बाढी पीडित भन्छन् : कति दिन विद्यालयमा बस्ने ?


प्रकाशित मिति : कार्तिक ६, २०७८ शनिबार

टीकापुर/ कैलालीमा कात्तिक २ गते आएको बेमौसमी बाढीले धेरैलाई घरबारविहीन बनाएको छ । कैलालीमा बाढीका कारण हजारौँ घर डुबानमा परेका छन् भने सयौँ परिवारले घर गुमाएका छन् । बाढीमा घर मिसिएकाहरु यतिखेर विभिन्न विद्यालयमा आश्रय लिएर बसिरहेका छन् । विद्यालयमा आश्रय लिएर बसिरहेकाहरु घर कहिले फर्कने, कसले घर बनाइदिने भन्ने अन्योलमा छन् । जानकी गाउँपालिका–३ मुक्तकमैया बस्तीका चन्टु थारूको घर अहिले छैन ।

हालै भएको अविरल वर्षाका कारण कर्णाली नदीमा आएको बाढीले बस्ती डुबानमा परेपछि चौधरीको घर त्यही बाढीमा मिसियो । बाढीमा घर गुमाएका चौधरीको घरमा रहेका अन्नपात, लुगाकपडासहित सबै सम्पत्ति बग्यो । जीवनभरि कमाएको सबै पानीमा बगेपछि चौधरीसहित त्यहाँका केही मुक्तकमैया बालमुक्ति आधारभूत विद्यालयमा बसोबास गरिरहेका छन् ।

विद्यालयमा बसिरहनुभएका चौधरी नजिकै रहेको घरतिर फर्केर हेर्दा निकै भक्कानिनुहुन्छ । “घरतिर हेर्छु, घर नै छैन, दुःख गरेर जोडेको सबै सामान बग्यो”, उहाँ भन्नुहुन्छ, “छ दिन भयो विद्यालयमा बसेको । यसरी बसेर कति दिन टर्छ । घर बचेकाहरु घर सफा गर्न थालेका छन् । स्थानीय सरकारले राहत दिने भनेको छ । घर भएकाहरु त फर्केलान, हामी कहाँ जाउला ?”

चन्टुजस्तै सुस्मिता थारूको घर पनि बाढीले भत्काएर पूर्णरूपमा नष्ट भएको छ । उहाँ पनि घर नै नरहेपछि अब कहाँ बस्ने भन्ने चिन्तामा हुनुहुन्छ । “आँखै अगाडि बाढीले सबै बगायो, घरभित्रका केही सामान पनि सार्न सकिएन”, सुस्मिताले भन्नुभयो, “दैव पनि हामीजस्ता गरिबलाई नै विपत्तिमा पार्ने रहेछ । गरिबीमा बाँचेका हामी अब घरै नरहे कहाँ बसौँला ? ”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बाढीले बस्तीमा १८ परिवारका घर रहेनन् । ती परिवारले आँखा अगाडि घर बाढीमा मिसिएको देखिरहे तर आफ्नो केही सामान पनि जोगाउन पाएनन् । यसरी विद्यालयमा बसेका सयौँ नागरिकलाई पालिकाले साँझ बिहान दुई छाक खाना खुवाइरहेका छन् । जिल्लामा बाढीका कारण सयौँ परिवारले घर गुमाएका छन् भने हजारौँ परिवार विस्थापित भएका छन् ।

टीकापुर, भजनी नगरपालिका र जानकी गाउँपालिकाका उच्च स्थानमा रहेका विद्यालय यतिखेर बाढी प्रभावितले भरिएका छन् । पालिका र सङ्घसंस्थाले सहकार्य गरेर विद्यालयमा आश्रय लिइरहेकालाई खाना खुवाइरहेका छन् । टीकापुरमा सयौँ परिवार विद्यालयमा बसिरहेका छन् । टीकापुरको तटीय क्षेत्र वडा नं ८ मा बाढीले बढी क्षति पु-याएको छ ।

वडा नं ८ पूरै प्रभावित भएकाले त्यहाँका विस्थापित परिवारलाई राहत तथा उद्धारका कार्यमा पालिका जुटेको विपद् व्यवस्थापन शाखाका प्रमुख निर्मला चौधरीले बताउनुभयो । “हामीले विपद् व्यवस्थापन समितिको बैठक बसेर मापदण्ड बनाएर राहतका कार्यक्रम ल्याउँदैछौँ”, उहाँले भन्नुभयो, “बाढीले ठूलो क्षति पु-याएकाले राहत तथा उद्धारका कार्यमा सबै मिलेर काम थालिएको छ ।”

सङ्घसंस्थाको सहयोगमा पानी, चिउरा र चाउचाउ वितरण भइरहेका छन् । जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरी पालिकाले तथ्याङ्क सङ्कलन र क्षतिको विवरण सङ्कलन गरिरहेकाले केही दिनमै राहतका कार्यक्रम ल्याइने बताउनुभयो । “सरकार साथमा छ भोकै कसैले बस्नु नपरोस् भन्ने गरी काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “हामीले सहयोगी सङ्घसंस्थालाई समेत सहकार्य गर्न आग्रह गरेका छौँ । क्षति हेरेर सहयोग हुनेछ ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com