चार्ल्स शोभराज कैदमुक्त, आज अध्यागमनको जिम्मा लगाइँदै


प्रकाशित मिति : पुस ७, २०७९ बिहीबार

सर्वोच्च अदालतले कैदमुक्त गर्न आदेश दिएसँगै फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई अध्यागमनमा बुझाइने भएको छ । दुई जनाको हत्या र एकको हत्या प्रयास मुद्दामा अदालतबाट दोषी ठहर भइ १९ वर्षदेखि नेपाली जेलमा रहेका शोभराजलाई सर्वोच्चले जेष्ठ नागरिकले पाउने कैद छुट दिएपछि नौ महिना कैद छुट पाएका हन् ।

सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमा उनलाई तत्काल जेलमुक्त गरी १५ दिनभित्र सम्बन्धित देशमा पठाइदिन आदेश बुधबार दिएको थियो । योसँगै केन्द्रीय कारागारले शोभराजलाई कैदमुक्त गरी अध्यागमन विभाग बुझाउने तयारी गरेको हो । २०८० सालसम्म कैद सजाय पाएका उनलाई १९ वर्ष जेलमा बसिसकेको, मुटुरोगी भएको र ७८ वर्षका वृद्ध भइसकेको त्यसमाथि मानवअधिकारको मापदण्ड विपरित कैदभित्र पनि एकान्तवासमा राखिएको भन्दै अदालतले छोड्न आदेश दिएको छ ।

केन्द्रीय कारागारका जेलर ईश्वरीप्रसाद पाण्डेका अनुसार जिल्ला अदालत भक्तपुरबाट पत्र आएपछि आज शुक्रबार उनलाई अध्यागमन विभागमा बुझाइने छ ।
कैदमुक्त भए पनि शोभराज अध्यागमनकै निगरानीमा हुने देखिएको छ। अध्यागमन विभागले पनि उनलाई निगरानीमै राखेर जतिसक्दो चाँडो फ्रान्स पठाउने बताएको छ।

जेलभित्र असल चालचलन भएका ७५ वर्ष उमेर पुगेका कसुरदारलाई ७५ प्रतिशतसम्म कैद छुट दिन सकिने कानुनी व्यवस्था छ। उक्त व्यवस्था कैद सजाय भोगिरहेका नेपालीमात्र होइन विदेशी नागरिकको हकमा पनि लागू हुनुपर्ने शोभराजको जिकिर थियो। उनको जिकिरलाई अदालतले स्वीकार गरेको छ। विभागका सूचना अधिकारी कमलप्रसाद पाण्डेले उनलाई अध्यागमनमा बुझाएपछि प्रक्रिया पुर्‍याएर डिपोर्ट गरिने  जानकारी दिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनको पासपोर्ट तथा ट्राभल डकुमेन्ट तयार भएपछि अध्यागमन विभागले भिसा नियमित गरी उनलाई अध्यागमन कसुरअनुसार जरिवानासमेत गर्नेछ । जरिवाना तिरेपछि गृहसचिवस्तरीय निर्णय गरी निश्चित वर्ष नेपाल आउन नपाउने गरी निष्कासन हुने अध्यागमन नियमावलीको प्रावधान छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com