प्रधानमन्त्री देउवाले चाहेजस्तै अमेरिकाको फाइजर खोप तत्काल नेपालमा ल्याउन सम्भव छ ?


प्रकाशित मिति : असार ३१, २०७८ बिहीबार

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीमा नियुक्त भएको भोलिपल्टै अमेरिकामा विकशित तथा स्वीकृत कोरोनाबिरुद्धको फाइजर भ्याक्सिन नेपालमा ल्याउन सम्भव भए नभएकोबारे स्वास्थ्य मन्त्रालयका अधिकारीहरुसँग छलफल गरेका थिए ।

तर फाइजर भ्याक्सिन अनुदानमा वा किनेर पनि तत्काल नेपालमा ल्याउन सम्भव नभएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुको भनाई छ । अधिकारीहरुका अनुशार  नेपालमा भ्याक्सिन भण्डारणको क्षमतामा बृद्धि नगरेसम्म यो खोप नेपालमा ल्याएर वितरण गर्न सम्भव छैन ।

अमेरिकाबाट कोभ्याक्सनमार्फत प्राप्त हुने भ्याक्सिन पनि भ्याक्सिनको भण्डारण र परिचालन सही तरिकाले हुनसक्ने सुनिश्चित गरेरमात्र दिइने भएकाले नेपालले मोडेर्ना वा फाइजर सही तरिकाले भण्डारण र परिचालन गर्न नसक्ने ठहर गर्दै नेपाललाई कोभ्याक्सनमार्फत जोन्सन एण्ड जोन्सन भ्याक्सिन प्रदान गरिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकाले फाइजर भ्याक्सिनमा उल्लेख गरिएको म्यादसम्म भण्डारण गर्नका लागि यो भ्याक्सिनलाई माइनस ६० डिग्रीदेखि माइनस ८० डिग्री सेल्सियस तापक्रमभित्रको अत्यन्तै चिसो फ्रिजरमा राख्नुपर्छ । नेपालमा यति चिसो तापक्रममा भण्डारण गर्न मिल्ने कुनै व्यवस्था छैन । यो भ्याक्सिन माइनस ७० डिग्री सेल्सियसमा राख्न सिफारिस गरिएको छ ।

नेपालमा माइनस २० डिग्री सेल्सियसभन्दा कम तापक्रममा भण्डारण गर्न सकिने कुनै व्यवस्था नभएको नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्णप्रसाद पौडेलले खसोखासलाई जानकारी दिए । डाक्टर पौडेलले भने – ‘हामीसँग माइनस २० डिग्री सेल्सियसभन्दा कम तापक्रममा भण्डारण गर्न मिल्ने कुनै प्रबन्ध छैन ।’

फोटो: सीडीसी

फाइजर भ्याक्सिन दुइसातासम्मका लागि माइनस १५ डिग्रीदेखि माइनस २५ डिग्री सेल्सियससम्म भण्डारण गर्न सकिन्छ । तर सीडीसीको पछिल्लो गाइडलाइन अनुशार त्योभन्दा लामो समय उक्त तापक्रममा फाइजर भ्याक्सिन भण्डारण गर्न मिल्दैन । फाइजरको भ्याक्सिन दुईडोज २१ दिनको अन्तरमा दिनुपर्ने भएकाले अहिलेसम्म २१ दिनसम्म यो भ्याक्सिन नेपालमा भण्डारण गर्न मिल्ने कुनै व्यवस्था छैन । काठमाडौंमा दुईसातासम्म भण्डारण गर्न मिलेपनि भ्याक्सिन परिचालन गर्दा यो सुविधा पनि उपलब्ध नहुने भएकाले यो भ्याक्सिन नेपालमा तत्काल वितरण सम्भव देखिन्न ।

त्यस्तै मोडेर्ना मोडेर्ना भ्याक्सिन पनि नेपालमा लामोसमय भण्डारणका लागि उचित व्यवस्था देखिन्न । यो भ्याक्सिन माइनस १५ देखि माइनस ५० डिग्री सेल्सियसभित्र भण्डारण गर्नुपर्छ । नेपालमा माइनस २० डिग्री सेल्सियससम्मको तापक्रममा भण्डारण गर्नसकिने व्यवस्था रहेपनि यो भ्याकिसन सकभर माइनस २० डिग्री वा त्यो भन्दा माथि राख्न सिफारिस गरिएको छ । प्रवक्ता पौडेलले भने – ‘तर हामीसँग माइनस २० डिग्रीभन्दा माथि धान्ने प्रणाली छैन ।’

मोडर्ना भ्याक्सिन २ देखि ८ डिग्री सेल्सियसको तापक्रममा ३० दिनसम्म राख्न सकिन्छ । यो तापक्रममा भ्याक्सिन राख्नसक्ने व्यवस्था नेपालले गर्नसक्छ । तर यो भ्याक्सिन दुईडोज २८ दिनको अन्तरमा दिनुपर्ने भएकाले काठमाडौंबाहिर वा दुर्गम स्थानमा भ्याक्सिन परिचालनमा भने समस्या हुनसक्छ । प्रयोगका लागि प्वाल पारिएको भ्याक्सिनको शीशी २ डिग्रीदेखि २५ डिग्री सेल्सियसको तापक्रममा १२ घण्टासम्म राख्न सकिन्छ ।

जोन्सन एण्ड जोन्सनको भ्याक्सिन भने नेपालको लागि भण्डारण र वितरणमा सहज रहेको छ । एकडोजमात्र लगाए पुग्ने यो भ्याक्सिन २ देखि ८ डिग्री सेल्सियसको तापक्रममा आइपुग्छ र यही तापक्रममा भ्याक्सिनको म्यादसम्मै भण्डारण गर्न सकिन्छ । त्यस्तै प्रयोगका लागि प्वाल पारिएको भ्याक्सिनको शीशी पनि यो तापक्रमममा ६ घण्टासम्म राख्न सकिन्छ । नेपालको स्वास्थ्य संरचनामा यो तापक्रममा भ्याक्सिन राख्न र वितरण गर्नमा समस्या छैन ।

नेपालमा चाइनिज भ्याक्सिन भेरोसेल लगाउने क्रममा

नेपालमा विगतमा वितरण गरेको आष्ट्राजेनकाले विकाश गरेको काभिशिल्ड भ्याक्सिन पनि २ देखि ८ डिग्री सेल्सियस तापक्रममा राखे पुग्ने खालको थियो । यसरी यो भ्याक्सिन उक्त तापक्रममा ६ महिनासम्म राख्न सकिन्छ । त्यस्तै प्रयोगका लागि प्वाल पारिएको भ्याक्सिनको शीशी ३० डिग्री सेल्सियसको तापक्रममा ६ घण्टासम्म राख्न सकिन्छ । त्यस्तै नेपालमा वितरण गरिएको सिनोफार्म अन्तरगतको भेरोसेल भ्याक्सिनपनि २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न मिल्ने भ्याक्सिन हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com