कोरोनाबिरुद्धको भ्याक्सिनको दुबै डोज लगाएका न्युयोर्क निवासी यी नेपालीहरुको अनुभव


प्रकाशित मिति : माघ २२, २०७७ बिहीबार

– किशोर पन्थी

अमेरिकामा डिसेम्बरको दोश्रो सातादेखि कोरोनाबिरुद्धको भ्याक्सिन लगाउने काम सुरु भएयता भ्याक्सिन प्राप्त गर्ने नेपालीहरुको संख्या पनि उल्लेख्य रहेको छ । कतिपय नेपालीहरुले भ्याक्सिनका दुईवटै डोजहरु प्राप्त गरिसकेका छन् । दुईवटै डोज प्राप्त गरेका नेपालीहरुले खसोखाससँगको कुराकानीमा आफ्ना फरक फरक अनुभवहरु बताएका छन् ।

न्युयोर्क निवासी डाक्टर विनोद शाहले डिसेम्बरको अन्तिम साता भ्याक्सिनको पहिलो डोज लिए भने जनवरीको अन्तिम साता दोश्रो डोज लिए । न्युयोर्कको वेष्टचेस्टर काउन्टीको स्कारडेल निवासी तथा योंकर रिभरसाइडमा रहेको सेन्ट जोन्स अस्पतालमा समेत कार्यरत डाक्टर विनोद शाहले पहिलो डोज भ्याक्सिन प्राप्त गर्दा दुईदिनसम्म ज्वरो आउने, शरिरमा कम्पन छुट्ने, जीउ दुख्ने लगायतका लक्षणहरु देखिएको बताए ।

भ्याक्सिन लगाउँदै डाक्टर विनोद शाह ।

विगतमा कोरोना संक्रमणको इतिहास समेत भएका डाक्टर शाहले पहिलो डोजका क्रममा कुनै गम्भीर प्रकारको साइड इफेक्टको सामना भने गर्नुपरेन । तर ज्वरो आउने लगायतका लक्षणका कारण काममा जानमा समेत समस्या उत्पन्न भयो । भ्याक्सिनको दोश्रो डोज लगाउँदा भने पहिलो डोजमा जस्तो गाह्रो नभएको शाहको अनुभव छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दोश्रो डोज भ्याक्सिन लगाउँदा विहान ३ बजेसम्म कुनै साइड इफेक्ट नदेखिएको तर ३ बजेपछि भने ज्वरो आएको शाहको अनुभव छ । तर विहान उठ्दासम्म ज्वरो निको भइसकेको र काममा जानमा पनि कुनै समस्या नभएको उनले बताए । दोश्रो डोज भ्याक्सिन लगाएको भोलिपल्टदेखि नै उनी नियमित काममा फर्केको जानकारी दिए ।

न्युयोर्क निवासी मेडिकल ल्याब बैज्ञानिक रायन लाम्गादेले डिसेम्बरको तेश्रो साता भ्याक्सिनको पहिलो डोज लिए । न्युयोर्कको ब्रुकलिनमा रहेको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ भेटेरान अफेयर्समा मेडिकल ल्याब बैज्ञानिकका रुपमा कार्यरत तथा बु्कलिनको माउन्ट साइनाई अस्पताल र न्युयोर्कको नर्थशोर युनिभर्सिटी अस्पतालमा समेत ल्याब टेक्नोलोजिस्ट र मेडिकल टेक्नोलोजिस्टका रुपमा कार्यरत लाम्गादेले जनवरीको दोश्रो साता दोश्रो डोज लिए ।

पहिलो डोज लिंदा केही घण्टा सामान्य पाखुरा दुखेपनि कुनै गम्भीर प्रकारको साइड इफेक्ट नदेखिएको उनले बताए । विगतमा कोरोना संक्रमणको इतिहास समेत भएका लाम्गादेले दोश्रो डोज लिंदा भने स्थीति अलिक फरक भयो । दोश्रो डोज लिएपछि भने उनलाई ज्वरो आउने, जिउ दुख्ने लगायतका साइड इफेक्ट देखिए । उनले भने – ‘कोरोनाबिरुद्धको भ्याक्सिनको दोश्रो डोज ठट्टा होइन । निकै मुस्किल ।’

न्युयोर्कमा कोरोनाबिरुद्धको भ्याक्सिन लगाउँदै ल्याब टेक्नोलोजिस्ट रायन लाम्गादे ।

उनले कोभिड १९ को दोस्रो डोजको भ्याक्सिन लिनेहरुलाई सम्भव भएसम्म भ्याक्सिन लिएको भोलिपल्ट कामबाट बिदा मिलाउन समेत सुझाव दिएका छन् । उनको भनाई छ – ‘तपाईलाइ आरामको जरुरी पर्न सक्छ । तर सबैलाई एउटै समस्या नहुन पनि सक्छ ।’

केयर प्वाइन्ट हेल्थ अन्तरगतको क्राइस्ट अस्पतालमा यौन हिंशा र घरेलु हिंशा विभागको कोअर्डिनेटर न्युजर्सी निवासी डाक्टर विष्णुमाया परियारले जनवरीको पहिलो साता कोरोनाबिरुद्धको भ्याक्सिनको पहिलो डोज लिइन् । उनले फेबु्रअरी ३ मा कोरोनाबिरुद्धको भ्याक्सिनको दोश्रो डोज पनि प्राप्त गरिन् । पहिलो डोज प्राप्त गरिसकेपछि उनी आफै ड्राइभ गरेर घरमा त आइन्, तर बेलुकादेखि ज्वरो आउने, जिउ दुख्ने लगायतका साइड इफेक्टको सामना गर्नुपर्यो ।

न्युजर्सीमा कोरोनाबिरुद्धको भ्याक्सिन लगाउँदै डाक्टर विष्णुमाया परियार ।

भोलिपल्ट भने उनको अवस्था सामान्य नै भयो । तर कोरोनाबिरुद्धको दोश्रो डोज प्राप्त गरिसकेपछिको अवस्था भने उनलाई पहिलो डोजको बेलामा जस्तो सहज भएन । दोश्रो डोज प्राप्त गरेको दिनमा उनलाई कुनै साइड इफेक्ट देखिएन । तर भोलिपल्ट भने उनलाई हनहनी ज्वरो आउने, जिउ काप्ने, पाखुरा लगायत शरीरका अन्यभाग दुख्ने लगायतका साइड इफेक्टहरु देखिए । विगतमा कोरोना संक्रमणको समेत इतिहास नभएकी उनले भनिन् – ‘दोश्रो डोज निकै गाह्रो हुने रहेछ ।’

त्यस्तै न्युयोर्कका चर्चित कानुन व्यवसायी न्युजर्सी निवासी खगेन्द्र जीसीले पनि कोरोनाबिरुद्धको भ्याक्सिनका दुबै डोज लगाइसकेका छन् । उनको अनुभव भने अरुको भन्दा फरक छ । उनले जनवरीको पहिलो साता कोरोनाबिरुद्धको भ्याक्सिनको पहिलो डोज लगाएपछि पनि दिनभर कार्यालयमा गएर काम गरे । फेब्रुअरी ३ मा दोश्रो डोज लगाएपछि पनि दिनभर कार्यालयमा गएर काम गरे । भोलिपल्ट पनि उनलाई कुनै साइड इफेक्ट देखिएन । विगतका कोरोना संक्रमणको समेत कुनै इतिहास नभएका जीसीले भने – ‘केहीबेर सामान्य पाखुरा दुख्ने बाहेक अरु कुनै अनुभव भएन ।’

कोरोनाबिरुद्धको भ्याक्सिन लगाउँदै खगेन्द्र जीसी

सीडीसीको तथ्यांक अनुशार अमेरिकामा बिहिबार बेलुकासम्म २ करोड ७९ लाख ५ हजार १ सय ९७ जनाले कोरोनाबिरुद्धको भ्याक्सिन लगाइसकेका छन् । त्यसमा दुबै डोज प्राप्त गर्नेहरु ६९ लाख २६ हजार ५० रहेका छन् । अर्थात् दुबै डोज प्राप्त गर्नेहरुको संख्या अमेरिकाको कुल जनसंख्याको २ प्रतिशतभन्दा पनि कम छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com