शाहका घोडामा कल्कीको आगमनदेखि विकृतिको तेजसम्म


प्रकाशित मिति : कार्तिक १०, २०७८ बुधबार

नेपाली चित्रकारितामा हरिप्रसाद शर्मा इतिहास, शङ्करराजसिंह सुवाल संस्कृति, हीरालाल डङ्गोल–हेम पौडेल–जीवनाथ पोखरेल चराले चिनिनुभयो । लैनसिंह बाङ्देल खासगरी कुचीमा नीलो रङ चलाउनुहुन्थ्यो । रमेश खनाल अरुपण, गौतमरत्न तुलाधर पानी र संस्कृति, किरण मानन्धर–जीवन राजोपाध्याय आदि अमूर्तता र सुषमा राजभण्डारी गणेश मुहाराकृतिले चिनिनुभएको छ । रागिनी उपाध्यायमा राजनीतिक चेत छ । डा रामकुमार भौकाजी मूर्त गाउँघरको परिवेशमा रमाउनुहुन्छ । शान्तकुमार राई महिलामा रमाउँथे । थान्का, मिथिला, नेवारी, थारू कलाका आ–आफ्नै चित्र कलाकार छँदैछन् ।

गोर्खाली राजा द्रव्य शाहका सन्तान, तत्कालीन मुमा बडामहारानी रत्नराज्यलक्ष्मीका मामाका छोरा शशिविक्रम शाह नेपाली चित्रकारिता स्थापित नाम हो जो पूर्वीय दर्शन खासगरी घोडा चित्रले बढी चिनिनुहुन्छ । भारतका हुसेन पनि घोडामा काम गर्नुहुन्थ्यो । हिन्दू धर्मको विश्वासअनुसार संसार पालनकर्ता मानिएका विष्णुको दसौँ अर्थात् कल्की अवतार सेतो घोडाका रुपमा आएर कलि नाश गर्नेछ ।

प्राचीनकालदेखि नै यातायात र लडाइँमा प्रयोग हुने घोडा गति र तीव्रताको विम्ब पनि हो । समुद्रमन्थनबाट प्राप्त दर्जनौँ वस्तुमा उच्चैश्रवा घोडा पनि एक हो । पूर्वीय दर्शनअन्तर्गत ‘अश्वशास्त्र’मा घोडाबारे निकै वर्णन छ ।

कलिको आगमन तथा विकृति र विसङ्गतिको व्याप्ति वा तीव्रता देखाउने आदि प्रयोजनका लागि कलाकार शशि शाहले घोडालाई चित्राङ्कित गरेको धेरै वर्ष भयो । उहाँले तीव्रता र गतिको प्रतीक घोडालाई बलशाली समयको विम्बका रुपमा पनि लिनुभएको छ । तिनै प्राज्ञ कलाकारको व्यक्तित्व र कृतित्व समाविष्ट गरी नाफाका सदस्यसचिव विपिनकुमार घिमिरेले ‘शशि शाहः कलायात्रा’९नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, २०७६० कृति प्रकाशनमा ल्याउनुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चित्रकारितामा सत्यमोहन जोशी, चन्द्रमानसिंह मास्के, तेजबहादुर चित्रकारको एक समूह थियो । त्यसपछि स्किब–७१, याग, नेपाल कलाकार समाज, सोमा आदि जन्मे । स्किब ९शशि, कृष्ण मानन्धर, इन्द्र प्रधान र वत्सगोपाल वैद्य० का संस्थापकमध्येका शाह पनि एक हुनुहुन्छ । ललितकला महाविद्यालयका शिक्षक, ललितकला क्याम्पसमा अध्यापक, क्याम्पस प्रमुख तथा सिर्जना कलेज अफ फाइन आर्टस्का संस्थापक तथा प्रिन्सिपल शाह नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ पनि हुनुभयो ।

संस्थागत आबद्धता शाहका लगभग यिनै होलान् । भारतको मुम्बईस्थित सर जेजे स्कूल अफ आर्टस्बाट तालिम प्राप्त उहाँ आफ्नो परिवार र डा हर्क गुरुङबाट कला प्रेरणा लिएर यस क्षेत्रमा आउनुभएको हो । उहाँका दाजु गोवद्र्धन त नेपालका प्रथम व्यङ्ग्यचित्रकार नै मानिनुहुन्छ । एकासी वर्षीय शाहका देशविदेशका काठमाडौँ, पोखरा, भारत, बङ्गलादेश, जापान, दक्षिण कोरिया, अष्ट्रेलिया, रुसमा कला प्रदर्शनी भइसकेको छ ।

अतियथार्थवादी कलाकार स्पेनका साल्भाडोर डालीबाट प्रेरित उहाँका कला शुरुमा मुलुकका सामाजिकार्थिक समस्या, विकृति, विसङ्गतिमा केन्द्रित थियो । उहाँ पछि परावस्तुवादी, अमूर्त अभिव्यञ्जनावादतिर डोरिनुभयो । घोडाको चित्रण गर्दा उहाँका रेखाङ्कन, संरचना, अनुपात, रङ संयोजन सीपमा बेजोड छ । “हरेक मान्छेको आत्मामा घोडा छ । घोडाको गुण–आफू मर्ने बेलामा मात्र ऊ थाक्छ । घोडा बलको प्रतीक हो र सबैभन्दा बलवान् समय हो ।।।हामी घोडा झैँ हुुनुपर्दछ किनकि त्यो दौडमा थाक्दैन । यदि त्यस्तो हुन सकेन भने आजको समयमा हामी बाँच्न सक्दैनौँ”, शाह भन्नुहुन्छ ।

घोडालाई गति र अथकताको मात्र विम्ब नमानी उहाँले हरिया, नीला, प्याजी, काला घोडाका माध्यमबाट सफलता, खुशी, उल्लास, दुःखको भाव सिर्जना गर्नुभएको छ । गतिशील, तेजिला, शक्तिशाली घोडाहरुले पीडा, डर, त्रास र चिन्ता भाव पनि दिएका छन् । यसरी उहाँ आफ्नो मौलिक पहिचान दिई घोडाका माध्यमबाट कल्की र गति मात्र नभई विकृति, विसङ्गति, असमानता आदि सबै विषयमा कुद्नुभएको छ ।

खासगरी सेता, काला, नीला, पहेँला रङको संयोजनबाट उहाँले ‘दशावतार’, ‘समुद्र मन्थनको केही रुप’, ‘ब्रह्मा, विष्णु र महेश’, ‘रामायण’, ‘शरशय्यामा भीष्मपितामह’, ‘अज्ञाततिर सिँढी’, ‘उडिरहेको चङ्गा’, ‘नील रात’, ‘सूर्यका सात घोडाहरु र दुःखी भिक्षु’, ‘ब्ल्याक हर्स एण्ड वल्र्ड ट्रेड सेन्टर’, ‘घोडामाथि हतियारधारी बुद्ध’, ‘राजदरबार हत्याकाण्ड’ आदि चित्राङ्कन गरेका छन् ।

विद्यालय जीवनदेखि नै उहाँले खाली समय रेखाचित्रमा ध्यान दिनुभएको थियो । कालो मसी र नीबबाट आफ्नै विभिन्न रुप, समुद्र मन्थन, शेषश्यामा विष्णु, घोडाका विभिन्न रुप पनि रेखाङ्कन गर्नुभएको छ । रोचक घिमिरेको ‘रचना’ पत्रिकामा निरन्तर समसामयिक व्यङ्ग्यचित्र छापिँदै आएको छ । “शशिका चित्रहरु समाजमा व्याप्त विकृतिमाथि सूक्ष्म रुपबाट प्रतिक्रिया जनाउँछन् । उनका चित्रहरुमा अन्याय र अत्याचारबाट थिचिएका पात्रहरुको चित्रणम विद्रोहको आभास दिइएको हुन्छ । खास गरी घोडाको स्वरुपमा चित्रण गरिएका विविधताले दिने प्रभाव नै उनमा रहेको विशेषता मानिएको छ”, कलाकार तथा लेखक घिमिरे भन्नहुन्छ ।

कृतिले शाहका बारे अझ बढी अनुसन्धान गर्न ढोका खोलिदिएको छ । स्थापित कलाकारलाई चिनाउने लेखकको यो प्रयास प्रशंसनीय छ । शाहका प्रतिनिधिमूलक चित्रहरुले कृतिलाई गहकिलो बनाएको छ । कृृतिमा एक अङ्ग्रेजी लेख पनि छ, जसको भाव नेपालीमा आइसकेकाले नराखेको भए हुन्थ्यो । नाफा जस्तो संस्थाबाट प्रकाशित कृतिमा पनि वर्णविन्यासमा अनगन्ती अशुद्धि हुनु राम्रो होइन ।रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com