पर्यटनको अर्को गन्तव्य ‘बेथानचोक नारायणस्थान डाँडा’


प्रकाशित मिति : मंसिर ७, २०७७ आईतबार

काभ्रेको महाभारत क्षेत्रको सबैभन्दा अग्लो डाँडा हो ‘बेथानचोक नारायणस्थान डाँडा’ । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ मा पर्ने सो डाँडा एकातिर जिल्लाकै सबैभन्दा अग्लो स्थान, अर्कोतर्फ धार्मिक दृष्टिकोणले पनि ऐतिहासिक धार्मिक नारायणको मन्दिर । यी दुवै कारणले बेथानचोक नारायणस्थान डाँडा निकै चर्चामा छ ।

भूगोलको हिसाबले निकै अग्लो रहेको सो ठाउँमा अचेल आन्तरिक पर्यटकको घुइँचो बढ्न थालेको छ । हिमालका मनमोहक दृश्यसँगै तराईको समथर भूभागदेखि जिल्लाका विभिन्न पालिकाको भौगोलिक अवस्थालाई नियाल्नसमेत उपयुक्त रहेको सो ठाउँमा बेथानचोक गाउँपालिकाको ढुङ्खर्कबजारबाट हिँडेर तीन घण्टामा सजिलै पुग्न सकिन्छ । यहाँबाट नजिकको आभास हुने गरी सूर्योदयको दृश्यावलोकन गर्नसमेत सकिने भएकाले हिजोआज सो ठाउँमा आन्तरिक पर्यटकको घुइँचो बढेको हो ।

हिउँदको समय, खुला आकाश, शान्त र मनोरम वातावरण, त्यससँगै नजिकैको जङ्गलबाट आउने चरचुरुङ्गीको सुमधुर आवाज सङ्गीतझैँ कानमा गुञ्जने गर्दा अर्को आनन्दको अनुभूति गर्न सकिन्छ । त्यसमाथि वरिपरि हरियाली जङ्गलदेखि माथिको ठूलाठूला चट्टानले बनेको अग्लो खुला ठाउँ, जहाँ बस्न, रमाइलो गर्न र वनभोज खानसमेत पर्याप्त ठाउँ भएकाले पनि पर्यटकको रोजाइमा बेथानचोक नारायणस्थान डाँडा पहिलो गन्तव्य बनेको छ ।

त्यहाँ पुग्ने पर्यटकको साझा अनुभूति छ, “जीवनमा प्राकृतिक, धार्मिक र स्वस्थ हुनु छ भने बेथानचोक नारायणस्थान डाँडा रोज्नु उत्तम हुन्छ ।” जानका लागि खासै गाह्रो नभएको, धार्मिक र प्राकृतिक दृष्टिकोणले निकै महत्वपूर्ण रहेको नारायणस्थान डाँडा हरेक दृष्टिकोणले धेरै राम्रो लागेको काठमाडौँबाट घुम्न पुगेका टोलीको भनाइ छ । “धर्ममा आस्था राख्नेले नारायणको दर्शन गर्न पाउनु, प्रकृतिप्रेमी प्राकृितक सुन्दर दृश्यसँग एकाग्र हुन पाइने र मनोरञ्जन लिनका लागि उपयुक्त वातावरण भएकाले निकै सुन्दर छ”, टोलीका सदस्यहरूले भने । त्यहाँ पुग्नेहरुले भने फोहर व्यवस्थापनमा ध्यान दिनुपर्ने उनीहरुको भनाइ छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यहाँ पहिलोपटक घुम्न पुग्नुभएका ललितपुर पाटनका रिजन महर्जनले सूर्योदयको दृश्यावलोकन निकै राम्रो लागेको बताए । वरिपरिबाट गुञ्जने चराचुरुङ्गीको सुमधुर आवाजसँगै नारायण मन्दिरको दर्शन गर्न पाउनु बेथानचोक नारायणस्थान डाँडाको अर्को विशेषता हो । यो स्थान समुद्री सतहबाट तीन हजार १८ मिटरको उचाइमा रहेको छ । पर्यटक बिहानीको सूर्योदय हेर्नका लागि बेलुका नै सो ठाउँमा गएर टेन्ट हालेर बस्ने र बिहान उठ्नासाथ सूर्योदयको दृश्यावलोकनपश्चात वरिपरिको दृश्य नियाल्दै मनोरम वातावरणमा आनन्द लिने गर्दछन् । सूर्यदेवको दर्शनसँगै त्यहीँ रहेको ऐतिहासिक नारायणको मन्दिरमा दर्शन गरी फर्कने गरेको त्यहाँ पुगेका पर्यटक बताउँछन् ।

स्थानीय बासिन्दा रमेशप्रसाद तिमल्सिनाका अनुसार नारायण मन्दिरको इतिहास धेरै पुरानो छ । भक्तपुरबाट भूपतिन्द्र मल्लको पालामा बेथानचोक नारायण भनेर आएको र सो क्रममा गाउँपालिका–३ को मसानघाटमा आएर बसेको किंवदन्ती छ । अहिले सो ठाउँलाई शिवालय भनिन्छ । “सो ठाउँको ठीक पारिपट्टि नेवार बस्ती रहेको र बिहान सबेरै कुखुरा कराउने, ढिकीजाँतो चलाउने आवाजका कारण त्यहाँबाट बेथानचोक नारायणस्थान डाँडामा गएर बसेको भन्ने छ”, उनले भने, “मासुचाहिँ देख्नै हुँदैन भगवान् नारायणलाई । हिंसा मन नपर्ने भएकाले वरिपरि जाँड, रक्सी र मासु खाएर होहल्ला गर्नुहुँदैन ।”

दृश्यावलोकनसँगै शान्त र सुन्दर ठाउँ भएकाले पनि पर्यटक धेरै मात्रमा घुम्न आउने गरेको उनले बताए । पहिला मन्दिरको संरचना नै नभएका कारण विसं २०५६ मा राघवेन्द्र गुरुले त्यहाँ पुगेर मन्दिर स्थापित गर्नुका साथै कोटिहोम लगाएर थप व्यवस्थित गर्ने काम गरेको स्थानीय बासिन्दा बताउँछन् । विसं २०७६ मा भने भक्तपुरबाट इँटा ल्याएर गाउँपालिकाको आर्थिक सहयोग र स्थानीय जनसमुदायबाट श्रमदान गरी मन्दिर निर्माण गरेको तिमल्सिनाले बताउनुभयो । विषेशगरी फागुन पूर्णिमामा मेला लाग्ने गरेको नारायणस्थान डाँडालाई थप व्यवस्थित गर्न आवश्यक रहेको स्थानीय बासिन्दाले पालिकासँग माग गरेका छन् ।

बेथानचोक–३ का वडाध्यक्ष दिलबहादुर श्रेष्ठले पर्यटकको रोजाइमा परेको नारायणस्थान डाँडामा कोरोना भाइरस प्रभावका कारण बन्दाबन्दीको समयमा स्थानीय सरकारले आवतजावतमा रोक लगाउनुका साथै मन्दिरसमेत बन्द गरेको र पछि पर्यटकको धेरै अनुरोधका कारण सो क्षेत्रमा प्रवेश खुला गरेको बताए । प्रवेश खुला गरेसँगै पुनः सो ठाउँमा आन्तरिक पर्यटकको आवागमन निकै बढेको छ । अहिले दैनिक डेढदेखि दुई सयसम्म पर्यटक आउने गरेको उनको भनाइ छ ।

पर्यटकको सङ्ख्यामा वृद्धिसँगै पालिका त्यहाँ जाने सिँढी बाटोको स्तरोन्नति, मन्दिरको जीर्णोद्धार गर्नुका साथै पर्यटकलाई बस्ने ठाउँको व्यवस्थापनमा लागेको उनले बताए । त्यसका लागि पालिकाले फोहर व्यवस्थापन कार्यविधिसमेत निर्माण गरिसकेकाले अब सो क्षेत्रको सरसफाइ व्यवस्थापनको काम व्यवस्थित हुने उनको भनाइ छ ।

सो ठाउँमा घनाजङ्गल रहेका कारण बाटो बिराएर पर्यटक हराउन सक्ने अवस्थासमेत रहेको भन्दै त्यसका लागि विवरण सङ्कलन गर्ने तयारीमा स्थानीय सरकार रहेको छ । त्यसका लागि बेथानचोक नारायणस्थान डाँडा प्रवेशद्वार गेल्डुङबजारमा नाम सङ्कलन गरेर मात्रै नारायणस्थान डाँडा प्रवेशका लागि अनुमति दिने व्यवस्था गर्न लागिएको वडाध्यक्ष श्रेष्ठले बताए । त्यससँगै स्थानीय सरकारले सो क्षेत्रमा जान भौतिक विकासको पूर्वाधार निर्माणको काम अगाडि बढाएको छ ।रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com