न्युयोर्क सिटीको स्थानीय चुनावमा र्‍याङक च्वाइस भोटिङबारे अनविज्ञ छन् नेपाली अमेरिकन मतदाता


प्रकाशित मिति : बैशाख १६, २०७८ बिहीबार

– किशोर पन्थी

न्युयोर्क सिटीको स्थानीय चुनावमा आगामी जुनमा हुने प्राइमरी चुनावमा मतदानमा र्‍याङक च्वाइस भोटिङ प्रणालीको प्रयोग गरिदैछ । तर न्युयोर्कमा रहेको नेपाली अमेरिकन समुदायभने र्‍याङक च्वाइस भोटिङ प्रणालीका बारेमा अनविज्ञ रहेको छ ।

न्युयोर्क सिटीले मेयर, पब्लिक एड्भोकेट, कम्पट्रोलर, बोरो प्रेसिडेण्ट र सिटी काउन्सिलको चुनावमा र्‍याङक च्वाइस भोटिङ प्रयोग गर्दैछ । तर नेपाली अमेरिकन समुदायका कतिपय मतदाताले त र्‍याङक च्वाइस भोटिङ पहिलोपटक सुनेको खसोखासलाई बताए । यो प्रणालीबाट मतदान गर्दा आफूले हालेको मतले कसरी काम गर्छ ? वा कतिजनासम्मलाई मतदान गर्न सकिन्छ ? प्राथमिकता कसरी छनौट गर्ने ? लगायतका विषयमा मतदाताहरुमा अन्यौल रहेको छ ।

न्युयोर्कको ज्याक्सनहाइट निवासी नेपाली अमेरिकन मतदाता राजन थपलिया भन्छन् – ‘र्‍याङक च्वाइस भोटिङबारे न्युयोर्कका धेरै नेपाली अमेरिकनहरु अनविज्ञ रहेका छन् । प्राइमरी चुनाव आउन दुईमहिनापनि बाँकी नरहेको अवस्थामा मतदान प्रकृयाबारे नै मतदातालाई थाहा नहुनु बिडम्बनापूर्ण हो । यसबारे जनचेतना जगाउने काममा न्युयोर्क सिटी चुकेको छ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राजन थपलिया

‘र्‍याङक च्वाइस भोटिङ प्रणालीबाट आफूले दिएको मत कसरी गणना हुन्छ भन्नेबारे पनि अधिकांश नेपाली अमेरिकन मतदाताहरुलाई थाहा छैन । यसबारे बुझाउनका लागि न्युयोर्क सिटीले कुनै उल्लेख्य कार्यक्रम गरेको पनि देखिएको छैन । अल्पसंख्यक समुदायलाई यसबारे बुझाउन अझ विशेष कार्यक्रमहरु संचालन गर्नुपर्ने थियो । तर त्यसो हुन नसक्दा मतदाताहरु अन्यौलमा छन् ।’ –  थपलियाले भने ।

त्यस्तै न्युयोर्कको ज्याक्सन हाइट निवासी नेपाली अमेरिकन मतदाता अन्जन श्रेष्ठले पनि आफूलाई र्‍याङक च्वाइस भोटिङ प्रणालीबारे विस्तृतमा थाहा नभएको बताए । उनले भने – ‘नेपाली अमेरिकन समुदायका अधिकांश मतदाताहरुलाई र्‍याङक च्वाइस भोटिङ प्रणालीबारे थाहा छैन । यो बारेमा न त समुदायभित्र बृहत बहस भएको छ न त स्थानीय सरकारले नै यो बारेमा बुझाउने खासै प्रभावकारी कामहरु गरेको छ ।’

‘पहिलो पुस्ताका आप्रवासी समुदायलाई मतदान प्रकृया कसरी चल्छ भन्ने सन्दर्भमा नै विस्तृत ज्ञान नभएको अवस्थामा र्‍याङक च्वाइस भोटिङ प्रणालीबारे जानकारीमुलक कार्यक्रमहरु संचालन नहुँदा मतदाताहरु अन्यौलमा छन् । र्‍याङक च्वाइसका बारेमा स्थानीय सरकारले मतदाताहरुलाई उचित जानकारी दिन नसकेर स्थानीय सरकार चुकेको छ । तर अझै पनि केहीसमय बाँकी रहेकाले स्थानीय सरकारले यो समयको उपयोग गर्न जरुरी छ ।’ –  श्रेष्ठले भने ।

अन्जन श्रेष्ठ

क्वीन्सको कम्युनिटी बोर्ड ४ मा सदस्य समेत रहेका कोरोना लेफ्राक सिटी निवासी पुरुषोत्तम पन्थीले नेपाली अमेरिकन समुदायमा र्‍याङक च्वाइस भोटिङबारे ज्ञानको अभावमा आगामी न्युयोर्क सिटीको स्थानीय चुनावका लागि आगामी जुनमा हुने प्राइमरी चुनावमा धेरै मतदाताहरु मतदानका बेलामा अन्यौलग्रस्त हुने सम्भावना रहेको बताउँछन् । न्युयोर्क सिटीमा यो प्रणाली नयाँ भएकाले र नेपाली अमेरिकन समुदायका पहिलो पुस्ताका आप्रवासीहरु मतदानमा जाने भएकाले र्‍याङक च्वाइस भोटिङबारे अन्यौल हुने उनको भनाई छ । नयाँ प्रकारको मतपत्र देख्दा कसरी मतदान गर्ने भन्ने थाहा नहुँदा मताधिकारको उचित सदुपयोग हुनेमा आंशका रहेको पन्थीको भनाई छ ।

‘न्युयोर्क सिटीले यसबारे उचित र प्रयाप्त सुचनाहरु उपलब्ध गराएको छैन । अझ नेपाली समुदायलाई आवश्यक पर्ने नेपाली भाषामा त कुनै सुचना नै उपलब्ध गराइएको छैन । एकातिर नेपाली अमेरिकन समुदाय अमेरिकाको स्थानीय राजनीतिक प्रकृयामा नयाँ हो । अर्कातिर नेपाली अमेरिकन समुदायबाट पहिलोपटक स्थानीय चुनावमा उम्मेदबारहरु देखा पर्दैछन् । यो अवस्थामा नेपाली लगायतका अल्पसंख्याक समुदायमा नयाँ मतदान प्रकृयाबारे जनचेतनाका लागि अझ विशेष कार्यक्रमको आवश्यक छ । नेपाली समुदाय सानो रहेकाले र एउटा मतदाताले एउटा पदका लागि ५ जनासम्मलाई भोट हाल्न पाउने भएकाले उम्मेदबारबीच अल्पसंख्यक मतदाताको प्रभाव बढाउने यो अवशर पनि हो ।’ –  पुरुषोत्तम पन्थी भन्छन् ।

अमित शाह

त्यस्तै झण्डै आधादर्जन चुनावमा मतदान गरिसकेका न्युयोर्कको रिगोपार्क निवासी नेपाली अमेरिकन मतदाता अमित शाह भन्छन् – ‘नयाँ अभ्यास भएका कारण पनि र्‍याङक च्वाइस भोटिङका बारेमा नेपाली अमेरिकन समुदायमा कम जानकारी छ । कैयन जानकारीको अभावमा ठूलो संख्यामा नेपाली अमेरिकन समुदाय प्राइमरी चुनावमा मतदान गर्न नजाने अवस्था समेत रहेको छ । नयाँ मतदान प्रणाली सुरु गरेपछि स्थानीय सरकारले पनि त्यसबारे बुझाउन विभिन्न कार्यक्रमहरु संचालन गर्नुपर्ने हो । तर त्यस्ता कार्यक्रमहरु या त प्रयाप्त छैनन्, या त नेपाली अमेकिरन समुदायप्रति लक्ष्यीत नै छैनन् ।’

न्युयोर्कको नेपाली अमेरिकन समुदाय सानो भएपनि चुनावमा हरेक भोटको महत्व हुने भएकाले स्थानीय सरकारले नेपाली समुदायलाई लक्ष्यीत कार्यक्रमहरु संचालन गर्न आवश्यक रहेको शाहको भनाई छ । शाह भन्छन् – ‘स्थानीय निकायको चुनावमा उच्च प्रतिस्पर्धा हुने देखिन्छ । यो अवस्थामा नेपाली समुदायको भोटले पनि निर्णायक भूमिका खेल्नसक्छ । त्यसैले कैयन उम्मेदबारहरुले नेपाली अमेरिकन समुदायलाई फोकस गरेर अभियान चलाइरहेका छन् । त्यसलाई मध्यनजर गरेर र्‍याङक च्वाइस भोटिङबारे समुदायमा जनचेतना जगाउन आवश्यक छ ।’

कम समयमा उच्च प्रभावकारी कार्यक्रम आवश्यक

प्राइमरी चुनाव आउन अत्यन्तै कम समय भएकाले उच्च प्रभावकारी कार्यक्रमहरु संचालन गर्न आवश्यक रहेको नेपाली अमेरिकन समुदायका व्यक्तिको सुझाव रहेको छ । त्यसका लागि विभिन्न शिक्षामुलक कार्यक्रमहरु देखि समुदायले बुझने भाषामा व्यापक प्रचारप्रसारको खाँचो रहेको उनीहरुको भनाई छ ।

पुरुषोत्तम पन्थी भन्छन् – ‘भोट कसरी हाल्ने भनेर मतदाताहरुलाई जानकारी दिने काम स्थानीय सरकारको हो । त्यसैले स्थानीय सरकारले अबिलम्ब अल्पसंख्यक समुदायलाई केन्द्रीत गरेर प्रभावकारी कार्यक्रमहरु र प्रचारप्रसार थाल्न आवश्यक छ ।’

पुरुषोत्तम पन्थी

न्युयोर्क आप्रवासीहरुको घर भएकाले न्युयोर्कमा बोलिने सबै भाषामा र्‍याङक च्वाइस भोटिङबारे जानकारी दिन आवश्यक भएको अन्जन श्रेष्ठ बताउँछन् । आप्रवासी समुदायले बुझ्ने गरी सरल तरिकाले बुझाउने कार्यक्रम ल्याउन सकेमा झण्डै दुईमहिनाको समय पनि प्रयाप्त हुनुसक्ने उनको बुझाई छ ।

न्युयोर्क सिटीले र्‍याङक च्वाइस भोटिङबारे शिक्षामुलक कार्यक्रम संचालन गर्नुपर्ने दायीत्व भएपनि समुदायले त्यसलाई कुरेर बस्न नहुने र समुदायबीच जानकारीमुलक कार्यक्रमहरु संचालन गर्नुपर्ने अमित शाहको भनाई छ । उनी भन्छन् – ‘समय अत्यन्तै कम छ । न्युयोर्क सिटीले नेपाली समुदायलाई लक्ष्यीत गरेर स्थानीय संचारमाध्यमहरुमार्फत समुदायले बुझ्ने गरी सुचनाहरु सम्प्रेषण गर्नुपर्छ । तर समुदायले सिटीबाट आउने सुचनामात्र कुरेर बस्नु हुँदैन । स्थानीय समुदायका नेताहरु र संघ संस्थाहरुले आफ्नै पहलमा भएपनि जनचेतजना जगाउन विभिन्न कार्यक्रमहरु गर्न आवश्यक छ ।’

के हो र्‍याङक च्वाइस भोटिङ ?

सन् २०२१ मा न्युयोर्क सिटीका अधिकारीहरुलाई मतदान गर्नका लागि नयाँ तरिका अपनाइनेछ । न्युयोर्क सिटीले मेयर, पब्लिक एड््भोकेट, कम्पट्रोलर, बोरो प्रेसिडेण्ट र सिटी काउन्सिलका लागि सबै प्राइमरी र विशेष निर्वाचनमा र्‍याङक च्वाइस भोटिङ विधि अपनाउँदैछ । यो विधिबाट मतदान गर्दा न्युयोर्करहरुले पहिले भन्दा धेरै च्वाइसहरु प्राप्त गर्नेछन् ।

कुनै पनि पदका लागि एउटामात्र उम्मेदबारलाई भोट हाल्नुको साटो मतदाताहरुले ५ जनासम्म उम्मेदबारलाई रोजाईका आधारमा मतदान गर्न पाउनेछन् । पहिलो, दोश्रो, तेश्रो , चौथो र पाँचौं रोजाइसम्मका उम्मेदबारलाई मतदान गर्न सकिनेछ । पहिलो कोलममा पहिलो रोजाईका उम्मेदबारलाई, दोश्रो कोलममा दोश्रो रोजाईका उम्मेदबारलाई भोट हाल्न सकिन्छ । यसैगरी तेश्रो, चौथो र पाँचौं रोजाईका उम्मेदबारलाई भोट हाल्न सकिन्छ । एउटामात्र उम्मेदबारलाई भोट हाल्न चाहनेहरुले एउटैलाईमात्र पनि भोट हाल्न सक्छन् ।

यसरी मतदानपछि ५० प्रतिशतभन्दा बढी भोट ल्याउने उम्मेदबारले चुनाव जित्नेछ । यदि कसैले पनि ५० प्रतिशतभन्दा बढी भोट नल्याएमा दौड दोश्रो चरणमा जानेछ । यो चरणमा सबैभन्दा कम मत ल्याउने उम्मेदबारलाई हटाइनेछ । यदि कुनै पनि मतदाताको पहिलो रोजाईको उम्मेदबार बाहिरिएको खण्डमा उक्त भोट दोश्रो रोजाईको उम्मेदबारमा जोडिनेछ । यसरी नै विजेता प्राप्त नहुँदासम्म कम भोट ल्याउनेलाई हटाउँदै मतगणना जारी राखिनेछ । जब कुनै उम्मेदबारले ५० प्रतिशतभन्दा बढी ल्याउनेछ, उसलाई विजेता घोषणा गरिनेछ ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com