बगरमा डोजर चलाएपछि माझी समुदाय बिचल्लीमा


प्रकाशित मिति : माघ २५, २०७७ आईतबार

काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ डुम्रे वरको बोटका मिश्रा माझी आजभोलि घर तलको बगरमा जाने र आफ्नो कमाई खाने बगरमा कुनै पनि मेसिन चलाउँन पाइँदैन भन्दै बिलौना गरी बस्ने गरेका छन् । वर्षौँदेखि सोही बगरमा सावेल, कोदालो र पिक चलाएर बालुवा चाल्दै त्यसबाट आएको पैसाले उनको पाँच जनाको परिवारको जीविकोपार्जन हुँदै आएको छ ।

कमाई खाने खेतबारी नै नभएको उनको परिवारको दैनिकी नै बिहानदेखि बेलुकासम्म घरतलको डुम्रेबगरमा बालुवा चालेर बित्ने गर्दछ । चालेको बालुवा बिक्री गरेर आएको पैसाले नै पुर्खौँदेखि परिवार चल्दै आएको मिश्राले बताए । “हाम्रो जगरबगर पुर्खौँदेखि मर्दादेखि जीवन गुजारा गर्नेसम्मको यही ठाउँ भएकाले यसमा कसैले पनि कब्जा जमाउन पाउँदैन”, उनले बिलौना गर्दै भने, “हामी गरिबको हातमुद जोड्न आम्दानीको एक मात्र विकल्प रहेको बगर नै डोजरले जोतेर ध्वस्त बनाउँदै हामीलाई खुट्टासमेत टेक्न नदिने भएपछि कसरी परिवार पाल्ने ?” अरु आम्दानीको कुनै स्रोत नभएको र खानासमेत धौ–धौ भइरहेको परिवारलाई गरिखाने ठाउँमा नै खुट्टा टेक्न नदिने भएपछि कहाँ गएर कसरी परिवार पाल्ने भन्ने चिन्ताले सताएको उनको भनाइ छ ।

न त कुनै व्यवसाय नै छ, न त पेट पाल्नलाई अरु विकल्प नै । त्यही सावेल चलाएर पसिना बगाएर खाना पाउनुपर्छ भन्दा कसैले पनि आफूहरुको कुरा नै नसुनेको दुखेसो गर्छन् । “धेरै पैसा र पहुँच भएकाले विभिन्न खोलाका बगरमा ठूलाठूला मेसिन चलाएर ठूलो आम्दानी गर्छन् भने हामीले पसिना बगाएर खानसमेत नपाउने अवस्था आयो”, गहभरी आँसु पार्दै उनले भने, “ढुङ्गाको सिरानी, बालुवाको ओछ्यान गरेर रातदिन यही बगरमा दुःख गरेर खाँदै आएको ठाउँसमेत खोस्ने काम भएको छ ।”

सोही गाउँका अर्का ६१ वर्षीया आहुती माझीले गाउँभरीकै माझी परिवारको कमाई खाने एकसुर्को मात्रै बारी भएको र त्यसले दुई महिना पनि खाना नपुग्ने भएकाले पुर्खौँदेखि त्यही बगरमा पसिना बगाएर परिवार पाल्दै आएको बताइन् । “यही बगरमा पसिना बगाएर नून, तेल ल्याइदिने कर्मथलोमाथि अर्कैले आएर हडपेपछि अब हामी कसरी बाँच्ने”, उनले पीडा पोख्दै थपिन्, “पहिला पहिला त यही बगरमा कमाएर खान्थ्यौँ, दुई वर्ष भयो खाने थलो नै अरुले आएर रजाइ गरेको, अब हामीले कसरी जीवन धान्ने ?”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सो ठाउँमा काम गरी दिनको रु ५ सयदेखि एक हजारसम्म कमाई हुने गरेको कर्मथलोमा बाहिरबाट मेसिन ल्याएर जोत्न थालेपछि आफूहरुको दैनिकी गुजारा गर्न ठूलो समस्या भएको अर्का स्थानीय बासिन्दा कान्छा माझीको भनाइ छ । सोही गाउँका युवा राजन माझीले आर्थिक अभावकै कारण दोलालघाटस्थित दुलालेश्वर माविमा कक्षा १० पढ्दापढ्दै विद्यालय छोडेर त्यही बगरमा बालुवा चाल्ने काममा घरपरिवारलाई सघाउन थालेको काम पनि अब खोस्ने यो भन्दै दुखेसो पोखे ।

स्थानीय प्रदीप माझीले आफूहरुको पेशा खोसेको भन्दै वडा कार्यालयदेखि गाउँपालिकासम्म पुगेर समस्या राख्दा पनि आफूहरुको कुरा नै सुनुवाइ नभएको गुनासो गरे । “एकातिर पढ्ने मान्छे हाम्रो समुदायमा नहुनु, अर्कोतिर आर्थिक अभावमा पिल्सिएर रहेका समुदायको समस्या सरकारले पनि नदेखेको जस्तो गर्नु”, उनले भने, “जसरी भए पनि हामी हाम्रो पेशा गरेर खाने ठाउँलाई अरुलाई आएर बिथोल्न दिदैनौँ ।” हिजोदेखि जसरी काम गरेर खान पाएको अवस्था थियो, त्यसरी नै काम गरेर खाना पाउनुपर्ने उनीहरुको भनाइ छ । दुई वर्ष अगाडि पनि त्यही ठाउँमा अहिलेकै जस्तो गरेर काम गर्ने थलो खोस्न थालेपछि आफूहरुले गाउँपालिकामा गएर ज्ञापनपत्र बुझाउँदै गाउँपालिकाको ध्यानाकर्षण गराएको उनीहरुको भनाइ छ । यदि आफूहरुले भनेजस्तो काम गरी खाने ठाउँ दिँदैन र कर्मथलो नै लुटिन्छ भने जस्तोसुकै सङ्घर्ष गर्न पनि तयारी हुने उनले बताए ।

स्थानीय अर्का युवा कुमार माझीले गाउँमा एसइई पास गर्ने दुई÷तीन जना मात्रै भएको सो गाउँका सबै परिवार नै नदी बगरमा बालुवा चालेर जीविकोपार्जन गर्ने पेशा नै खोसिएको भन्दै चिन्ता व्यक्त गरे । “लुगा किनिदियो खाना छैन, खाना जोहो गर्यो लुगा हुँदैन”, उनले भने, “यसरी जीवन गुजारा गर्दै आएका हाम्रो समुदायको पेशा नै स्थानीय सरकारले खोसिदिने काम गरेको छ ।” काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकको सिमानामा बस्दै अति सिमान्तकृत समूहका आदिवासी जनजाति माझी समुदायका करिब ६० घरधुरीको बसोबास रहेको छ । अहिले माझी समुदायका सबै जना आफूहरुको पेशा खोस्न नपाइने माग गर्दै ठेकेदारले काम गरेमा अवरोध गर्न भन्दै बगरमा जम्मा हुने गरेका छन् ।

विसं २०६८ मा अरनिको राजमार्गको बन्देउदेखि तल नदीसम्म उनीहरुले निकालेको बालुवा बेच्नका लागि सबै घरधुरीले पैसा उठाएर झण्डै पाँच लाख रुपैयाँँको खर्चमा मोटरबाटोसमेत खनेका थिए । ठेक्का आह्वान गरेपछि काम गर्न आएको ठेकेदारले एक मुठी बालुवा र एउटा ढुङ्गाको टुक्रासमेत विनापैसा लान पाउँदैन भन्दै धम्क्याएको गुनासोसमेत उनीहरुको छ । निकालेर थुप्राएको बालुुवा बाहिरबाट गाडी ल्याएर लिन आउने गरेकामा अब त्यसलाई गाउँपालिकाले बेचेपछि डोजर लगाएर आफूहरुको पेशा नै खोसिएपछि उनीहरु आक्रोसित बनेका छन् ।

सो ठाउँमा ठेक्का पाएको जिम्बा कन्स्ट्रक्सन प्रालिले यही माघ १५ गतेदेखि आगामी जेठ मसान्तसम्मका लागि उत्खनन् र सङ्कलन गर्न पाउने जिम्मा पाएपछि सो फर्मले कामदार खटाएर दुई वटा एस्काभेटर हालेर काम गर्न थालिसकेको थियो तर पछिल्लो समय स्थानीयवासीको विरोधपछि काम रोकेको छ । ठेक्का पाएको जिम्बा कन्स्ट्रक्सनका राजेश लामाले स्थानीय माझी समुदायको जायज मागलाई पूरा गर्ने विषयमा कुरा भए पनि त्यो ठाउँमा नै काम गर्न नपाउने खालको कुरा गरेपछि विवाद बढेको बताए । “त्यसका लागि हामीले गाउँपालिकालाई काम गर्ने बातावरण बनाउन समन्वयका लागि आग्रह गरेका छौँ”, उनले भने, “पहल भए पनि अझै कुरा मिल्न सकिरहेको छैन ।”

सो वडाका वडाध्यक्ष मोतिलाल तामाङले गाउँपालिकाले ठेक्का आह्वान गरेसँगै प्रक्रियामा आएर सम्झौता गरेको कम्पनीले काम शुरु गर्न थालेपछि स्थानीय माझी समुदायले अवरोध गर्न थालेका कारण काम रोकिराखेको बताए । काममा अवरोध आएपछि शुक्रबार दुवै पक्षबीच गरेको छलफलमा निष्कर्ष निकाल्न नसकेपछि पुनः आइतबार सबैपक्ष बसेर छलफल गरी निकास खोज्ने कामका लागि छलफल भइरहेको उनले बताए । “पहिलेदेखि बालुवा चालेर खाने ठाउँ भएको भन्दै स्थानीय माझी समुदायले आफूहरुले नै काम गर्न पाउनुपर्ने माग गर्दै अवरोध गर्दै आउनुभएको छ”, उनले भने, “स्थानीय सरकारले कानुन बनाएर काम गर्न थालेका कारण त्यसलाई मिलाउन पहल भइरहेको छ ।” रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com