क्यालिफोर्नियामा कोरोनाको नयाँ प्रकारको पहिलो संक्रमण
स्टाण्डफोर्ड युनिभर्सिटीका शोधकर्ताहरुले कोरोना भाइरसको भारतीय प्रकारको पहिलो संक्रमण अमेरिकाको क्यालिफोर्नियामा फेला परेको पुष्टी गरेका छन् । भारतमा पहिलोपटक देखिएको उक्त भाइरसको प्रकार उत्तरी क्यालिफोर्नियामा देखिएको हो ।
नयाँ प्रकारको भाइरसका पनि दुईवटा म्युटेशन रहेको जनाएको छ । सान फ्रान्सिस्कोको बे एरियामा रहेका बिरामीमा कोरोनाको उक्त प्रकार भएको पुष्टी भएको हो । स्टाण्डफोर्ड हेल्थ केयरका प्रवक्ता लिसा किमका अनुशार अमेरिकामा यो प्रकारको कोरोना भेटिएको पहिलो घटना हो ।

कोरोनाको यो प्रकार गत महिना भारतमा भेटिएको अधिकारीहरुले बताएका छन् । भारतमा कोरोना संक्रमण सेप्टेम्बरबाट घटेको थियो । तर पछिल्लो समयमा कोरोनाको संक्रमण तीब्र बनेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा ४७ हजार भन्दा धेरैमा संक्रमण पुष्टी भएको छ ।
अमेरिकाको क्यालिफोर्नियामा कोरोना संक्रमणदर घटिरहँदा नयाँ प्रकार भेटिएपछि स्वास्थ्यविदहरुले चिन्ता व्यक्त गरेका छन् । कोरोना संक्रमण घटेपछि लस एन्जलस लगायतका क्षेत्रमा नियमहरु खुकुलो पार्दै अर्थतन्त्र विस्तारै खुला गरिदैछ ।
देशभरमा क्यालिफोर्नियामा सबैभन्दा धेरै कोरोनाका संक्रमणहरु रिपोर्ट गरिएको छ । शनिबारसम्म क्यालिफोर्नियामा सक्रमितको संख्या ३५ लाख नाघेको छ भने ५८ हजार भन्दा धेरैको मृत्यु भएको छ ।





