यसपटक ‘अर्नड इन्कम ट्याक्स क्रेडिट’ बापत ७ हजार ४ सय ३० डलरसम्म रिफण्ड लिन सकिने
आजदेखि अमेरिकामा ट्याक्स फाइल गर्नेहरुले अर्नड इन्कम ट्याक्स क्रेडिट पनि ७ हजार ४ सय ३० डलरसम्म पाउन सक्नेछन् जुन गतबर्षको तुलनामा बढी हो । गतबर्ष ट्याक्स फाइल गर्दा अर्नड इन्कम ट्याक्स क्रेडिट अधिकतम ६ हजार ९ सय ३५ डलरसम्ममात्र थियो ।
यसपटक ट्याक्स फाइल गर्ने योग्य बच्चा नभएका एकलको आम्दानी १७६४० सम्म र संयुक्त फाइल गर्ने दम्पत्तिको २४ हजार २ सय १० डलरसम्म रहेको छ भने उनीहरुले अधिकतम ६ सय डलरसम्म यो क्रेडिट पाउनेछन् । त्यस्तै ४६ हजार ५ सय ६० डलरसम्म आम्दानी हुने एकल वा ५३ हजार १ सय २० डलरसम्म आम्दानी हुने संयुक्त फाइल गर्ने दम्पत्तिको एउटा योग्य बच्चा छ भने उनीहरुले ३ हजार ९ सय ९५ डलरसम्म क्रेडिट पाउनेछन् ।
५२ हजार ९ सय १८ डलरसम्म आम्दानी हुने एकल वा ५९ हजार ४ सय ७८ डलरसम्म आम्दानी हुने संयुक्त फाइल गर्ने दम्पत्तिको दुईवटा योग्य बच्चा छ भने उनीहरुले ६ हजार ६ सय ४ डलरसम्म क्रेडिट पाउनेछन् । ५६ हजार ८ सय ३८ डलरसम्म आम्दानी हुने एकल वा ६३ हजार ३ सय ९८ डलरसम्म आम्दानी हुने संयुक्त फाइल गर्ने दम्पत्तिको तीन वा सोभन्दा बढी योग्य बच्चा छ भने उनीहरुले ७ हजार ४ सय ३० डलरसम्म क्रेडिट पाउनेछन् ।
यदि ट्याक्स फाइल गर्ने व्यक्तिले आईआरएसलाई ट्याक्स तिर्नुपर्ने भएमा उक्त रकममा यो क्रेडिट रकम घटाएर बचेको रकम ट्याक्स फाइल गर्ने व्यक्तिको खातामा फिर्ता गरिन्छ । यदि यदि ट्याक्स फाइल गर्ने व्यक्तिले आईआरएसलाई ट्याक्स तिर्नुपर्ने नभएमा सबै रकम ट्याक्स फाइल गर्ने व्यक्तिको खातामा रिफण्डका रुपमा प्राप्त हुनेछ ।

अर्नड इन्कम ट्याक्स क्रेडिट भनेको कम र मध्यम आम्दानी हुनेहरुका लागि कर छुट हो जसमा बच्चाहरू भएकाहरूका लागि उच्च रकम उपलब्ध हुन्छ। पछिल्लो तथ्याङ्क अनुसार गतबर्ष ट्याक्स फाइल गरेका लगभग २३ मिलियनले ५७ बिलियन डलर अर्नड इन्कम ट्याक्स क्रेडिटवापत प्राप्त गरेका थिए, जसमा औषत रकम २५४१ डलर थियो ।
लगभग २० प्रतिशत योग्य करदाताहरूले यो क्रेडिट दाबी गर्न छुटाउने गरेको आईआरएसको भनाई छ । यो क्रेडिट प्राप्त गर्नका लागि १३ हजार ८ सय ५० डलरभन्दा कम आम्दानी भएकाहरुले समेत ट्याक्स फाइल गर्न आवश्यक हुन्छ । सामान्यतया यसबर्ष १३ हजार ८ सय ५० डलरभन्दा कम आम्दानी भएकाहरुका लागि ट्याक्स फाइल गर्न अनिवार्य छैन । यो क्रेडिटका लागि योग्य हुन लगानीबाट गरेको आम्दानी ११ हजार डलरभन्दा कम हुनुपर्छ भने विदेशमा आम्दानी गरेको हुनुहुँदैन ।
अर्नड इन्कम ट्याक्स क्रेडिट दावी गरेकाहरुको रिफण्ड रकम फेब्रुअरी २७ पछिमात्र प्राप्त हुनेछ । किनभने संघीय कानूनले क्रेडिट दाबी गर्ने फाइलरहरूको पहिचान चोरी रोक्न थप जाँचहरू गर्नु आवश्यक पर्दछ।





