पूर्व मुख्यसचिव पौड्यालसँग सीआईबीले लियो बयान
प्रकाशित मिति : श्रावण २९, २०८० सोमबार
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाल सरकारका पूर्व मुख्यसचिव लिलामणि पौड्यालसँग आज बयान लिएको छ । सीआईबीले ललिता निवास प्रकरणमा केन्द्रीत रहेर पूर्व मुख्यसचिव पौड्यालसँग बयान लिएको हो ।
केही दिन अघि सर्वोच्च अदालतले बन्दीप्रत्येक्षीकरण सम्बन्धि रिटमा सुनुवाई गर्दै माथिदेखि तलसम्म सबैलाई अनुसन्धान गर्न आदेश दिएसंगै मन्त्रिपरिषद्को निर्णय प्रमाणीकरण गरेका पूर्व मुख्यसचिव पौड्याललाई पनि बयान लिएको हो । ललिता निवास प्रकरणसंग जोडिएका विषयहरुमा बयान लिइएको हो । पौड्यालसँगको बयान लिने काम सकिएको छ ।
मन्त्रिपरिषद्को निर्णय प्रमाणीकरण गर्ने, कार्यान्वयन तहमा प्रत्यक्ष संलग्न हुने, प्रस्तावमा संलग्न माथिल्लो तहका पदाधिकारीको समेत अनुसन्धान कार्य अविलम्ब गर्नू गराउनू भनी सर्वोच्चले आदेश दिएपछि केन्द्रीय अनुसन्धान व्यूरोले ललिता निवास प्रकरणमा जोडिएका माथिल्ला तहका व्यक्तिहरुमाथि पनि अनुसन्धान केन्द्रीत गरेको हो ।
तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईका समयमा मुख्य सचिव रहेका पौड्यालसँग सीआईबीले बयान लिएको हो भने यसअघि यही प्रकरणमा पूर्वउपप्रधानमन्त्री बिजयकुमार गच्छेदारसहित पूर्वमन्त्रीहरु चन्द्रदेव जोशी डम्बरबहादुर श्रेष्ठ, सञ्जयकुमार साहको नाममा पक्राउ पूर्जी जारी गरिसकेको छ ।
सर्वोच्च अदालतका न्यायाधीशहरु अनिल कुमार सिन्हा र डा. कुमार चुडालको इजलासले ललिता निवास प्रकरणमा अनुसन्धान गर्न आदेश दिएको थियो । आदेशपछि पूर्वप्रधानमन्त्रीहरु डा. भट्टराई र माधबकुमार नेपाल तथा त्यसबेला मन्त्रिपरिषद्को निर्णय प्रमाणीकरण गर्ने, मन्त्रिपरिषद्मा प्रस्ताव लैजानेहरु सबैमाथि अनुसन्धान अघि बढाउने अवस्था बनेको हो ।