‘होचो स्थानका होचै सपना’


प्रकाशित मिति : जेष्ठ २८, २०८० आईतबार

 नेपालको सबैभन्दा होचो स्थान धनुषाको मुसहरनिया हो भन्ने हल्ला चलेको धेरै भइसकेको छ । हल्ला चले पनि यहाँ सरकारी तवरबाट न कुनै आधिकारिक घोषणासहित काम हुन सकेको छ न त स्थानीयबीच होचो स्थानका बारेमा एकमत छ । स्थानीयमध्ये कसैले मुखियापट्टी मुसहरनिया गाउँपालिका–२ भोलाबाबा मन्दिर वरपर करिब साढे तीन बिघा क्षेत्रफलमा त कसैले वडा नं १ को दक्षिणबारी टोल नेपालकै होचो स्थान भएको दाबी गर्छन् तर दाबी गरिएका दुवै ठाउँमा पहिचान झल्किने कुनै प्रमाण भेटिदैन ।
स्थानीयवासी रामसोभार चनीले वडा नं २ मा होचो स्थान दाबी गनुभयो र भन्नुभयो, “यही ठाउँ हो नापेको । सुरुको चहलपहल हेर्दा अब केही हुन्छ कि जस्तो लागेको थियो, त्यो पनि कता गएर अड्कियो थाहा छैन । न स्थानीय सरकारले केही ग¥यो न अरु कुनै संस्थाले नै ।”
त्यस्तै वडा नं १ का स्थानीयवासी अशोक यादव होचो स्थान दक्षिणबारी टोलमै भएको दाबी गर्नुहुन्छ । “तपाईले पनि पढ्नुभएको होला होचो स्थान धनुषाको मुसहरनिया भनेर । वडा नं २ त तत्कालीन मुखियापट्टी हो”, अशोकले भन्नुभयो ।
होचो स्थानका विषयमा चासो राख्दै आउनुभएका मधेश प्रदेशसभा सदस्य रामसरोज यादवले पहिले वडा नं १ मा होचो स्थानबारे चर्चा भए पनि पछिल्लो पटक नापजाँच हुँदा वडा नं २ को पुर्नी पोखरी भैरवबाबा मन्दिर छेउमा होचो स्थान भेटिएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,“पहिले वडा नं नम्बर १ का केही स्थान र सुदखोलामा पनि नापी भएको थियो तर  खोला, दशगजा छेउमा नापेर त काम भएन । पछि यता नाप्दा वडा नं १ को भन्दा होचो देखियो । सोहीअनुसार हामीले वडा नं २ मा होचो स्थान दाबी गरेर केही संरचना पनि बनाउन खोज्दैछौँ ।”
वडा नं २ का अध्यक्ष नरेशप्रसाद यादवको पनि आफ्नै दाबी छ । “होचो स्थान वडा नं २ को पुर्नी पोखरी छेउमा हो । नापीका क्रममा पनि यो भनिएको हो । त्यहीअनुसार यहाँ दृश्यवलोकन स्तम्भलगायतका संरचना बनाउने कुरा पनि भएकै हो ।”ं दुबै वडाका स्थानीयवासी आआफ्नै ठाउँमा होचो स्थान भनेर दाबी रहेको छ ।
नापी विभाग खगोल तथा भूमापन महाशाखाका उपनिर्देशक अमिरप्रसाद न्यौपानेले भन्नुभयो, “पहिले झापाको केचनाकवल र अहिले धनुषाको मुसहरनिया होचो स्थान भनिदैछ । सरकारले कहिल्यै आधिकारिक घोषणा गरेको र गर्ने योजना पनि छैन । स्थानीयले दाबी गरिरहेको विषयमा केही भन्नु छैन ।”
होचो स्थानका विषयमा स्थानीयस्तरमा फकरफरक ठाउँमा दाबी रहे पनि यहाँका नागरिकहरुको पीडा वर्षौदेखि सम्बोधन हुन सकेको छैन । यी दुबै टोल जमुनी, सिमरा र विगिही नदी छेउमा रहेकाले वर्षेनी नदी कटानको समस्याबाट स्थानीयवासी पीडित छन् । “होचो ठाउँ जहाँ भए पनि हामीले लाभ त केही पाइरहेका छैनौँ बरु पीडामाथि पीडा छ । वर्षायाममा चारैतर्फ चार÷पाँच फिट पानी भरिन्छ, ज्यान जोखिममा पर्छ”, स्थानीय ८० वर्षिय रामवृक्ष यादवले पीडा सुनाउनुभयो ।
स्थानीय ज्येष्ठ नागरिक ७० वर्षिय रामाषिस रायले वर्षायाममा डुबानले मान्छे, घर तथा घरभित्र जोहो गरेका सामान जोखाउन मुस्किल हुने गरेको बताउनुभयो । अर्का स्थानीय पुरन यादव, संजिव यादवलगायतले नेपालको नक्सा हेरेर पनि मुखियापट्टी मुसहरनियाको दुर्दशा अनुमान गर्न सकिने बताउनुहुन्छ ।
वडा नं २ का अध्यक्ष नरेशप्रसाद पनि स्थानीय स्रोतसाधनले नभ्याउने र स्रोतसाधन भएको प्रदेश तथा केन्द्र सरकारले यहाँका जनतालाई जोगाउने गरी योजना अगाडि सार्न नसकेको बताउनुहुन्छ । तीनैतिर रहेका ठूला नदीहरु छेउमा भारतीय पक्षले ठूला बाँध र सडक बनाएको छ । वर्षामा यहाँ पानीको डुबानको समस्या छ । खेतीयोग्य जमिन समाप्त हुने अवस्थामा छ । मानववस्ती वर्षेनी ज्यान हत्केलामा राखेर बस्नु परेको उहाँको भनाइ छ ।
प्रदेशसभा सदस्य राम सरोज यादवले यो गाउँपालिका नेपालकै पानी निकास हुने ठाउँ भएकाले यहाँको विशेषता र संवेदनशीलता दुवै हेरेर सरकारले नदी रोकथाम र विकासका काम अगाडि बढाउनुपर्ने बताउनुहुन्छ । वर्षात्मा यहाँ पानीले जलमग्न भएको तलाउभन्दा अरु केही देखिँदैन भने अरु बेला पानी नभएर सुख्खा जमिन मात्रै देखिन्छ । पर्यटकीय गतिविधिबाटै स्थानीयको जीविकोपार्जनमा सहयोग पुग्ने भएकाले यसतर्फ ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।
धनुषाको निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित सांसद जुलिकुमारी महतोले मुखियापट्टी मुसहरनिया गाउँपालिका–१ र २ का वासिन्दालाई डुबानको समस्याबाट मुक्त गर्न  जमुनी र विगिही नदी नियन्त्रणका लागि बजेट छुट्टयाउन आफूले पटकपटक सरकारको ध्यानाकर्षण गराएको बताउनुहुन्छ । -टीकाराम सुनार/ चन्दन ठाकुर

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com