आईआरएसले दियो ५८ मिलियन करदातालाई रिफण्ड, औषत रिफण्ड ३२६३ डलर
प्रकाशित मिति : चैत्र १९, २०७८ शनिबार
अमेरिकामा आन्तरिक राजस्व सेवा आईआरएसले झण्डै ५८ मिलियन करदाताहरुलाई रिफण्ड रकम प्रदान गरेको छ । कुल १८९ बिलियन डलर रिफण्डमा प्रदान गरिएको आईआरएसले जनाएको छ ।
औषतमा प्रत्येकलाई ३२ सय ६३ डलर रकम रिफण्ड दिइएको आईआरएसले जनाएको छ । जुन गतबर्षको तुलनामा ४४८ डलरले बढी हो । गतबर्ष औषतमा २८१५ डलर रिफण्ड प्रदान गरिएको थियो ।
अमेरिकामा ट्याक्स फाइल गर्ने डेडलाइन अप्रिल १८ सम्म रहेको छ । आईआरएसले औषतमा २१ दिनभित्र रिफण्ड रकम प्रदान गर्दै आएको छ । तर कागजी रुपमा फाइल गरिएका र रिफण्डका लागि बैंक डिपोजिटको विकल्प नदिएकाहरुका सन्दर्भमा भने रिफण्ड प्राप्त हुने ढिलो हुने गरेको छ ।

त्यस्तै आईआरएसले अर्नड इन्कम ट्याक्स क्रेडिट र अतिरिक्त चाइल्ड ट्याक्स क्रेडिटका सन्दर्भमा मध्य फरबरी भन्दा अगाडि रिफण्ड प्रदान गर्न नसक्ने नियम भएकाले उनीहरुका सन्दर्भमा पनि केही ढिलो भएको थियो । उनीहरुले मार्च १ सम्म रिफण्ड रकम पाउन सफल भएका थिए ।
कर फाइल गर्ने व्यक्तिले आईआरएसको अनलाइनमा रहेको टुलमा गएर आफ्नो रिफण्डको अवस्था हेर्न सक्छन् । यो अवस्था हरेक २४ घण्टामा परिवर्तन हुनसक्ने आईआरएसले जनाएको छ ।






