मास्क, सेनिटाइजर लगायतका सामाग्रीहरु ट्याक्समा घटाउन मिल्ने
प्रकाशित मिति : चैत्र १३, २०७७ शुक्रबार
अमेरिकाको आन्तरिक राजश्व सेवा आईआरएसले मास्क, सेनिटाइजर, वाइप लगायतका सामाग्रीहरु ट्याक्समा घटाउन मिल्ने स्पष्ट पारेको छ । आईआरएसले आज एक सुचना जारी गर्दै कुनै पनि व्यक्तिले कोरोनाको महामारी फैलिनबाट रोक्ने उद्देश्यले त्यस्ता सामाग्रीहरु किनेको भएमा उक्त रकम ट्याक्समा घटाउन मिल्ने स्पष्ट पारेको छ ।
त्यस्तै पीपीईका लागि तिरेको रकम पनि ट्याक्समा घटाउन मिल्ने भएको छ । स्वास्थ्य लचिलो खर्च व्यवस्था लगायतका ४ वटा नियमका आधारमा पीपीईका लागि तिरेको रकम ट्याक्समा घटाउन मिल्ने समेत आईआरएसले स्पष्ट पारेको छ ।
आइआरएसमा सन् २०२० को ट्याक्स फाइल गर्ने म्याद अप्रिल १५ बाट एकमहिना थपेर मे १७ बनाइसकेको छ । थपिएको म्यादका लागि ट्याक्स फाइल गर्न करदाताले कुनै आवेदन दिनु नपर्ने आईआरएसले जनाएको छ ।

म्याद थपिएपछि करदाताहरुलाई ट्याक्स फाइल गर्नका लागि अतिरिक्त समय प्राप्त भएको छ। साथै उनीहरुलाई करबापतको रकम बुझाउन पनि अतिरिक्त समय प्राप्त भएको छ । यसपटक आईआरएसले नियमित भन्दा केही ढिलो फरबरी १२ बाट ट्याक्स फाइल स्वीकार गर्न सुरु गरेको थियो ।
टेक्सासमा मौषम विपत्तिका कारण आईआरएसले विजनेश र व्यक्तिका लागि ट्याक्स फाइल गर्ने मिति जुन १५ सम्म थप गरेको थियो । संघीय आपतकालिन व्यवस्थापन एजेन्सीले टेक्सासमा विपत्तिको घोषणा गरेकाले त्यसक्षेत्रमा बस्नेहरुलाई राहतका लागि ट्याक्स फाइल गर्ने डेडलाइन बढाइएको थियो ।
परिवर्तित नयाँ नियमहरु, तेश्रो चरणको राहत चेक, बेरोजगारी विमा रकमबाट प्राप्त १० हजार २ सय डलरसम्ममा ट्याक्स छुट लगायतका कैयन प्रावधानहरुका कारण आईआरएसलाई समयमै काम सकाउन हम्मे हम्मे परिरहेको छ ।






