माधव नेपालले सार्वजनिक अपिल गर्दै भने–एमाले पुनर्गठनका लागि वैधानिक रुपमा विद्रोहको बाटो अपनायौं (अपिलसहित)


प्रकाशित मिति : भाद्र २, २०७८ बुधबार

नेकपा एमालेबाट अलग भएका नेता माधवकुमार नेपालले नेकपा एमालेको पुनर्गठन एवं रुपान्तरण गर्दै नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने उद्धेश्यले विकल्पको बाटो रोज्नुपर्ने बाध्यकारी अवस्था सिर्जना भएको बताएका छन्।

नेकपा एमाले (समाजवादी) पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि सार्वजनिक अपिल जारी गर्दै नेता नेपाले पार्टीको ठूलो पंक्तिलाई अन्धकार भविष्यतिर धकेलिने र निराशाको अवस्थामा पुग्न नदिन तथा नेपाली कम्युनिष्ट आन्दोलनलाई विसर्जन हुनबाट जोगाउनका निम्ति कठोर कदम चाल्नुपर्ने स्थिति उत्पन्न भएको बताएका हुन्।

‘नेकपा एमालेले स्थापित गरेको विचारको विविधतालाई आत्मसात गर्ने दृष्टिकोण, विधि र पद्धतिमा चल्ने कार्यप्रणाली तथा जनपक्षीय आचरणलाई बचाइराख्न चाहन्छौं,’ उनले अपिलमा भनेका छन्, ‘त्यसका निम्ति नेकपा एमालेलाई नयाँ ढंगले पुनर्गठित र रुपान्तरित गर्ने अभियान चलाउनु आवश्यक छ।’

उनले एमाले पुनर्गठन र रुपान्तरणको यस महाअभियानका क्रममा नेकपा एमालेबाट वैधानिक रुपमा विद्रोह गरी नेकपा एमाल समाजवादी नामको नयाँ पार्टी गठन गर्दै अगाडि बढेको बताएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पार्टीपंक्ति र आमजनसमुदायमा हार्दिक अपिल

प्रिय कमरेडहरू तथा आदरणीय जनसमुदाय,
यतिवेला हाम्रो पार्टी नेकपा (एमाले) गम्भीर संकटबाट गुज्रिरहेको छ। हाम्रोे पार्टी एकताबद्ध भएर अगाडि बढ्न नसक्ने अत्यन्त पीडादायी अवस्था सिर्जना भएको छ। यस्तो स्थिति सिर्जना हुनुको मुख्य कारण पार्टी अध्यक्ष केपी शर्मा ओलीले अंगीकार गरेको गलत विचार र उहाँले गरिरहेको गलत व्यवहार हो। उहाँ पार्टीका सिद्धान्त, नीति, विचार र पार्टीको नवौँ महाधिवेशनबाट पारित गरिएका निर्णयअनुसार नचल्नु हो।

पार्टीको नवौँ महाधिवेशनले मुलुकलाई वैज्ञानिक समाजवादको दिशामा अगाडि बढाउने मूल नीति पारित गरेको थियो, तर त्यही महाधिवेशनबाट पार्टी अध्यक्षमा चुनिएका केपी ओलीले महाधिवेशनका निर्णय बोक्दै बोक्नुभएन। उहाँ पार्टी महाधिवेशनप्रति इमानदार रहनुभएन। उहाँले महाधिवेशनका निर्णय पालना नगरी आफूखुसी चल्ने काम गरेकाले पार्टीमा गम्भीर मतभेद उत्पन्न भयो। त्यसैबीच तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता गरेर निर्माण गरिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्षका रूपमा रहँदा पनि केपी ओली पार्टीका नीति र विधिअनुसार कहिल्यै चल्नुभएन। मुलुकको प्रधानमन्त्रीसमेत रहेका उहाँले सरकार पनि पार्टी नीति र जनअपेक्षाअनुसार चलाउनुभएन। उहाँ मुलुकको संविधानअनुसार पनि चल्नुभएन।

फलतः पार्टीमा गम्भीर मतभेद र विवाद उत्पन्न भयो। उहाँले ०७७ पुस ५ मा असंवैधानिक ढंगले प्रतिनिधिसभाको विघटन गर्न सिफारिस गरेपछि उक्त विवाद चरमचुलीमा पुग्यो र तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रूपले दुई भागमा विभाजित भयो।

०७५ जेठ ३ मा तत्कालीन नेकपा (एमाले) र नेकपा (मओवादी केन्द्र) बीच एकता भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को निर्माण हुनु नेपाली कम्युनिस्ट आन्दोलनलाई आधारभूत रूपमा एकीकृत गर्ने एउटा ऐतिहासिक घटना थियो, तर केपी ओलीकै गलत विचार र व्यवहारका कारण त्यो ऐतिहासिक एकता टिक्न सकेन। ०७७ फागुन २३ मा आदालतको फैसलाद्वारा त्यो एकता भंग भयो। अदालतको उक्त फैसलाले तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पूर्वावस्थामै फर्कनुपर्ने स्थिति सिर्जना भएको थियो। त्यस अवस्थामा नेकपा (एमाले) को ०७५ जेठ २ सम्म कायम रहेको केन्द्रीय कमिटीको पूर्ण बैठक बसेर अब कसरी अगाडि बढ्ने हो भन्ने सम्बन्धमा निर्णय लिनुपर्दथ्यो। पार्टी अध्यक्षको जिम्मेवारीमा रहेका केपी ओलीले त्यसका निम्ति पहल गर्नुपर्दथ्यो, तर उहाँले त्यस्तो कुनै पनि पहल नगरी ‘केन्द्रीय कमिटीको विशेष बैठक’ भन्ने नाम दिएर पार्टीभित्रको आफ्नो गुटको मात्र बैठक बसी नेकपा (एमाले) को नवौँ महाधिवेशनका निर्णयहरू उल्टाउने, महाधिवेशनबाट पारित पार्टी विधानमा संशोधन गर्ने, महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको पद खारेज गर्नेजस्ता निर्णय गरी नेकपा (एमाले) लाई विभाजनतर्फ धकेलिदिनुभयो।

त्यस प्रकारको विषम परिस्थितिमा हामीले २०७७ चैत ४-५ मा राष्ट्रिय कार्यकर्ता भेला गरेर गम्भीर एवं गहन रूपमा छलफल गरी ‘नेकपा एमालेको एकता बचाऔँ, कम्युनिस्ट आन्दोलनको रक्षा गरौँ’ भन्ने आह्वान गर्‍याैँ, तर ओलीले एकताका लागि पहल गर्ने होइन कि उल्टै निरन्तर रूपमा विभाजनकारी क्रियाकलाप अगाडि बढाउनुभयो। उहाँले सांगठनिक हिसाबले विभाजनकारी गतिविधि गरेको मात्र होइन पार्टीले अँगालेका सिद्धान्त एवं विचार र नवौँ महाधिवेशनले तय गरेको कार्यदिशालाई समेत लत्याउने तथा पार्टी विधानको पूरै उल्लंघन गर्नेजस्ता कार्य गरी पार्टीलाई विसर्जनको दिशामा धकेल्ने काम गर्नुभयो। उहाँ गाली लौजमा समेत उत्रिनुभयो। उहाँले पार्टी एकताको पक्षमा रहेको भान पार्न अनेकौँ प्रकारका चालबाजी र नाटक त गर्नुभयो, तर वास्तवमा पार्टी एकतामा अगाडि बढ्न चाहनुभएन। निरन्तर रूपमा विभाजनकारी निर्णय र गतिविधि गर्दै अगाडि बढ्नुभयो। हामीले पार्टी एकता जोगाउन निरन्तर रूपमा प्रयत्न गर्‍याैँ, तर केपी ओलीले कुनै हालतमा पनि एकता गर्न नचाहेपछि हाम्रो प्रयत्नले मात्र पार्टी एकता कायम रहन नसक्ने स्थिति उत्पन्न भयो। त्यसैले आज हामी इतिहासको एउटा अत्यन्तै गम्भीर मोडमा आइपुगेका छौँ।

उहाँले एकातिर एकताको निम्ति वार्ताको अभिनय गर्ने अर्कोतर्फ नयाँ पार्टी सदस्यता वितरण गर्ने, पार्टी सदस्यताको नवीकरण गर्ने र पार्टीको तल्लो तहको अधिवेशनको मिति तोक्दै व्यापक रूपमा संगठनात्मक क्रियाकलाप अगाडि बढाउँदै आफ्नो गुटको शक्ति वृद्धि गर्ने र हामीलाई कुनै संगठनात्मक गतिविधि गर्न नदिई वार्ताको नाटकमा अल्मल्याउने काम गरिरहनुभयो। यति मात्र होइन, उहाँले कहिले स्पष्टीकरण, कहिले कारबाही, कहिले आममाफी, गद्दार, देशद्रोही घोषणा गर्दै फलानो-फलानो व्यक्तिको निम्ति एकताको च्याप्टर क्लोज, ढोका बन्द भन्दै नेतृत्वपंक्तिबीच विभाजन ल्याई अलमल्याउने र कतिपयलाई तान्ने काममा लागि रहनुभयो। हुँदाहुँदा २०७८-०५-०१ गतेका दिन त उहाँले पार्टी नेता र सांसदहरूलाई कारबाही गरी गैरकानुनी रूपमा निष्कासन गर्ने तहमा उभिइसकेपछि बाध्य भएर हामीले कठोर फैसला गर्नुपर्ने अवस्था सिर्जना भएको छ। पार्टीको ठूलो पंक्तिलाई अन्धकार भविष्यतिर धकेलिने र निराशाको अवस्थामा पुग्न नदिन तथा नेपाली कम्युनिस्ट आन्दोलनलाई विसर्जन हुनबाट जोगाउनका निम्ति हामीले कठोर कदम चाल्नुपर्ने स्थिति उत्पन्न भएको छ। नेकपा (एमाले) को पुनर्गठन एवं रूपान्तरण गर्दै नेपाली कम्युनिस्ट आन्दोलनको रक्षा गर्ने उद्देश्यले विकल्पको बाटो रोज्नुपर्ने बाध्यकारी अवस्था सिर्जना भएको छ।

प्रिय कमरेडहरू तथा आदरणीय जनसमुदाय,
हामी हाम्रा अग्रजहरूको क्रान्तिकारी दृष्टिकोण, सहिदहरूको बलिदान र हजारौँ योद्धाहरूको त्याग, तपस्या र कठोर परिश्रमबाट निर्मित गौरवमय इतिहास बोकेको नेपाली कम्युनिस्ट आन्दोलनलाई विसर्जन हुनबाट जोगाउन चाहन्छौँ। हाम्रो पार्टीले स्थापना कालदेखि नै राष्ट्र र जनतासमक्ष राखेका लक्ष्य उद्देश्यहरू प्राप्त गर्ने दिशामा दृढ कदमका साथ अगाडि बढ्न चाहन्छौँ। त्यसका निम्ति क्रान्तिकारी दृष्टिकोण, मुलुकको राष्ट्रिय स्वतन्त्रता र स्वाभिमानप्रतिको दृढ अडान र वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्ने पूर्ण प्रतिबद्धताका साथ कदम चाल्नुपर्ने आवश्यकता परेको छ। नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिहरूको रक्षा र विकासका निम्ति पनि हामीले दृढताका साथ अगाडि बढ्नुपर्ने भएको छ। यही दायित्वबोधका साथ अगाडि बढौँ।

प्रिय कमरेडहरू तथा आदरणीय जनसमुदाय,
हामी देश, जनता र कम्युनिस्ट आन्दोलनप्रतिको आफ्नो दायित्वबाट पन्छिन सक्तैनौँ। हामी आफ्नो राष्ट्र र जनताप्रतिको कर्तव्य पालनाबाट विमुख हुन पनि सक्तैनौँ। त्यसैले नेपाली कम्युनिस्ट आन्दोलनले स्थापित गरेका देश र जनताप्रतिको सेवाभाव, राष्ट्रिय स्वतन्त्रता र स्वाभिमानप्रतिको दृढ अडान, स्वच्छ संस्कार र क्रान्तिकारी अडान तथा समाजवादी ध्येयप्रतिको अटल विश्वासजस्ता असल मान्यतामा अडिइरहन चाहन्छौँ। नेकपा (एमाले) ले स्थापित गरेको विचारको विविधतालाई आत्मसात् गर्ने दृष्टिकोण, विधि र पद्धतिमा चल्ने कार्यप्रणाली तथा जनपक्षीय आचरणलाई बचाइराख्न चाहन्छौँ। त्यसका निम्ति नेकपा (एमाले) लाई नयाँ ढंगले पुनर्गठित र रूपान्तरित गर्ने अभियान चलाउनु आवश्यक छ। नेकपा (एमाले) पुनर्गठन र रूपान्तरणको यस महाअभियानको क्रममा हामीले नेकपा (एमाले)बाट वैधानिक रूपमा विद्रोह गरी नेकपा एमाले (समाजवादी) नामको नयाँ पार्टी गठन गर्दै अगाडि बढेका छाैँ। कम्युनिस्ट आन्दोलन तथा लोकतान्त्रिक र राष्ट्रियताको यस महाअभियानलाई सशक्त र प्रभावकारी रूपमा नयाँ उत्साह र संकल्पका साथ अघि बढाउन आ-आफ्नो ठाउँमा खट्नुहुन र सहयोग पुर्‍याउनुहुन सबैमा हार्दिक अपिल गर्दछौँ।

माधवकुमार नेपाल

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com