सिमाक्षेत्रमा आएर एसाइलम गर्नेलाई मेक्सिको फिर्ता पठाउने नीति अन्तरगत अब नयाँ व्यक्ति नथपिने


प्रकाशित मिति : माघ ७, २०७७ बुधबार

मेक्सिको हुँदै अमेरिकी सिमाक्षेत्रमा आएर एसाइलम दावी गर्नेहरुलाई अध्यागमन प्रकृया जारी रहँदासम्म मेक्सिको नै फिर्ता पठाउने ट्रम्प प्रशासनको नीति भोलिदेखि कार्यान्वयन नहुने भएको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले आज वक्तब्य जारी गरेर सिमाक्षेत्रमा आएर एसाइलम गर्नेलाई अदालती सुनुवाईसम्म मेक्सिको पठाउने कार्यक्रममा नयाँ आप्रवासीको नामांकन खारेज गरिएको जनाएको छ ।

भोलि जनवरी २१ देखि लागु हुने गरी अमेरिकी सरकारले यो कार्यक्रम अन्तरगत अरु व्यक्ति थप्ने काम बन्द गर्ने भएको छ । तर सिमाक्षेत्रमा कोरोना सम्बन्धित अत्यावश्यक बाहेकका अन्य यात्रामा रोक लगाउने नियम भने कार्यान्वयनमा नै रहेको जनाइएको छ ।

सिमाक्षेत्रमा आएर एसाइलम दावी गरेका र अदालती सुनुवाई सम्म मेक्सिकोमा रहने एमपीपी कार्यक्रममा सहभागी भएकाहरुलाई जो जहाँ छ त्यही बस्न भनिएको छ । उनीहरुका लागि भविश्यमा थप जानकारीहरु उपलब्ध गराइने पनि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ ।

राष्ट्रपति जो बाइडेनले संसदमा पठाएको अध्यागमन बिल अन्तरगत अमेरिकाबाहिर भएका व्यक्ति योग्य नहुने पनि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । उक्त बिलको वैधानिकताको प्रावधान अमेरिकाभित्र बसिरहेका व्यक्तिका सन्दर्भमा मात्र लागु हुने स्पष्ट पारिएको छ । यद्यपी उक्त बिल पारित हुन भने बाँकी नै रहेको छ ।

अमेरिकी सिमाक्षेत्रमा रहेका पोर्ट अफ इन्ट्रीमा आएर एसाइलम दावी गर्ने आप्रवासीहरुलाई अदालती सुनुवाईसम्मका लागि मेक्सिको फिर्ता गर्ने नीति ट्रम्प प्रशासनले सन् २०१८ देखि लागु गर्न सुरु गरेको थियो । बीचबीचमा यो नियमले कानुनी लडाईको समेत सामना गर्नुपरेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com