कैलालीका अधिकांश क्षेत्र डुबानमा


प्रकाशित मिति : श्रावण १४, २०७७ बुधबार

मङ्गलबार रातिदेखिको लगातार वर्षापछि कैलालीका अधिकांश क्षेत्र डुबानमा परेका छन् । अविरल वर्षाले सिँचाइ कुलो भरिएर बस्तीमा पस्दा कैलालीको जानकी गाउँपालिकाका अधिकांश ठाउँ जलमग्न भएका छन् ।

नदी तथा कुलाको पानी गाउँ पसेपछि सयौँ घर डुबानमा परेका छन् । घरमा पानी पस्दा खाद्यान्न, अन्नपात भिजेर नष्ट भएका स्थानीयवासी शुभम चौधरीले जानकारी दिए । जानकी–३, ७, ८, ९ का सयौँ घर डुबानमा परेको चौधरी बताउँछन् । “कुलो फुटेर बस्तीमा पस्दा सयौँ बिघा खेतीयोग्य जमिन पटानी भएको छ”, चौधरीले भने, “सयौँ घरमा अन्नपात र लुगाकपडा भिजेको छ । केही बस्ती सार्नुपर्ने अवस्था आएको छ । हामीले प्रहरीलाई खबर गरेका छौँ ।”

टीकापुर नगरपालिका–५ शाहीपुर, सिम्रेनी, वडा नं ६ को बेलुवा बस्ती डुबानमा परेको छ । माथिल्लो तटको पानी बग्दै जाँदा यी क्षेत्रमा बाढीको खतरा बढेको छ । निरन्तर वर्षा भएपछि कर्णाली नदीमा निर्माण भएको तटबन्ध भत्कने जोखिम बढेको छ । तटबन्ध भत्कन थालेपछि कर्णाली नदी बस्तीमा पस्ने खतरा बढेको स्थानीयवासी बडघर धर्मराज जैशीले बताए । “वर्षाले गाउँ जलमग्न भएपछि सबैतिरका सडक बन्द भएका छन्”, बडघर जैशीले भने, ‘‘उद्धारका लागि शाहीपुर–सिम्रेनी जानसक्ने अवस्था छैन । यस्तै वर्षा निरन्तर भइरहे बस्ती सानुपर्नेछ ।”

लगातारको वर्षाका कारण टीकापुरको जमरा नदीमा पानीको बहाव बढेको छ । जमरा कुलोमा पानी सहतभन्दा माथि पुगेपछि बस्तीमा बग्न थालेको छ । पानी बस्तीमा पसेपछि मुनुवास्थित किसान बिजवृद्धि कृषि सहकारी संस्थामा रहेको २०० क्विन्टल गहुँको बीउ र मौज्दात मल भिजेर नष्ट भएको छ । नदी पुलभन्दा छ फिट माथिबाट बग्न थालेपछि सामान सार्न जानसक्ने अवस्था नरहेको दिलबहादुर चौधरीले जानकारी दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

टीकापुरमा रहेका सिँचाइ कुला भरिएपछि टीकापुरका सबैजसो बस्ती जलमग्न भएका छन् । टीकापुरमा सयौँ घरमा पानी पसेको स्थानीय दुर्गा बुढामगरले बताए । उता कैलालीको भजनी र जोशीपुर क्षेत्र पनि डुबानमा परेको छ । भजनी र जोशीपुरमा पनि सयौँ परिवार विस्थापित हुने अवस्था आएको छ । भजनीस्थित पत्रकार कुसुम धामीका अनुसार भजनी–३ र ७ मा रहेका सयौँ घर डुबानमा परेपछि उनीहरुलाई उच्च स्थानमा सार्ने तयारी थालिएको छ ।

यसैगरी जोशीपुर गाउँपालिकाका अधिकांश वडा जलमग्न भएका छन् । कान्द्रा र काँडा नदी सतहभन्दा माथि पुगेपछि जोशीपुर–१, ३, ५, ७ का अधिकांश बस्ती डुबानमा परेका स्थानीय पदम बोहराले बताए । “नदी भरिएर बस्ती डुबानमा मात्र परेका होइन, सयौँ बिघा धानखेती पटानी भएको छ”, बोहरा भन्छन्, “रातभर वर्षा भएकाले अहिले डुबानमा रहेका बस्तीमा राहत तथा उद्धारका लागि तयारी भइरहेको छ ।”

कैलालीका कर्णाली, मोहना, काडा, कान्द्रा, खुटियालगायतका नदीमा पानीको बहाव बढेकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । रातभरिको वर्षापछि कैलालीमा बिहानैबाट प्रहरी उद्धारमा खटेको छ । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख मधुसुदन न्यौपानले जानकी गाउँपालिकाका केही नागरिकलाई बस्तीबाट सार्ने तयारी गरिएको बताए । “जहाँ–जहाँ जोखिम छ, त्यहाँ समूहमा प्रहरी परिचालन गरेका छौँ”, प्रहरी प्रमुख न्यौपानेले भने, ‘‘स्थानीयस्तरमा रहेका उच्च घर, सामुदायिक वन तथा विद्यालयमा सार्ने तयारी थालेका छौँ । जनप्रतिनिधि र स्थानीयवासीको सहयोगमा प्रहरी उद्धारमा खटेको छ । विवरण आउन बाँकी छ ।” रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com