अमेरिकी दूतावास काठमाडौंले आंशिक भिसा सेवा सुचारु गरेपनि डिभीलाई प्राथमिकता नदिइने


प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार

अमेरिकी दूतावास काठमाडौंले केही आप्रवासी र गैर आप्रवासी भिसा सेवा सुचारु गरेगरेपनि २०२१ का डिभी विजेताहरुको भिसालाई भने प्राथमिकता नदिइने भएको छ । कोरोनाको महामारीका कारण अमेरिकी दूतावास काठमाडौंले अप्रिल २९ देखि सम्पूर्ण भिसा अप्वाइन्टमेन्टहरु रद्द गरेकोमा मंगलबार एक सुचना जारी गर्दै केही केही आप्रवासी र गैर आप्रवासी भिसा सेवा सुचारु गरेको जानकारी दिएको थियो ।

के अब डिभी २०२१ का विजेताहरुको भिसा प्रकृयामा लगिनेछ ? खसोखासले यो प्रश्न अमेरिकी दूतावास काठमाडौंलाई सोध्दा दूतावासको वेवसाइट हेर्न सुझाव दिइएको छ । दूतावासका तर्फबाट खसोखासलाई दिइएको जवाफमा भनिएको छ – ‘हामी तपाइँलाई हाम्रो वेबसाइट हेर्न प्रोत्साहन गर्दछौं, जसले नियमित आधारमा सूचना अपडेट गर्दछ।’

त्यस्तै सोही प्रश्न खसोखासले अमेरिकी विदेश मन्त्रालयले ब्यूरो अफ कन्सुलर अफेयर्समा पनि सोधेको थियो । ब्यूरो अफ कन्सुलर अफेयर्सले दिएको जवाफमा पनि पनि डिभीका सन्दर्भमा कुनै सन्दर्श समावेश नगरी डिभीलाई प्राथमिकता नदिइएको स्पष्ट संकेत गरेको छ । डिभीलाई केन्द्रीत गरेर प्रश्न सोधिएको भएतापनि जवाफमा डिभीबारे केही समावेश गरिएको छैन ।

अमेरिकी विदेश मन्त्रालयका अधिकारीका तर्फबाट खसोखास प्रधानसम्पादक किशोर पन्थीलाई दिइएको जवाफमा भनिएको छ – ‘विदेश मन्त्रालय आप्रवासी र गैरआप्रवासी यात्रु दुबैलाई अमेरिकाको बैध यात्राका लागि सहजिकरणको एउटा मुख्यमध्येको जिम्मेबारी बहन गर्न प्रतिबद्ध छ । कोरोना महामारीको कारण विदेश मन्त्रालयको भिसा प्रशोधन क्षमतामा गहिरो कटौती भएको छ। स्वास्थ्य निर्देशनहरू र हालैका अमेरिकाको यात्रा प्रतिबन्धका नियम अनुरूप विदेश मन्त्रालयले निरन्तर रूपमा विश्वभर भिसा आवेदनलाई प्रभावकारी तरिकाबाट प्रकृयामा लैजान विभिन्न तरिकाहरु खोजिरहेको छ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विदेश मन्त्रालका अधिकारीका तर्फबाट अगाडि भनिएको छ – ‘हाल काठमाडौंमा रहेको अमेरिकी दूतावास नियमित भिसा सेवाका लागि बन्द रहेको छ । दूतावास आपतकालिन भिसाहरु र अन्तरवार्ता आवश्यक नपर्ने सिमित भिसा आवेदनमात्र प्रकृयामा लैजान सक्षम छ । यसका अतिरिक्त हामी अमेरिकी नागरिकका दम्पत्ति र छोराछोरीका भिसाहरु प्रकृयामा लैजान सक्षम छौं । हामीले यथासम्भव नियमित भिसा सेवा सुचारु गर्नेछौं तर कहिलेदेखि भन्नेबारे खास मिति प्रदान गर्न असक्षम छौं । दूतावासको संचालन अवस्थाबारे अमेरिकी दूतावास काठमाडौंको वेवसाइट नियमित हेर्नुहोला ।’

गत आइतबार बसेको उपत्यकाका तीन जिल्लाका प्रजिअहरुको वैठकले विदेशमा अध्ययन गर्न जानुपर्ने र डिभी लोटरी विजेताहरुलाई अन्तर्वार्ताको लागि दुतावास सम्म जानको लागि सहजीकरण गर्ने निर्णय गरेको थियो । नेपाल सरकारकाबाट जारी स्वास्थ्यका मापदण्ड परिपालना गरी कुटनीतिक नियोगले आवश्यक अन्तर्वार्ता लिन सक्ने प्रमुख जिल्ला अधिकारीहरुको निर्णयपछि अमेरिकी दूतावास काठमाडौंले आंशिक भिसा सेवा सुचारु गरेको हो ।

डिभी विजेताका सन्दर्भमा दूतावासले केही दिन अगाडि प्रश्नोत्तर जारी गरेको थियो । तर डिभी विजेताको भिसा विदेश मन्त्रालयले अन्तिम प्राथमिकतामा राखेका कारण सन् २०२१ का झण्डै ३८ सय नेपाली डिभी विजेताहरु चिन्ता र अन्यौलमा छन् ।

कोरोनाको महामारीका कारण अमेरिकी सरकारले डाइभर्सिटी भिसालाई सबैभन्दा कम प्राथमिकतामा राखेपछि २०२१ का डिभी विजेताहरुले भिसा पाउन सकेका छैनन् । अक्टोबर १ देखि आर्थिक बर्ष २०२२ का डिभी विजेताहरुले भिसा पाउन सुरु गर्ने प्रावधान रहेकाले वर्तमान प्रावधान अनुशार सेप्टेम्बर अन्तिमसम्म भिसा नपाएका हरुले त्यसपछि भिसा पाउनसक्ने छैनन् ।

आर्थिक बर्ष २०२१ मा ३८०१ जना नेपालीहरुले डिभी लोटरी जितेकोमा अहिलेसम्म कसैले पनि भिसा पाउन सकेका छैनन् ।

गतबर्ष कोरोनाको महामारीका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन रोक लगाउँदै डिभी विजेताहरुको भिसामा समेत प्रतिबन्ध लगाएका थिए । तर अदालतले डिभी विजेताहरुलाई भिसा जारी गर्न सरकारलाई आदेश दिएपछि गतबर्षको सेप्टेम्बरमा डिभी विजेताहरुले भिसा प्राप्त गर्न सफल भएका थिए । उनीहरुले भिसा पाएपनि अध्यागमन रोकका कारण फेब्रअरी अन्तिमसम्म अमेरिका आउन भने पाएका थिएनन् । फेबु्रअरीमा अदालतले ट्रम्पको आप्रवासन रोक खारेज गरिदिएपछि उनीहरु अमेरिका आउन पाएका थिए ।

ट्रम्पले कार्यकारी आदेशमार्फत सन् २०२० को भिसाको औचित्य समाप्त गरेकोमा संघीय अदालतले त्यसको बिरुद्धमा फैसला गरेपछि सेप्टेम्बरमा ४०४ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेका थिए । आर्थिक बर्ष २०२० का लागि ३६९६ जना नेपालीहरुले डिभी लोटरी पारेका थिए । तर उनीहरुमध्ये झण्डै साढे १३ सय जना प्राथमिक डिभी विजेताहरुलेमात्र अमेरिकाको भिसा प्राप्त गर्न सफल भए । प्राथमिक डिभी विजेताहरु र उनीहरुका परिवारका सदस्यहरुसहित गतबर्ष २ हजार ८५ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाउन सफल भएका थिए ।

तर आर्थिक बर्ष २०२१ का डिभी विजेताहरुको परीदृश्य सन् २०२० का डिभी विजेताहरुको तुलनामा अझ खराब भएको छ । प्रत्यक्ष रुपमा कुनै आप्रवासन रोक नभएपनि अमेरिकी सरकारको विदेश मन्त्रालयले दूतावासहरुलाई डाईभर्सिटी भिसालाई सबैभन्दा कम प्राथमिकतामा राख्न निर्देशन दिएपछि लोटरी विजेताहरुले भिसा पाउन सकेका छैनन् । अहिलेकै अवस्था कायम रहेमा सन् २०२१ का डिभी विजेताहरुले २०२० का विजेताले जति पनि भिसा नपाउने देखिएको छ ।

पासपोर्ट अनिवार्य गर्दा पनि २०२१ को डिभी लोटरी कार्यक्रममा ६ लाख ८८ हजार ५ सय २ जना नेपालीहरु सहभागी भएका थिए । प्राथमिक आवेदन दिने नेपालीहरु ४ लाख २१ हजार ७ सय ६५ जना रहेका थिए ।

उनीहरुका २ लाख ६६ हजार ७३७ परिवारका सदस्यहरुसहित सहित ६ लाख ८८ हजार ५ सय २ नेपालीहरु सन् २०२१ को डिभी कार्यक्रममा सहभागी भएका थिए । उनीहरुले सन् २०१९ को अक्टोबर २ देखि नोभेम्बर ५ सम्म डिभी लोटरीका लागि आवेदन दिएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com