घूसखोरी र जालसाजीको अभियोगहरु लागेका न्युयोर्क सिटीका मेयर एरिक आडम्स अदालतमा उपस्थित


प्रकाशित मिति : आश्विन ११, २०८१ शुक्रबार

New York City mayor Eric Adams arrives at Manhattan federal court, Friday, Sept. 27, 2024, in New York. (AP Photo/Yuki Iwamura)

घूसखोरी र जालसाजीको अभियोगहरु लागेका न्युयोर्क सिटीका मेयर एरिक आडम्सलाई शुक्रबार अदालतमा उपस्थित गराइएको छ । उनी तल्लो म्यानहट्टनको अदालतमा शुक्रबार बिहान उपस्थीत भएका छन् । आडम्सलाई टर्कीलाई सहयोग गर्न आफ्नो राजनीतिक प्रभाव प्रयोग गरेको बदलामा १ लाख डलर बढी अवैध उपहार स्वीकार गरेको आरोप छ।

एरिक आडम्स बिहान ९ बजेभन्दा केही समय अगाडि पर्ल स्ट्रिटमा रहेको अदालत परिसरमा पुगेका थिए । पछि संघीय मजिस्ट्रेट न्यायाधीश समक्ष मध्यान्ह हाजिर हुनको लागि २६ औं तल्लाको अदालतमा प्रवेश गरेका थिए । उनी मजिस्ट्रेट न्यायाधीश क्याथरिन पार्कर समक्ष उपस्थित भएका छन्।

 

न्युयोर्क सिटीका मेयर एरिक एडम्सविरुद्ध संघीय अभियोग लगाइएपछि अदालतमा उपस्थित हुन शुक्रबार विहान अदालतमा जाँदै । (तस्बिर: तिमोथी क्लेरे /एएफपी)

सामान्यतया म्यानहट्टन संघीय अदालतमा प्रतिवादीहरू पहिलो पटक मजिस्ट्रेट न्यायाधीशसामु उपस्थित हुन्छन्। आजीवन कार्यकाल भएका र राष्ट्रपतिबाट नियुक्त हुने जिल्ला न्यायाधीशहरूभन्दा फरक रहेका मजिस्ट्रेट न्यायाधीशहरू अदालतका न्यायाधीशहरूले ८ वर्षको अवधिका लागि नियुक्त गर्छन्। मुद्दामा छलफल गर्नका लागि न्यायाधिससमक्ष सुनुवाई बुधबार विहानका लागि तय गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

आडम्स विरुद्धको अभियोगमा घुसखोरी षड्यन्त्र, जालसाजी र चुनावी अभियानमा अवैध रुपमा विदेशी चन्दा मागेको लगायत समावेश छ। उनीमाथि आफ्नो चुनावी अभियानको लागि म्याच फण्ड प्राप्त गर्न नक्कली डोनरहरु खडा गरेको आरोप पनि लगाइएको छ । संघीय कानूनले अमेरिकी उम्मेद्वारहरूलाई विदेशी चन्दा माग्न वा प्राप्त गर्न निषेध गर्छ। सिटीको म्याट फण्ड कार्यक्रमले सिमाटीका बासिन्दाको दानमा २५० डलरसम्म दान दिनेको रकममा आठगुणा म्याच गर्छ । आडम्सले म्याच फण्डबाट १० मिलियन डलरभन्दा बढी प्राप्त गरेका थिए ।

आडम्सविरुद्धको अभियोग बिहीबार बिहान अनसिल गरिएको थियो । आडम्सले आफूले पाएका फाइदाहरू लुकाउन खोजेको अभियोगमा उल्लेख छ । धेरै छुट दिइएको यात्राको लागि भुक्तान गरेको जस्तो देखिन नाममात्रको शुल्क तिरेको र अवैध गतिविधिहरू लुकाएको अभियोगमा उल्लेख छ । गैरकानूनी गतिविधिमा संलग्न अन्यहरूसँगका सन्देशहरू मेटाएको तथा गैरकानूनी गतिविधिमा संलग्न एकजनालाई आफूले सधै सन्देशहरु मेटाएको आश्वासन सन्देशबाट दिएको समेत अभियोगमा उल्लेख छ ।

सन् २०२१ देखि अनुसन्धानकर्ताहरूले मेयर आडम्स र उनको अभियानले गैरकानूनी विदेशी चन्दा प्राप्त गर्न टर्की सरकारसँग मिलेमतो गरेको छ कि छैन भन्नेमा अनुसन्धान केन्द्रित गरेका थिए । साथै मेयर आडम्सले सुरक्षा चिन्ताहरूको बावजुद म्यानह्याटनमा टर्की सरकारको लागि उच्चस्तरीय भवन खोल्न दबाब दिएका हुन् कि होइन भन्ने कुरामा पनि अनुसन्धान गरिएको थियो ।

आडसम्ले ब्रुकलिन बरो प्रेसिडेन्ट हुँदादेखि नै कम्तिमा एक दशकको लागि अनुचित बहुमूल्य लाभहरू खोजेको र स्वीकार गरेको अभियोजकहरुको अभियोग रहेको छ । यस अगाडि संघीय एजेन्टहरूले बिहीबार बिहान न्युयोर्कका मेयर एरिक आडम्सको आधिकारिक निवासमा छापा मारेका थिए ।

बिहीबार बिहान ६ बजेतिर लगभग दर्जनजति संघीय अधिकारीहरु व्यवसायिक पोशाकमा एसयूभीमा चढेर मेयरको सरकारी निवास ग्रेसी म्यान्सनको प्रवेशद्वारमा पुगेका थिए । मेयर आडम्सका कानूनी प्रतिनिधि एलेक्स स्पाइरोले बिहीबार विज्ञप्ति जारी गर्दै एजेन्टहरू मेयरको फोन लिन आएको बताएका थिए ।

मेयर आडम्सले आफू निर्दोष रहेको दावी गरेका छन् । अभियोग संघीय एजेन्टहरूले मेयर आडम्सका मुख्य चुनावी दाताका घरमा खानतलासी गरेको र म्यानहट्टनमा सार्वजनिक कार्यक्रम पछि मेयरको इलेक्ट्रोनिक उपकरणहरू जफत गरेको एक वर्ष भन्दा कम समयमा आएको हो ।

मेयर र उनका सहयोगीहरूले आफूले अधिकारीहरूसँग समन्वय गरिरहेको बताएका छन् । एरिक आडम्स सन् २०२१ मा न्युयोर्कका ११० मेयर निर्वाचित भएका थिए । उनी राष्ट्रको सबैभन्दा ठूलो शहर न्युयोर्कको नेतृत्व गर्ने दोस्रो अश्वेत व्यक्तिको रूपमा निर्वाचित भएका थिए ।

मेयर आडम्सको भित्री सर्कल संघीय अनुसन्धानले घेरिएको छ । उक्त अनुसन्धानले सिटीका उच्च पदस्थहरूलाई लक्षित गरेको छ। यस महिनाको सुरुमा संघीय एजेन्टहरूले आडम्सका शीर्ष सहयोगी, स्कूलका चान्सलर र प्रहरी आयुक्तलगायत धेरै शीर्ष अधिकारीहरूबाट फोनहरू जफत गरेका थिए । स्कूलका चान्सलर र प्रहरी आयुक्तले पछि राजीनामा दिएका थिए ।

अभियोगले आडम्सको मेयरको रूपमा सेवा गर्ने क्षमताको बारेमा तत्काल प्रश्नहरू खडा गरेको छ भने उनलाई पद छोड्नको लागि बढ्दो दबाब थपिएको छ । उनलाई पदबाट हटाउने अधिकार गभर्नर क्याथी होकुलसँग छ।

धेरै संघीय भ्रष्टाचार अनुसन्धानहरू आडम्स वरपरका शीर्ष व्यक्तिहरूसमक्ष पुगेको छन् । उनको प्रशासनमा केही उच्च पदाधिकारीहरू छानबिनको दायरामा आएका छन्। सघीय अनुसन्धान र अभियोगका कारण अर्को वर्ष उनको पुन निर्वाचित हुने सम्भावना र अन्य राजनीतिक नेताहरूसँग संलग्न हुने क्षमतामा शंका उत्पन्न गरेको छ ।

अभियोगसँगै मेयर आडम्सको राजिनामाको माग चौतर्फी बढेको छ । प्रतिनिधिसभासदस्य अलेक्जान्ड्रिया ओकासियो कोर्टेजदेखि सिटी कम्पट्रोलर बार्ड ल्याण्डरसम्मले राजिनामाको माग गरेका छन् । राज्य सिनेटर जेलनोर मायरीले एडम्सलाई राजीनामा दिन आह्वान गरेका छन् ।  मेयरका लागि चुनावी दौडमा रहेका पूर्व कम्पट्रोलर स्कट एम स्ट्रिङरले पनि एरिक आडसम्लाई राजीनामा दिन आह्वान गरेका छन् । त्यस्तै न्युयोर्क राज्यका सिनेटर जोन लिउ आडम्सलाई तुरुन्तै राजीनामा दिन आग्रह गरेका छन् । राजिनामा माग गर्नेको सुची निकै लामो भइसकेको छ ।

मेयर एरिक एडम्सले हालैका दिनहरूमा आफूले राजीनामा नगर्ने कुरामा जोड दिएका छन्। यदि उनले आफ्नो मन परिवर्तन गरेमा पब्लिक एड्भोकेट जुमाने विलियम्स कार्यवाहक मेयर बन्नेछन् र विशेष चुनावको लागि मिति तय गर्नेछन्।

विलियम्स ब्रुकलिनका एक प्रगतिशील डेमोक्र्याट हुन् । उनले २०१९ मा विशेष चुनाव जितेर पब्लिक एड्भोकेटका रूपमा सेवा गरेका छन्। उनी सन् २०२१ मा पूर्ण कार्यकालका लागि पुन निर्वाचित भएका थिए भने अर्को वर्ष गभर्नरको लागि उम्मेदबारी दिएपनि असफल भएका थिए ।

विलियम्स मेयर आडम्सका कडा आलोचक समेत भएका छन् । उनले मेयरको नीतिविरुद्ध आक्रमण गर्दै र शहरको जेलमा एकान्त कारावास अन्त्य गर्न दबाब दिएका थिए । विलियम्सले पनि संघीय अनुसन्धानको बीचमा मेयर आडम्सको शासन गर्ने क्षमतामा पनि शंका व्यक्त गरेका छन्।

मेयर बनेको तीन दिन भित्र विलियम्सले नयाँ मेयर छनोट गर्न विशेष चुनावको लागि मिति घोषणा गर्नुपर्नेछ । जसअनुशार ९० दिनभित्र निर्वाचन हुनसक्छ । सिटीको नयाँ र्यांक च्वाइस मतदान प्रणाली प्रयोग गरेर नै चुनाव गरिनेछ ।

यसअघि कुनै पनि पब्लिक एड्भोकेट कार्यवाहक मेयर बनेका छैनन् । केवल दुई मेयरले सन् १९५० र १९३२ मा राजीनामा दिएका थिए । दुबैले भ्रष्टाचार काण्ड पछि राजिनामा दिएका थिए । पब्लिक एड्भोकेटको कार्यालय १९९३ मा सिर्जना गरिएको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com