अमेरिकामा करको नयाँ दर, करदाताको हजारौं डलर जोगिने, ४४,७२६ भन्दा बढी आम्दानीमा २२% कर
Photo by Pixabay on <a href="https://www.pexels.com/photo/rolled-20-u-s-dollar-bill-164527/" rel="nofollow">Pexels.com</a>
आईआरएसले चालु आर्थिक बर्षको करको दर सार्वजनिक गरेको छ । सन् २०२४ मा फाइल गरिने ट्याक्समा यो दर लागु हुनेछ जसमा आम्दानीको गणना सन् २०२३ को हुनेछ । अमेरिकामा आम्दानी अनुशार करका दरहरु निर्धारण गरिएको छ । कम आम्दानी हुनेहरुले कम प्रतिशत र बढी आम्दानी हुनेहरुले बढीप्रतिशत कर तिर्नुपर्ने गरी करको दर निर्धारण गरिएको हुन्छ । यस्ता करका दरहरु हरेक बर्ष परिवर्तन हुने गर्छन् ।
२०२३ को कर कोष्ठकको माथिल्लो सीमा २०२२ को रिटर्नका लागि प्रयोग गरिएको कोष्ठक भन्दा ७% बढी छ। अर्थात् २०२२ को तुलनामा २०२३ मा ७ प्रतिशत बढी आम्दानी गर्दा समेत कर भने गतबर्षकै दरमा तिरे पुग्नेछ । अर्थात् करदाताको ठूलो रकम जोगिनेछ ।
आगामी अप्रिलभित्र कर फाइल गर्दा यो बर्षको कर दर गतबर्षको तुलनामा फरक तोकिएको छ । सन् २०२३ मा ११ हजार सम्म आम्दानी हुने एकल र २२ हजार सम्म आम्दानी हुने संयुक्त फाइल गर्ने दम्पत्तिले २०२४ मा ट्याक्स फाइल गर्दा १० प्रतिशतसम्म कर तिर्नुपर्छ । २०२२ मा यो दरका लागि आम्दानीको सिमा एकलका लागि १० हजार २ सय ७५ सम्म र दम्पत्तिका लागि २० हजार ५ सय ५० सम्म रहेको थियो ।
त्यस्तै ११ हजार १ भन्दा माथि र ४४ हजार ७ सय २५ सम्म आम्दानी हुने एकल तथा २२ हजार १ भन्दा माथि र ८९ हजार ४ सय ५० सम्म आम्दानी हुने संयुक्त फाइल गर्ने दम्पत्तिले १२ प्रतिशतसम्म कर तिर्नुपर्छ । २०२२ मा यो दरका लागि आम्दानीको सिमा एकलका लागि ४१ हजार ७ सय ७५ सम्म र दम्पत्तिका लागि ८३ हजार ५ सय ५० सम्म रहेको थियो । अर्थात् यो बर्ष गतबर्षको तुलनामा झण्डै ३ हजार डलर बढी कमाएपनि करदाताले १२ प्रतिशतसम्ममात्र कर तिरे पुग्छ ।
४४ हजार ७ सय २६ भन्दा माथि र ९५ हजार ३ सय ७५ सम्म आम्दानी हुने एकल तथा ८९ हजार ४ सय ५१ भन्दा माथि र १ लाख ९० हजार ७ सय ५० सम्म आम्दानी हुने संयुक्त फाइल गर्ने दम्पत्तिले २२ प्रतिशतसम्म कर तिर्नुपर्छ । २०२२ मा यो दरका लागि आम्दानीको सिमा एकलका लागि ८९ हजार ७५ सम्म र दम्पत्तिका लागि १ लाख ७८ हजार १ सय ५० सम्म रहेको थियो ।

त्यस्तै ९५ हजार ३ सय ७६ भन्दा माथि १ लाख ८२ हजार १ सय डलरसम्म आम्दानी हुने एकल तथा १ लाख ९० हजार ७ सय ५१ भन्दा माथि र ३ लाख ६४ हजार २ सय सम्म आम्दानी हुने संयुक्त फाइल गर्ने दम्पत्तिले २४ प्रतिशतसम्म कर तिर्नुपर्छ । १ लाख ८२ हजार १ सय १ डलरभन्दा माथि र २ लाख ३१ हजार २ सय ५० डलरसम्म आम्दानी हुने एकल तथा ३ लाख ६४ हजार २ सय १ भन्दा माथि र ४ लाख ६२ हजार ५ सय सम्म आम्दानी हुने संयुक्त फाइल गर्ने दम्पत्तिले ३२ प्रतिशतसम्म कर तिर्नुपर्छ ।
त्योभन्दा माथि ५ लाख ७८ हजार १ सय २५ डलरसम्म आम्दानी हुने एकलले ३५ प्रतिशतसम्म कर तिर्नुपर्छ भने त्योभन्दामाथि आम्दानी हुने एकलले ३७ प्रतिशतसम्म कर तिर्नुपर्छ । संयुक्त फाइल गर्ने दम्पत्तिको सन्दर्भमा भने ६ लाख ९३ हजार ७ सय ५९ सम्म आम्दानी हुने संयुक्त फाइल गर्ने दम्पत्तिले ३५ प्रतिशतसम्म र त्योभन्दा माथि आम्दानी हुनेहरुले ३७ प्रतिशत कर तिर्नुपर्छ ।
यो करको दर सुन्दा तपाईले कति प्रतिशत कर तिर्दै हुनुहुन्छ भन्ने अन्यौल हुनसक्छ । किनभने आफ्नो करको दर थाहा पाउन करदाताले बिभिन्न ब्राकेटहरु हेर्नुपर्छ । अर्थात् करका फरक फरक दरहरु हेरेर हिसाब गर्नुपर्छ । कसैको आम्दानी ४४ हजार ७ सय २५ भन्दा माथि छ भने उसले सबै आम्दानीको २२ प्रतिशत कर तिर्नुपर्दैन । ४४ हजार ७ सय २५ भन्दा माथिको आम्दानी जति हो, त्यसको मात्र २२ प्रतिशत तिरे पुग्छ भने ११ हजार १ देखि ४४ हजार ७ सय २५ सम्मको १२ प्रतिशत र ११ हजार सम्मको १० प्रतिशत तिरे पुग्छ ।
यसरी अमेरिकामा करको दर सिमान्तकृत रुपमा हिसाब गरिन्छ । अर्थात् तपाईको आम्दानीको सुरुको डलरको तुलनामा पछिल्लो डलरको कर बढी तिर्नुपर्छ । योग्य ट्याक्स क्रेडिटहरु दावी गरेर तपाई करको कम दरभित्र पर्न सक्नुहुनेछ । उदाहरणका लागि यदि तपाईको आयकरको बिल २ हजार डलर छ भने तपाई ५ सय ट्याक्स क्रेडिटका योग्य भएको खण्डमा तपाईको बिल १५ सयमा झर्नेछ ।





