कीर्तिमानी मतदानका साथ रुसको चुनावमा भारी मतले पुटिन विजयी, विपक्षीले ल्याए ४ प्रतिशत मत
प्रकाशित मिति : चैत्र ४, २०८० आईतबार
(240316) — MOSCOW, March 16, 2024 (Xinhua) — Russian President Vladimir Putin votes during Russia’s presidential election on March 15, 2024. Russia’s eighth presidential election began on Friday and will continue until Sunday. (Russia’s presidential press service/Handout via Xinhua)
rराष्ट्रपति भ्लादिमिर पुटिनले आइतवारको रूसको चुनावमा सोभियत पछिको कीर्तिमानी जित हासिल गरेका छन् । यो जीतपछि सत्तामा आफ्नो पकड बलियो बनाउदै उनले आफ्नो एकल शासन विस्तार गर्ने भएका छन् । यद्यपी हजारौं विपक्षीहरूले मतदान केन्द्रहरूमा दिउँसो विरोध प्रदर्शन गरेका छन् भने अमेरिकाले मतदान स्वतन्त्र र निष्पक्ष दुबै नभएको बताएको छ ।
सन् १९९९ मा पहिलो पटक सत्तामा आएका केजीबीका पूर्व लेफ्टिनेन्ट कर्णेल पुटिनका पक्षमा रहेको यो नतिजाले अब पश्चिमी देशका नेताहरूले युद्धमा होस् वा शान्तिमा, आउने धेरै वर्षहरूका लागि पुटिनको सामना गर्नुपर्ने स्पष्ट पारेको छ । प्रारम्भिक नतिजाको अर्थ ७१ वर्षीय पुटिनले अब सजिलैसँग छ वर्षको नयाँ कार्यकाल पाउनेछन् । योसँगै उनले २ सय बर्षको इतिहासमा सबैभन्दा लामो समय शासन गर्ने नेतामा जोसेफ स्टालिनलाई पनि उछिन्नेछन् ।

पब्लिक ओपिनियन फाउन्डेसनको पोलस्टरले गरेको एक्जिट पोल अनुसार पुटिनले ८७ दशमलव ८ प्रतिशत भोट प्राप्त गरेका छन् । जुन सोभियत संघपछिको रुसको इतिहासमा अहिलेसम्मकै उच्च परिणाम हो। रुसी पब्लिक ओपिनियन रिसर्च सेन्टरले पुटिनलाई ८७ प्रतिशत मत दिएको छ । प्रारम्भिक आधिकारिक नतिजाले मतदान सहि भएको संकेत गरेको छ।
कम्युनिष्ट उम्मेद्वार निकोलाई खारिटोनोभ ४ प्रतिशत भन्दा कम मतका साथ दोश्रो स्थानमा देखिएका छन् भने भ्लादिस्लाव दाभान्कोभ तेस्रो र लियोनिद स्लुत्स्की चौथो स्थानमा देखिएका छन् । पुटिनले कसरी राजनीतिक विपक्षीहरूलाई कैद गरेका छन् र अरूलाई आफ्नो विरुद्धमा लड्नबाट रोकेका छन् भन्ने कुरालाई ध्यानमा राख्दा चुनावहरू स्वतन्त्र वा निष्पक्ष नभएको ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ताले बताएका छन् ।
पुटिनले युक्रेनमाथि आक्रमणको आदेश दिएर दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा घातक युरोपेली द्वन्द्व सुरु गरेको दुई वर्षपछि यो निर्वाचन भएको हो। पुटिनले यसलाई विशेष सैन्य अभियानको रूपमा व्याख्या गर्दै आएका छन् ।
रुसमाथिको उनको नियन्त्रण र कुनै पनि वास्तविक प्रतिद्वन्द्वीहरूको अनुपस्थितिका कारण पुटिन पुन निर्वाचित हुनेमा कुनै शंका भने थिएन । केबल उनले आफूलाई रुसीहरूको अत्यधिक समर्थन रहेको देखाउन चाहन्थे। चुनावमा राष्ट्रव्यापी रुपमा कुल मतदातामध्ये। ७४ दशमलव २२ प्रतिशतले मतदान गरेका थिए । सन् २०१८ मा ६७ दशमलव ५ प्रतिशत मत खसेकोमा अहिले त्योभन्दा बढी मत खसेको छ ।

गत महिना आर्कटिक जेलमा मृत्यु भएका पुटिनका सबैभन्दा प्रमुख प्रतिद्वन्द्वी एलेक्से नाभाल्नीका समर्थकहरूले रुसीहरूलाई पुटिन विरुद्धको विरोध प्रदर्शनमा बाहिर आउन आह्वान गरेका थिए । उनीहरूले पुटिनलाई भ्रष्ट निरंकुशको रूपमा वर्णन गर्दै असहमति जाहेर गर्दै आएका छन् ।
दशौं हजार प्रहरी र सुरक्षा अधिकारीहरू संलग्न रहेको कडा सुरक्षाको बीचमा रसियाका ११४ मिलियन मतदाताहरूमध्ये कतिले विपक्षी प्रदर्शनमा भाग लिएका थिए भन्ने कुनै स्वतन्त्र हिसाब छैन। पत्रकारहरूले मस्को, सेन्ट पिटर्सबर्ग र येकातेरिनबर्गका मतदान केन्द्रहरूमा दिउँसो मतदाताहरूको प्रवाहमा वृद्धि भएको देखेका थिए । विशेष गरी युवाहरुसहितका मतदाताहरु लाइनमा देखिएका थिए ।
नाभाल्नीकी विधवा युलिया बर्लिनमा रहेको रुसी दूतावासबाहिर नारा लगाउन उपस्थित भएकी थिइन् । निर्वासित नाभाल्नी समर्थकहरूले रूस भित्र र विदेशमा भएको विरोध प्रदर्शनको फुटेज युट्युबमा प्रसारण गरेका थिए । कम्तिमा ७४ जनालाई आइतबार रुसमा गिरफ्तार गरिएको छ ।

अघिल्ला दुई दिनहरूमा केही रुसीहरूले मतदान केन्द्रहरूमा आगो लगाएका छन् भने मतपेटिकाहरूमा हरियो रङ खन्याएर विरोध गरेका छन् । विपक्षीहरूले पुटिनको विरोधका नारासहित बिग्रिएको मतपत्रका केही तस्बिरहरू पोस्ट गरेका थिए । तर नाभाल्नीको मृत्युले विपक्षीलाई आफ्नो सबैभन्दा शक्तिशाली नेताबाट वञ्चित गरेको छ । अन्य प्रमुख विपक्षी व्यक्तिहरू या त विदेशमा छन्, या त जेलमा छन् वा मरेका छन्।
हेगमा रहेको अन्तर्राष्ट्रिय फौजदारी अदालतले युक्रेनी बालबालिकालाई अपहरण गरेको कथित युद्ध अपराधको लागि पुटिनविरुद्ध अभियोग लगाएको छ, जसलाई क्रेमलिनले भने अस्वीकार गरेको छ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आइतवार पुटिनले सधैंभरि शासन गर्न चाहेको बताएका छन्। चुनावको यो नाटकमा कुनै वैधता नभएको र हुन नसक्ने उल्लेख गर्दै पुटिनविरुद्ध हेगमा मुद्दा चलाउनुपर्ने जेलेन्स्कीले बताए ।






