पुग्नै मुस्किल छ ढोरपाटन


प्रकाशित मिति : भाद्र २६, २०७९ आईतबार

-डम्मर बुढा मगर/ नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन पर्यटकीय हिसाबले पनि निकै चर्चित ठाउँ हो । यहाँ आन्तरिकसँगै बाह्य पर्यटकको समेत आगमन हुने गर्छ । विदेशी पर्यटक वर्षको दुई पटक यहाँ आउने गर्छन् भने आन्तरिक पर्यटक बाह्रै महिना पुग्ने गर्छन् । विदेशी पर्यटक असोजदेखि मङ्सिर र फगुनदेखि वैशाखका बीचमा सिकार खेल्नका लागि मात्रै आउने गर्छन् भने आन्तरिक पर्यटक हिउँदमा हिउँ खेल्न र बर्खामा गर्मी छल्न ढोरपाटन पुग्छन् ।

ढोरपाटन जति चर्चित छ, त्यति पर्यटक भने पुग्न सकेका छैनन् । त्यसको मुख्य कारण हो सडक । राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडक खुलेको एकदशक बढी भइसक्दा पनि स्तरोन्नति हुन सकेको छैन । ढोरपाटनको प्रवेशद्वारका रुपमा रहेको बुर्तिबाङ बजारसम्म सडक राम्रो छ । जब ढोरपाटन जानका लागि बुर्तिबाङ बजार पार गरिन्छ, तब सडकको दुरावस्था सुरु हुन्छ । सडकका कारण आन्तरिक पर्यटक पनि अपेक्षितरुपमा ढोरपाटन पुग्न सकेका छैनन् ।

ढोरपाटन पुगेर फर्किने पर्यटकले पनि निकै दुःख पाउने गरेको गुनासो गरेका छन् । चितवनदेखि ढोरपाटन घुम्न पुगेका रमेश बस्यालले अप्ठ्यारो सडकका कारण दुःख पाउनुपरेको बताए । बस्यालले ढोरपाटनको नाम धेरैपटक सुनेको र घुम्न आएको भन्दै अप्ठ्यारो सडकका कारण गाडी बिग्रिँदा बाटोमा अलपत्र पर्नुपरेको सुनाए।

“ढोरपाटनको नाम जति चर्चित छ, त्यति सुन्दर पनि रैछ, तर त्यहाँसम्म पुग्ने सडक निकै खराब रैछ, बाइकमा जाने त सम्भावना नै रहेन छ, गाडीमा पनि निकै मुस्किल हुँदोरहेछ, धेरै पटक नाम सुनेको र सामाजिक सञ्जालमा फोटो देखेर घुम्न आएको निकै दुःख पाइयो”, बस्यालले भने, “जाने बेलामा बाटोमा गाडी बिग्रियो, रातिका बेला निकै समस्या पर्याे, झण्डै अलपत्र परियो, तीन दिन बिदा लिएर आएको गाडी बिग्रिँदा एक दिन ढिला भयो, सडक निकै जोखिमपूर्ण रहेछ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सालझण्डी ढोरपाटन सडकलाई पर्यटकीय सडकका रुपमा पनि लिइन्छ । सडकका कारण स्थानीयलाई पनि सास्ती भएको छ । ढोरपाटन नगरपालिका वडा नम्बर ९ का खिमबहादुर सुनारले सडकका कारण टाढाटाढाबाट आउने पर्यटकले दुःख पाएको बताए । सडकमा ट्र्याक्टरबाहेक अरु हिँड्न नसक्ने भन्दै गाडी लिएर आउने पर्यटक बाटोमा समस्यामा पर्ने गरेको उनी बताउँछन् । “यो बाटो खुलेको धेरै वर्ष भयो अहिले पनि यस्तो अवस्थामा छ, अझ दुई वर्ष अगाडि आएको बाढीले धेरै ठाउँमा निकै अप्ठ्यारो बनाएको छ, यस्तो सडकमा ढोरपाटन जाने पर्यटक आउँछन्”, सुनारले भने, “सडकको हालत निकै खराब छ, ट्र्याक्टर पनि राम्रोसँग हिँड्न सक्दैन, यस्तो सडकमा पर्यटकले राम्रोराम्रो गाडी लिएर आउनुहुन्छ, गाडी कहिले हिलोमा फस्छ, कहिले खाल्डोमा अड्किन्छ, त्यसले गर्दा पर्यटक निरास भएर फर्किनुहुन्छ, बाटो राम्रो हुन्थ्यो भने कति धेरै पर्यटक आउँदा हुन् ?, अहिले यस्तो बाटो छ र पनि पर्यटक आइराख्छन् ।”

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण) ले सडक खुलेको दशक बढी हुँदा पनि कालोपत्र नहुँदा अपेक्षाअनुसार ढोरपाटनमा पर्यटक भित्र्याउन नसकेको बताए। उनले सालझण्डी–ढोरपाटन सडकको नाम दिए पनि काम भने अर्घाखाँचीसम्म मात्रै हुँदा अपेक्षितरुपमा ढोरपाटन भित्र्याउन नसकेको उनको दाबी छ । “ढोरपाटन पर्यटकीय हिसाबले देशकै उत्कृष्ट गन्तव्य हो, तर यहाँसम्म पुग्ने सडकको अवस्था निकै जोखिमपूर्ण छ, सडकको नाम ढोरपाटनसँग जोडियो काम भने अर्घाखाँचीतिर मात्रै भयो”, उपप्रमुख कायतले भने, “बुर्तिबाङदेखि ढोरपाटनसम्मको सडक राम्रो हुन्थ्यो भने वर्षमा हजारौँ पर्यटक ढोरपाटन पुर्याउन सकिन्थ्यो, सडकको यस्तो अवस्था हुँदा निकै समस्या भयो ।”

कायतले सडकका कारण ढोरपाटन क्षेत्र पछाडि परेको बताए । उनले विकासको मुख्य आधार सडक भएको भन्दै सडकको दुरावस्था हुँदा ढोरपाटन क्षेत्र पिछडिनुपरेको उनको भनाइ छ । उपप्रमुख कायत भन्छन्, “ढोरपाटनले पर्यटनका हिसासबले निकै सम्भावना बोकेको छ, तर सडकले गर्दा यो क्षेत्र नै पछाडि पर्यो, वर्षौंदेखि सडकको यो अवस्था छ, एउटै सडकको पनि दक्षिण काम हुने यस क्षेत्रमा काम नहुँदा हामी पछाडि पर्नुपरेको छ ।”

कायतले ढोरपाटन आउने पर्यटक सडकको दुरावस्थाका कारण बुर्तिबाङ बजारदेखि नै फर्किने गरेको बताए । उनले ढोरपाटन नामले विश्वमा चिनिए पनि कामले भने निकै पछाडि परेको बताउँछन् । “ढोरपाटन जानका लागि धेरै पर्यटक आउनुहुन्छ, सडकको अवस्था देखेर कोही बुर्तिबाङ बजारदेखि नै फर्किएर अन्तै जानुहुन्छ भने कोही सहीखोला, दोगाडी र बोबाङसम्म पुगेर फर्किनुहुन्छ, सडकको अवस्था नफेरिएसम्म पर्यटकलाई ढोरपाटन पुर्याउन समस्या छ, ढोरपाटन नामले विश्वमा चिनियो तर कामका हिसाबले निकै पछाडि पर्याे”, उपप्रमुख कायतले भने ।

कायतले सडकको काम तत्काल सुरु गर्न सालझण्डी–ढोरपाटन आयोजनालाई आग्रह गरेको र अहिले टेण्डर आह्वान भइसकेको बताए । बुर्तिबाङ मध्यपहाडी लोकमार्गले जोडिएको पनि ढोरपाटन जोडिएको छैन । बागलुङ सदरमुकाम हुँदै बुर्तिबाङ जोडिएको लोकमार्ग निसीखोला हुँदै रुकुम जोडिएको छ । ढोरपाटन पुग्न सालझण्डी–ढोरपाटन सकडमार्फत जानुपर्छ । यो सडक अर्घाखाँची हुँदै आएको छ । अर्घाखाँची क्षेत्रमा सडक स्तरोन्नति भइसके पनि बागलुङ खण्डमा हुन सकेको छैन । ढोरपाटन बुर्तिबाङदेखि ३२ किलोमिटरको दूरीमा रहेको छ । यहाँसम्म पुग्नै पुरै कच्ची सडकमा यात्रा गर्नुपर्छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com