यो बर्ष रोजगारमा आधारित ग्रिनकार्ड खेर नजाने, लगभग सबै प्रयोग हुने, अर्को बर्ष २ लाख


प्रकाशित मिति : भाद्र २४, २०७९ शुक्रबार

अमेरिकी अध्यागमन अधिकारीहरूले यो महिना समाप्त हुने आर्थिक वर्षका लागि उपलब्ध सबै अतिरिक्त रोजगारीमा आधारित ग्रिनकार्डहरू प्रयोग गर्ने प्रक्षेपण गरेका छन् । त्यसो भएमा रोजगारमा आधारित हजारौं ग्रिनकार्डहरु खेर जाने जोखिम टर्नेछ ।

अगस्त ३१ सम्म युएससीआईएसले २ लाख ६३ हजार ५ सय १० रोजगारमा आधारित ग्रिनकार्ड प्रयोग गरिसकेको जनाएको छ । चालु आर्थिक बर्षका लागि झण्डै २ लाख ९० हजार रोजगारमा आधारित ग्रिनकार्ड रहेकोमा उक्त नम्बर सेप्टेम्बरभरमा प्रयोग हुने अनुमान गरिएको छ ।

त्यस्तै आर्थिक बर्ष २०२२ का परिवारमा आधारित ग्रिनकार्डहरु प्रयोग नभएका कारण अक्टोबरबाट सुरु हुने आगामी आर्थिक बर्ष २०२३ मा २ लाख रोजगारमा आधारित ग्रिनकार्ड उपलब्ध हुने अनुमान गरिएको छ ।

सामान्यतया बर्षमा १ लाख ४० हजारसम्म रोजगारमा आधारित ग्रिनकार्ड जारी गर्ने कोटा रहेको हुन्छ । तर कोरोना महामारीका कारण ग्रिनकार्डको कोटा प्रयोग नहुँदा लगभग दोब्बर ग्रीन कार्डहरू उपलब्ध भए। किनभने परिवारमा आधारित ग्रिनकार्डहरु प्रयोग नगरिएमा ती संख्याहरू अर्को वर्षको रोजगारमा अधारित श्रेणीमा थपिने प्रावधान रहेको छ ।

गत वर्ष युएससीआईएसँग १ लाख २० हजार रोजागारमा आधारित अतिरिक्त ग्रीन कार्डहरू उपलब्ध थिए। एजेन्सीमा गम्भीर न्यून कर्मचारी र असंख्य ब्याकलगहरूको कारण झण्डै ६८ हजार ग्रिनकार्ड प्रयोग भएनन् । आर्थिक बर्षको अन्तिमसम्म प्रयोगमा नआएका ग्रिनकार्ड खेर जाने प्रावधान छ ।

चालु आर्थिक बर्षका लागि तोकिएको ग्रिनकार्ड कोटा खेर जान नदिन युएससीआईएसले योग्यहरुलाई तुरुन्त रोजगारमा आधारित ग्रिनकार्ड आवेदन दिन सुझाव दिदै आएको थियो । खासगरी आई १४० आवेदन स्वीकृत भइसकेकाहरुलाई मेडिकल रिपोर्टका साथमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न सुझाव दिइएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com