भारतमा रहेको अमेरिकी दूतावासबाट विद्यार्थी भिसाका अप्वाइन्टमेन्ट लिन बन्द


प्रकाशित मिति : पुस २९, २०७८ बिहीबार

भारतमा रहेको अमेरिकी दूतावासले विद्यार्थी भिसाका लागि अन्तरवार्ताका अप्वाइन्टमेन्ट लिन बन्द गरेको छ । अक्टोबर १ देखि जनवरी १५ सम्मको जाडोयामका विद्यार्थीहरुका लागि लिइएको भिसा अन्तरवार्तामा उच्च रेकर्ड कायम भएपछि नयाँ अन्तरवार्ताका लागि अप्वाइन्टमेन्ट लिन रोकिएको हो ।

महामारीका बीच भारतमा रहेको अमेरिकी दूतावासले ५५ हजारभन्दा धेरै विद्यार्थीहरुलाई भिसा प्रदान गरिएको थियो, जुन अहिलेसम्मकै धेरै भएको जनाइएको छ । नेपालमा रहेको दूतावासमा भिसा अप्वाइन्टमेन्ट प्राप्त गर्न नसक्दा नेपाली विद्यार्थीहरुले समेत भारतमा रहेको अमेरिकी दूतावासबाट उल्लेख्य संख्यामा भिसा प्राप्त गरेका थिए ।

नयाँ अप्वाइन्टमेन्टहरु नलिइएपनि पहिले नै सुनिश्चित गरिएका अप्वाइन्टमेन्टका सन्दर्भमा भने अप्वाइन्टमेन्टहरु रद्द नगरिने तथा अन्तरवार्ता लिइने दूतावासले जनाएको छ । जनवरीका लागि थप भिसा अप्वाइन्टहरु उपलब्ध हुने दूतावासले ट्वीटरमार्फत जनाएको छ ।

यसैबीच अमेरिकाको गैर आप्रवासी कामदार, विद्यार्थी र अन्य गैर आप्रवासी भिसामा अन्तरवार्ता छुट अर्कोबर्षको डिसेम्बरसम्म लागु हुने विदेश मन्त्रालयले घोषणा गरेको छ । अस्थायी कामदारभिसावाहकले अमेरिकाको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने भन्दै विदेश मन्त्रालयले गैर आप्रवासीहरुको यात्रा सुविधायुक्त बनाउन र प्रतिक्षा अवधि घटाउन आफूहरु प्रतिबद्ध रहेको बताएको छ ।

कन्सुलर अधिकारीहरुलाई अब सन् २०२२ को डिसेम्बर ३१ सम्म नै पेटिसनमा आधारित गैर आप्रवासी कामदार भिसाका निश्चित आवेदकको भिसा अन्तरवार्तामा छुट दिने अधिकार प्रदान गरिएको छ । ती श्रेणीहरुमध्ये कामदार भिसा एचवान बी समेत पर्छ, जुन भिसा अमेरिकामा विशेष पेशामा काम गर्न आउनेहरुलाई प्रदान गरिदै आएको छ ।

भिसा अन्तरवार्ता आवेदकले भिसा पाउनुभन्दा अगाडिको अन्तिम प्रकृया हो । यो अन्तरवार्तापछि आवेदकलाई भिसा दिने वा नदिनेबारे अन्तिम निर्णय गरिन्छ । तर कोरोनाको महामारीका कारण कन्सुलर सेवा प्रभावित हुँदा भिसा अन्तरवार्ताहरु रोकिने र ढिलो हुने समस्या देखिएको छ ।

झण्डै ६० प्रतिशत अमेरिकी कन्सुलेटहरु या त आंशिक रुपमा बन्द भएका छन् या त कार्यक्षमतामा कमी आएको छ जसका कारण कैयन कामदार भिसाहरु प्रकृयामा लैजान सकिएको छैन । अन्तरवार्ता छुटको व्यवस्थाले यसरी ब्याकलगमा रहेका भिसालाई प्रकृयामा लैजानका लागि कन्सुलर अधिकारीहरुलाई अधिकार प्रदान गर्छ ।

विद्यार्थी, अस्थायी कृषि र गैर कृषिकामदार, विद्यार्थी आदानप्रदान भ्रमणकर्ताहरुलाई समेत यो नीति अन्तरवार्ता अन्तरवार्ता छुट पाउने श्रेणीमा पर्छन् । तर दूतावासहरुले आवश्यक परेमा उनीहरुको अन्तरवार्ता भने तय गर्न सक्नेछन् । स्थानीय अवस्थालाई र हरेक आवेदनलाई मूल्यांकन गरेर कुनै कुनै आवेदनमा अन्तरवार्ता लिने छुट दूतावास र कन्सुलेटहरुलाई रहेको विदेश मन्त्रालयले प्रष्ट पारेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com