अमेरिकाबाट नेपाल फर्काइयो टुँडाल र प्रस्तरबाट निर्मित शिवमूर्ति


प्रकाशित मिति : श्रावण २९, २०७९ आईतबार

– पूर्णप्रसाद मिश्र/ नेपालबाट हराएर अमेरिका पुगेको पुरातात्विक महत्वको काठको कलात्मक सालभञ्जिका टुँडाल र प्रस्तरबाट निर्मित दुई साधुका बीचमा उभिएको शिवको मूर्ति फिर्ता भएको छ । पुरातात्विक महत्वको टुँडाल काठमाडौँ महानगरपालिका–२४ इटुम्बहाल महाविहारको मुख्य ढोकामाथिबाट सन् १९८४–१९८५ मा चोरी भएको पुरातत्व विभागले जनाएको छ । यो १३ औँ वा १४ औँ शताब्दीमा निर्माण भएको टुँडाल हो । शिवको मूर्ति भने महानगरपालिका–१९ स्थित कङ्केश्वरी मन्दिरबाट सन् १९९५ मा हराएको थियो । यो मूर्ति १० औँ वा ११ औँ शताब्दीमा बनेको अनुमान गरिएको विभागका महानिर्देशक दामोदर गौतमले जानकारी दिनुभयो ।

दुवै मूर्ति अमेरिकाको न्यूयोर्कस्थित मेट्रोपोलिटान म्युजियम अफ आर्टमा उपहारका रूपमा पुगेको खुल्न आएको छ । उक्त सामग्री नेपालको भएको विभागको अनुसन्धानबाट पुष्टि भएको प्रमाण पेश गरेपछि सम्बन्धित संस्थाले आफ्नै खर्चमा नेपाल फिर्ता गरेको हो । अमेरिका र बेलायतमा रहेका यस्तै अन्य मूर्ति पनि फिर्ताको प्रक्रियामा रहेको महानिर्देशक गौतमले जानकारी दिनुभयो ।

पुरातत्व विभागले आज आयोजना गरेको कार्यक्रममा ती मूर्ति सार्वजनिक गरिएको छ । सार्वजनिक भएपछि म्युजियमका वरिष्ठ कला विशेषज्ञ जोन गाईले विभागका महानिर्देशकलाई दुवै सामग्री हस्तान्तरण गर्नुभएको हो । यी सामग्री छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालयलाई हस्तान्तरण गरिएको छ ।

यसअघि गत असार १० गते प्रस्तरको तारा÷पार्वतीको प्राचीन मूर्ति फिर्ता गरिएको भएको थियो । फिर्ता भएको मूर्तिको तौल ८३ किलोग्राम छ । समभङ्ग मुद्रामा उभिएको कलाशैलीको हिसाबले आरम्भिक मध्यकालको, हातमा नालसहितको कमलको फूल लिएको स्वरूपमा नवौँ÷दशौँ शताब्तीतिर बनेको मूर्ति फिर्ता भएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो मूर्ति भक्तपुर नगरपालिका–७ गोलमढी टोलस्थित वीरभद्रेश्वर मन्दिरमा स्थापित थियो । यो मूर्ति सन् १९७६ पछिका वर्षमा चोरी भई विभिन्न माध्यम हुँदै एक दातामार्फत सन् २०१५ मा संंयुक्त राज्य अमेरिकाको कनेक्टिकटस्थित याले विश्वविद्यालयको आर्ट ग्यालरीले प्राप्त गरेको पत्ता लागेको विभागले जनाएको छ ।

मूर्तिको उत्पत्तिस्थल नेपाल भएको भनी विभागबाट गरिएको अनुसन्धानका आधारमा पुष्ट्याइँ दिएपछि विश्वविद्यालयको आर्ट ग्यालरी फिर्ता गर्न तयार भएको थियो । मूर्ति फिर्ता गर्ने सम्बन्धमा गत वैशाख २३ गते न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावास र विश्वविद्यालयबीच सहमति पत्रमा हस्ताक्षर भएको थियो । मूर्ति नेपाल ल्याउन बीमा र ढुवानीको खर्चसमेत विश्वविद्यालयले नै व्यवस्था गरेको हो । फिर्ता भएका सम्पदा सुरक्षा, संरक्षण, अनुसन्धानकर्तासम्मको पहुँचका लागि आजै राष्ट्रिय सङ्ग्रहालयलाई हस्तान्तरण गरिएको छ ।

अमेरिकाको सहयोगमा गत जेठ महिनामा चतुर्मुखी शिवलिङ्ग, प्रस्तरको उमामहेश्वरको मूर्ति, प्रस्तरको नागराजको मूर्ति, पद्मपाणि लोकेश्वर अर्थात् बोधिसत्व अवलोकितेश्वर मूर्ति र प्रस्तरको शाक्यमुनिको मूर्ति पनि नेपाल फिर्ता भएको थियो ।

प्रस्तरको चतुर्मुखी शिवलिङ्ग विशेष प्रकारको छ । तीन तहको यो मूर्तिमा ब्रह्मभाग, विष्णुभाग र शङ्करभाग छ । खम्बामाथि बनेको यो मूर्ति सन् १९८० को आसपासमा पशुपति क्षेत्रबाट हराएको थियो ।

प्रस्तरको उमामहेश्वरको मूर्ति ललितपुर महानगरपालिका–११ गा : हिटी टोलमा रहेको थियो । यो मूर्ति सन् १९६० मा हराएको हो । यो मूर्ति १० औँ शताब्दीको हो । यो मूर्ति अमेरिकाको डेनभर आर्ट सङ्ग्रहालयको एसिया सङ्कलनमा भेटिएको थियो ।

प्रस्तरको नागराजको मूर्ति १२ औँ वा १३ औँ शताब्दीको हो । यो मूर्ति राजकीय स्वरूपको मानवाकार छ । यो मूर्ति सन् १९८२ मा नक्साल क्षेत्रबाट हराएको हो । पद्मपाणि लोकेश्वरअर्थात् बोधिसत्व अवलोकितेश्वर मूर्ति सन् १९५० तिर हराएको विभागले जनाएको छ । यो मूर्ति अमेरिकाको एक निजी कम्पनीको सङ्कलनमा रहेको थियो ।

प्रस्तरको शाक्यमुनिको मूर्ति पनि सन् १९५० कै दशकमा हराएको हो । यो मूर्ति पनि अमेरिकाको एक निजी कम्पनीको सङ्कलनमा रहेको थियो । युपिएस कार्गोले यी मूर्ति निःशुल्क फिर्ता गराउन सहयोग गरेको थियो । अमेरिकामा यी सामग्री सङ्ग्रह गरेका निकाय एवं कम्पनीले पनि सहयोग गरेको विभागका महानिर्देशक गौतमले बताउनुभयो ।

मूर्ति साविककै स्थानमा स्थानान्तरणका लागि अनुरोध भई आएमा प्राचीन स्मारक संरक्षण ऐन, २०१३ को दफा २० क को प्रावधानअनुसार गर्न सकिने विभागले जनाएको छ ।

नेपालस्थित अमेरिकी दूतावासका डेपुटी चिफ अफ मिसन म्यानुअल पि मिकालरले नेपालबाट चोरी निकासी भई अमेरिका पुगेका पुरातात्विक महत्वका सामग्री फिर्ता गर्दै जाने नीति रहेको सुनाउनुभयो । उहाँले नै मूर्ति विभागका महानिर्देशक गौतमलाई हस्तान्तरण गर्नुभएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com