बेलायतको अल्डरशटमा भिक्टोरिया क्रस पाउने पहिलो गोर्खा कुलवीर थापाको सालिक अनावरण


प्रकाशित मिति : आश्विन १०, २०७८ आईतबार

बेलायती सेनाको सबैभन्दा विशिष्ट पदक भिक्टोरिया क्रस (भिसी) पाउने पहिलो गोर्खा राइफलम्यान कुलवीर थापाको सालिक अनावरण भएको छ ।

अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा निर्मित सालिक शनिबार बौद्ध परम्परा अनुसार लामा र हिन्दू परम्पराअनुसार पण्डितले पूजापाठ गरेपछि अनावरण गरिएको थियो ।

बेलायती रक्षा तथा भेट्रान्स राज्यमन्त्री लियो डोचेर्टी, ह्याम्पसायर काउन्टीका डेपुटी लर्ड लेफ्टिनेन्ट मणीकुमार राई, बेलायती सेनाका कमाण्डर होम कमाण्ड एण्ड स्ट्याण्डिङ जोइन्ट कमाण्डर लेफ्टिनेन्ट जनरल इयान केभ सिबी, दूतावासकी उपनियोग प्रमुख रोशन खनाललगायतले सालिक अनावरण गरे ।

समारोहमा सहभागी विशिष्ट अतिथीहरुले सालिकमा रिथ अर्पण गरेका थिए भने दिवंगत गोर्खाहरुको सम्झनामा मौनधारण गरियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ग्रेटर रसमोर नेपलिज कम्युनिटीको नेतृत्वमा नेपाली तथा विदेशीबाट चन्दा संकलन गरि सालिक बनाइएको हो ।

प्रोजेक्ट म्यानेजर क्याप्टेन रिटायर्ड ग्यारी घलेका अनुसार सालिक बनाउन एक लाख ७० हजार पाउण्ड बढी खर्च भएको छ । मूर्ति बनाउन मात्र कलाकार एमी गुडम्यानलाई करिब ७५ हजार पाउण्ड दिइएको थियो ।

कुलवीर थापा

रसमोर बरो काउन्सिलले इजाजत दिएपछि गत फेब्रुअरी २०१९ मा प्रोजेक्ट शुरु भएपनि कोभिड महामारीले केही समय लम्बिएर अहिले अनावरण सम्भव भएको हो ।

काउन्सिलले वर्षेनी एक पाउण्डमा ९९ वर्षको लिज दिएको छ । सालिक मर्मत सम्भार पनि काउन्सिलले नै गर्छ ।

‘बेलायत नेपाल सम्बन्धको मुख्य आधार स्तम्भ हुन् गोर्खा । बेलायती सेनामा गोर्खा भर्तीको इतिहास लगभग २०५ वर्ष लामो छ । गोर्खाहरुको बहादुरी र योगदान स्मरण गर्न पनि सालिकको कन्सेप्ट आएको हो’, म्यानेजर घलेले भने ।

अल्डरसटलाई भूतपूर्व गोर्खाहरुले आफ्नो दोश्रो घर ठान्छन् । यहां नेपालीले सञ्चालन गरेका व्यवसाय असंख्य छन् ।

वेलिङटन काउन्सिलर जीव बेल्वासे आफ्नो टाउनमा सालिक निर्माण गोर्खा र सिभिल नेपाली दुवैका लागि गर्वको विषय भएको बताउंछन् । ‘अल्डरसटमा स्थानीय समुदायसंग नेपालीहरुको सुमधुर सम्बन्धको प्रमाण पनि हो यो’, उनले भने ।

कुलवीर थापा

प्रोजेक्ट संयोजक मेजर (रि.) खिम गौचन र ग्रेटर रसमोर नेपलिज कम्युनिटी अध्यक्ष रामधन राईले प्रोजेक्ट सफल पारिदिएकामा समस्त दाताप्रति आभार व्यक्त गरेका छन् ।

यस्तो छ थापाको इतिहास

स्वर्गीय कुलबीर थापा बेलायत सरकारको सम्मानित पदक भिक्टोरिया क्रस (भिसी) पाउने पहिलो नेपाली हुन् । पाल्पामा जन्मिएका थापाले भारतीय सेनामा सेवारत रहंदा २६ वर्षको उमेरमै भिक्टोरिया क्रस पाए ।

लुको युद्धको शुरुमा २५ अप्रिल १९१५ मा उनी फ्रान्समा तैनाथ थिए । उनको सैनिक टोलीमाथि विपक्षी जर्मन सैनिकहरुले गोलाबारी शुरु गरे । लड्दै जांदा उनी जर्मन नियन्त्रित क्षेत्रमा पुगिसकेका रहेछन् । उनी घाइते पनि थिए ।

उनले बेलायतको लेस्टरसायर रेजिमेन्टको दोश्रो बटालियनका एकजना नराम्रोसंग घाइते सैनिकलाई भेट्टाए । ती सैनिकले उनलाई आफ्नो ज्यान जोगाउन सुझाव दिए । तर, थापा दुश्मनको क्षेत्रमा उनीसंग एक रात, एक दिन संगै बसे ।

वीनचेस्टरको गोर्खा म्युजियममा कुलवीर थापाका भिक्टोरिया क्रस लगायतका मेडलहरु ।

सेप्टेम्बर २६ का दिन एकाबिहानै उनले जर्मनहरुले लगाएको तारबार नाघेर ती घाइते सैनिकलाई ल्याएर राखे । त्यसपछि फेरी दुश्मनहरुको नियन्त्रणमा रहेको इलाकाभित्र पसेर उनले दुईजना घाइते गोर्खा सैनिकलाई पालैपालो सुरक्षित स्थानमा ल्याए । उनी फेरी गएर घाइते ब्रिटिश सैनिकलाई पनि दिउसो उज्यालोमै सुरक्षित स्थानसम्म पुरयाए ।

यही बहादुरीका लागि बकिङघम राजदरबारमा आयोजित एक समारोहमा ब्रिटिश नरेश किङ जर्ज पांचौंले थापालाई भिक्टोरिया क्रस तक्मा प्रदान गरेका थिए ।

सन् १८८९, १५ डिसेम्बरका दिन पाल्पामा जन्मिएका तिनै भिसी विजेता थापामाथि बेलायतका नेपाली युवाले बनाएको चलचित्र ‘गोर्खा बिनीथ द ब्रेभरी’ पनि प्रदर्शनको क्रममा छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com