टेक्सासमा उड्न लागेको विमानमा गोली प्रहार, विमानमा सवार सबै ९९ जना सकुशल


प्रकाशित मिति : १ मंसिर २०८१, शनिबार

blue and red Southwest airliner

Photo by Miguel Ángel Sanz

टेक्सासको विमानस्थलमा उड्न लागेको विमानमा गोली प्रहार भएको छ । डालास लभ फील्ड विमानस्थलमा उड्न तयारी गर्दै गरेको साउथवेस्ट एयरलाइन्सको यात्रुबाहक विमानलाई गोली लागेको हो ।

फ्लाइट २४९४ इन्डियानापोलिस जानको लागि उडान तयारीमा रहेको बेला विमानको दाहिने भागमा ककपिट मुनि गोली लागेको साउथवेस्टका प्रवक्ताले बताएका छन् । विमानमा रहेका यात्रुहरूलाई कुनै चोटपटक नलागेको र विमानलाई गेटमा फिर्ता ल्याएर यात्रुहरूलाई ओरालिएको जनाइएको छ ।

घटनापछि विमानस्थलको रनवे केही समयको लागि बन्द गरिएको थियो । तर पछि फेरि खोलिएको थियो । प्रहरीले शुक्रबार राति भएको यस घटनाको अनुसन्धान गरिरहेको छ।

स्थानीय समय अनुसार राति ९ बजेर ४८ मिनेटमा गोली चलेको खबर पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । घटनास्थलमा प्रहरी पुग्दा विमानलाई गोली लागेको देखिएको थियो।

फेडेरल एभिएसन एड्मिनिस्ट्रेसनले पनि एक विज्ञप्तिमा विमानको ककपिट नजिक गोली लागेको पुष्टि गरेको छ। घटनाका कारणबारे औपचारिक जानकारी बाहिर आएको छैन तर प्रहरीले यो गोली प्रहार संयोगवश भएको मानेको छ।

घटनाका बेला विमानमा ९९ जना सवार थिए। साउथवेस्ट एयरलाइन्सले सबै यात्रुहरूलाई अर्को उडानमा समायोजन गरिने बताएको थियो ।

यसै साता हैटीको राजधानी पोर्ट औ प्रिन्समा अवतरण र उडान गर्दै गरेका तीन विमानहरूमा पनि गोली लागेको थियो । यी घटनाहरूपछि फेडेरल एभिएसन एड्मिनिस्ट्रेसनले अमेरिकाका एयरलाइन्सलाई हैटी जाने उडानमा ३० दिनको प्रतिबन्ध लगाएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com