोर बनाउनेछ र भावी महामारी नियन्त्रण गर्न कठिन बनाउने स्वास्थ्य विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।

यद्यपी यो निर्णय अप्रत्याशित भने थिएन। ट्रम्पले सन् २०२० देखि नै विश्व स्वास्थ्य संगठनको आलोचना गर्दै आएका थिए । विशेषगरी कोरोनाभाइरस महामारीको प्रारम्भिक व्यवस्थापनलाई लिएर उनले चर्को आलोचना गरेका थिए । उनले त्यतिबेला नै अमेरिकाको आर्थिक सहयोग रोक्ने धम्की दिएका थिए, तर सन् २०२० को निर्वाचनमा पराजित भएपछि त्यो कार्यान्वयन भएन।

अमेरिकाले विश्व स्वास्थ्य संगठन छोडेपछि अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र सीडीसीले उक्त संगठनद्वारा प्रदान गरिने विश्वव्यापी स्वास्थ्य डाटामा पहुँच पाउने छैन। सन् २०२० मा चीनले कोभिड १९ को जिनेटिक अनुक्रम विश्व स्वास्थ्य संगठनलाई उपलब्ध गराएको थियो, जसले अन्य राष्ट्रहरूसँग यो सूचना साझा गर्यो।

हालैका वर्षहरूमा विश्व स्वास्थ्य संगठन एक विवादास्पद विषय बनेको छ, विशेषगरी महामारीको तयारीलाई बलियो बनाउन प्रस्ताव गरिएको “महामारी सन्धि” का कारण विवादास्पद बनेको हो । यस सन्धिले सदस्य राष्ट्रहरूलाई रोगहरूको निगरानी, रोग प्रकोपसम्बन्धी डेटा छिटो साझेदारी र खोप तथा उपचारका लागि स्थानीय उत्पादन तथा आपूर्ति प्रणाली निर्माण गर्न कानूनी रूपमा बाध्य पार्ने प्रस्ताव गरेको थियो। तर, सन्धिका विषयमा वार्ता गत वर्ष टुटेको थियो, र केही रिपब्लिकन सांसदहरूले यसलाई अमेरिकी सार्वभौमिकतामाथिको खतरा भन्दै आलोचना गरेका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जर्जटाउन विश्वविद्यालयका सार्वजनिक स्वास्थ्य कानून विशेषज्ञ तथा उक्त सन्धिका वार्ताकार लरेन्स गोस्टिनले अमेरिकाको विश्व स्वास्थ्य संगठनबाट हट्ने निर्णय सार्वजनिक स्वास्थ्यका लागि गम्भीर चोट हुने बताएका छन् । अझ गहिरो चोट अमेरिकी राष्ट्रिय हित र राष्ट्रिय सुरक्षामा पर्ने उनको भनाई छ ।

सन् १९४८ मा संयुक्त राष्ट्रसंघ अन्तर्गत स्थापना भएको विश्व स्वास्थ्य संगठनको उद्देश्य विश्वव्यापी स्वास्थ्य चुनौतीहरूको सामना गर्नु र जनताको स्वास्थ्य सुधार गर्नु हो। यस संस्थाले गाजाजस्ता युद्ध प्रभावित क्षेत्रहरूमा स्वास्थ्य सहायता लैजाने, जिका, इबोला, र कोभिड १९ जस्ता महामारीहरूको निगरानी गर्ने कार्य गर्दछ। विश्व स्वास्थ्य संगठनको वार्षिक बजेट करिब ६ दशमलव ८ बिलियन डलर छ, जसमा अमेरिकाले अहिलेसम्म ठुलो अंश योगदान गर्दै आएको थियो।

अमेरिकालाई विश्व स्वास्थ्य संगठनबाट पूर्ण रूपमा हट्न भने केही समय लाग्नेछ। विश्व स्वास्थ्य संगठन स्थापनाका क्रममा अमेरिकी संसदले पारित गरेको एक संयुक्त प्रस्तावअनुसार कुनै पनि सदस्य राष्ट्रले संगठनबाट हट्न कम्तिमा एक वर्षको पूर्वसूचना दिनु पर्नेछ र त्यही वर्षको वित्तीय दायित्व पूरा गर्नु पर्नेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com